एजेन्सी- भारतीय चर्चित गायिका लता मंगेशकरले प्रधानमन्त्री नरेन्द्र मोदीको कविता 'सौगन्ध मुझे इस मिट्टी की'मा स्वर दिएकी छन् । लताले यो कुरा ट्विटरमार्फत सार्वजनिक गरेकी हुन् ।
लताले भनेकी छन्, 'केही दिन पहिला मैले प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण सुनिरहेको थिएँ । उनले एक कविताको केही पङ्तिहरू भनेका थिए । त्यो मलाई वास्तवमै भारतीयका मनको कुरा लागिरहेको थियो । त्यो कविताले मेरो मन पनि छोयो । त्यसलाई मैले रेकर्ड गरेँ र आज देशको वीर जवान र जनतालाई समर्पित गर्छु ।'
लता मंगेशकरले आफ्नो देशभक्ति गीतको भिडियोलाई सामाजिक सञ्जाल ट्विटरमा शेयर गरेकी छन् । कवितामा आवाज दिएको भन्दै प्रधानमन्त्री मोदीले लताप्रति आभार व्यक्त गरेका छन् । प्रधानमन्त्रीले लेखे, 'हृदयको गहिराइबाट यसले गीतको रूप पाएको छ । तपाईंको स्नेह र आशीर्वाद मेरो लागि प्रेरणास्रोत हो ।'
स्मरण रहोस्, मोदीले भाषणको क्रममा भनेका थिए, '२०१४ को मेरो ती शब्दलाई भारतीय वीरहरूलाई नमन गर्दै आज म पुन: दोहोर्याउँदै छु । सौगन्ध छ मलाई यस माटोको, म देशलाई मेटिन दिने छैन । म देशलाई रोक्न दिन्नँ । मेरो वचन छ भारत मातालाई । शीर झुक्न दिने छैन ।' मोदीको यो पङ्तिमा खुब ताली बजेको थियो ।