
काठमाडौं– युरोपेली संघबाट बाहिरिने बेलायती प्रधानमन्त्री टेरिजा मेको अन्तिम प्रयास असफल भएको छ । प्रधानमन्त्री मेले शुक्रबार संसदमा प्रस्तुत गरेको युरोपेली संघ छोड्ने ब्रेक्जिटको प्रक्रिया व्यवस्थित गर्ने प्रस्तावलाई बेलायती संसदले अस्वीकार गरेको हो ।
प्रस्तावलाई ३४४ जना सांसदले अस्वीकार गरेका थिए । प्रधानमन्त्री मेको प्रस्तावको पक्षमा मात्र २८६ मत परेको थियो । यो विफलतासँगै ब्रेक्जिटलाई २०१९ मे २२ सम्म लम्ब्याउने प्रधानमन्त्री मेको प्रयास विफल भएको छ ।
उक्त नतिजा पश्चात् ब्रिटिश प्रधानमन्त्री मेले यो मतदानको धेरै नै ‘खतरनाक’ नतिजा हुनसक्ने र अब ब्रिटेन १२ अप्रिलमा युरोपेली संघबाट बाहिरिनै पर्ने कानूनी बाध्यता हुने बताएकी बीबीसीले उल्लेख गरेको छ । यसले गर्दा कुनै पनि सम्झौता विना यूरोपेली संघबाट बाहिरिनबाट बच्न ब्रिटेनले कानून बनाउन अब उसँग खासै समय नरहने बताइएको छ ।
विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मेले राजीनामा दिनुपर्ने बताउँदै तत्काल चुनाव गराउन पनि माग गरेका छन् । ब्रिटिश संसदमा तेस्रो पटक ब्रेक्जिट प्रस्ताव अस्वीकृत भएपछि यूरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ट्विट गर्दै भनेका छन्, “ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा कुनै पनि सम्झौता विना बाहिरिने प्रस्ताव खारिज भएको कुरालाई ध्यानमा राख्दै मैले १० अप्रिलमा युरोपेली परिषद्को बैठक बोलाउने फैसला गरेको छु।“
ब्रेक्जिटका कट्टर समर्थक कन्जरभेटिभ दलका नेत इयान डनकन स्मिथले यसपटक मन नलागि–नलागि सरकारको प्रस्तावको समर्थन गर्न लागेको बताएका थिए । तर विपक्षी लेबर दलका सांसद मेग हिलियरले सम्पूर्ण ब्रेक्जिट प्रक्रिया नै अन्योलपूर्ण भएको टिप्पणी गरेका थिए ।