
पाल्पा – सामुदायिक विद्यालय छाडेर संस्थागत विद्यालय जाने धेरै अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ । केही सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर उच्च रहँदा–रहँदै पनि अभिभावकले संस्थागत विद्यालयमै आफ्ना बालबालिकालाई भर्ना गराउँदै आएका छन् ।
महंगो शुल्क तिरेर संस्थागत विद्यालयमा लैजाने अभिभावकको लहर बढेका बेला पाल्पाको पूर्वखोला गाउँपालिकामा सञ्चालित सबै संस्थागत विद्यालय सामुदायिकमा गाभिन पुगेका छन् ।
गाउँपालिकामा सञ्चालन हुँदै आएका ५ संस्थागत विद्यालय यसै शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गाभिएका हुन् । गाउँपालिकाले गत वर्ष गाउँ शिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएको थियो ।
कार्यदलले सरकारी र संस्थागत विद्यालय अनुगमन गरी प्रतिवेदन तयार गरेर यसै शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गाँभेको हो ।
पूर्वखोला बोर्डिङ स्कूललाई उद्बुद्ध मावि रिङ्नेरहमा, जोनन इङलिस बोर्डिङ स्कूललाई गणपति मावि वीरकोटमा, सरस्वती बोर्डिङ स्कूललाई सरस्वती मावि जल्पामा, माउन्ट भ्यू बोर्डिङ स्कूललाई शम्भु मावि जल्पामा र चिराग बोर्डिङ स्कूललाई मातृभूमि मावि देवीनगरमा गाँभिएको गाउँपालिकाका शिक्षा शाखाप्रमुख मणि खनालले बताए ।
गाउँपालिकाभित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले संस्थागतलाई सामुदायिकमा गाँभिएको उनले बताए । अभिभावक र विद्यार्थीलाई पनि नयाँ शैक्षिक सत्र शुरू भएपछि सामुदायिक र संस्थागत कुन विद्यालयमा भर्ना हुने भन्नेमा अन्योल हटेको छ । गाउँपालिका र सरोकारवालाको समन्वयमा संस्थागत विद्यालयलाई सामुदायिकमा गाँभिएको हो । शैक्षिक गुणस्तर वृद्धि गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा एकरुपताका साथ शिक्षा प्रदान गराउन कार्यविधि अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।
‘सामुदायिक विद्यालयमा गाँभिएका सबै संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई व्यवस्थापन गर्नेछौं, संस्थागत विद्यालयका सञ्चालकलाई जग्गा, फर्निचर र भवनको लागत खर्च पनि उपलब्ध गराउँछौं,’ उनले भने ।
आगामी ५ वर्षभित्रमा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र शिक्षामा एकरुपता ल्याउने कार्ययोजनालाई गाउँपालिकाले अगाडि बढाएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बर्सेनि कम संस्थागतमा धेरैको आकर्षण बढ्दै जान थालेपछि सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गरी संस्थागत विद्यालयलाई गाँभिएको हो ।
प्रदेश र संघीय सरकारको समन्वयमा शैक्षिक एकरुपता र गुणस्तरीयता वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरू गरिएको छ । गाउँपालिकामा ३७ सामुदायिकमा ५ संस्थागत विद्यालयका ५ सय ८५ विद्यार्थी र ५३ शिक्षक कर्मचारी गाँभेर एकै प्रकारको शिक्षा प्रदान गरिने भएपछि अभिभावक उत्साहित भएका छन् ।