
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जिल्ला सभापतिहरूले अब महाधिवेशन बोलाउन हस्ताक्षर संकलन अभियान चलाउनुपर्ने बताएपछि कांग्रेसभित्र केही समययता मत्थर भएको महाधिवेशनको बहसले पुनः टाउको उठाएको छ ।
नेपाल महिला संघ मोरङले विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको अहिलेको अवस्था नेतृत्वको कारणले आएको टिप्पणी गरे । समयमा महाधिवेशन नभए कांग्रेस झन् कमजोर हुने कोइरालाको भनाइ थियो ।
कोइरालाले कांग्रेसले वैशाख २५ गतेबाट शुरू गरेको जागरण अभियान एउटा झारा टार्ने खेल रहेको मात्र बताएनन्, नेतृत्वलाई दबाब नदिएसम्म महाधिवेशन हुन नसक्ने आशंका पनि व्यक्त गरे ।
पार्टी नेतृत्वले महाधिवेशन गराउन नचाहेको आरोप आफैंमा गम्भीर आरोप हो । नेपाली कांग्रेसको विधानमा हरेक ४ वर्षमा महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने प्रावधान छ । कांग्रेसको तेह्रौं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म चलेको थियो । आगामी फागुनमा कांग्रेसको तेह्रौं महाधिवेशन सम्पन्न भएको ४ वर्ष पुग्ने छ ।
समयमै महाधिवेशन नहुने नेता कोइरालाको आशंका
नेता कोइरालाले नेतृत्वलाई दबाब नदिएसम्म महाधिवेशन हुन नसक्ने शंका व्यक्त गरे । तर नेतृत्वले महाधिवेशन गराउन किन चाहेको छैन भन्ने प्रश्नको स्पष्ट जवाफ भने कोइरालाले दिएका छैनन् । लामो समय ‘कोइराला विरासत’को नेतृत्वमा हुर्केको कांग्रेस पुनः कोइराला परिवारकै हातमा आउनुपर्छ भनेर शेखर, शशांक र सुजाता कोइरालाबीच ‘लबिङ’ शुरू नभएको पनि होइन ।
तीनै कोइरालामध्ये शशांक बीपी पुत्र हुन् भने शेखर बीपीका भाइबुहारी केशव र नोना पुत्र । बीपीका कान्छा भाइ गिरिजाप्रसादकी एक मात्र छोरी हुन सुजाता । यी तीनै जना उमेरले ६० कटिसकेका छन् । महाधिवेशपछि कांग्रेसको नेतृत्व लिन कोइराला परिवारले ‘राजनीतिक तयारी’ गरिरहेपनि परिस्थिति सहज भने छैन ।
नेता शेखर कोइरालाले सभापति देउवाले महाधिवेशन गराउन नचाहेको शंकामा केही दम भने रहेको छ । सभापति देउवाको निकट पूर्व उपसभापति गोपालमान श्रेष्ठले कांग्रेसमा कार्यसमितिको म्याद १ वर्ष थपिनु कुनै नौलो कुरा नरहेको बताए । ‘खासमा ५ वर्ष नै नेतृत्व गर्ने हो,’ सोमवार लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘महाधिवेशनले चुनेको नेतृत्वले ४ वर्ष मात्र काम गर्ने भनेर विधानमा भनिएको भएपनि १ वर्ष थप गर्नु कांग्रेसको परम्पराजस्तै हो । यसका लागि कुनै कारण चाहिँदैन । बरू विशेष परिस्थितिमा थप ६ महिना म्याद थप गर्न सकिने प्रावधान छ ।’
५ वर्षपछि विशेष परिस्थितिलाई कारण देखाएर थप ६ महिना कार्यकाल लम्ब्याउने स्थिति नभएको तर १ वर्षे कार्यकाल थप गर्ने विषयमा कुनै शंका नभएको श्रेष्ठले खुलासा गरे । श्रेष्ठको भनाइलाई आधार मान्ने हो भने शेखर कोइरालाको आशंका सही भन्नुपर्ने हुन्छ ।
सभापतिसँग रहेको विशेषाधिकारको नाममा १ वर्ष कार्यकाल थप गर्ने कुरा नेपाली कांग्रेसको इतिहासले पनि बताएको छ । २०६७ सालको असोजमा बाह्रौं महाधिवेशन भएको थियो । त्यसको ४ वर्ष अर्थात् २०७१ असोजमा हुनुपर्ने तेह्रौं महाधिवेशन डेढ वर्षपछि अर्थात् २०७२ फागुनमा भएको थियो । १ वर्ष तत्कालीन सभापति सुशील कोइरालाले विशेष अधिकारको प्रयोग गरेर लम्ब्याए भने बाँकी ६ महिना संविधान जारी गर्नुपर्ने परिस्थितिलाई विशेष आधार बनाएर लम्ब्याइएको थियो ।
दशौं महाधिवेशन २०५७ सालमा गरेको कांग्रेसले एघारौं महाधिवेशन २०६२ सालको भदौंमा गर्यो । दुवै महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला चुनिएका थिए । उनले पनि एघारौं महाधिवेशन तोकिएकै समयमा नगरेर कार्यकाल १–१ वर्ष लम्ब्याएका थिए । यसरी विधानमा ४ वर्ष लेखिएपनि कांग्रेसले विशेष परिस्थितिबाहेक हरेक ५ वर्षमा महाधिवेशन गर्दै आएको छ । नेता श्रेष्ठले यसैलाई परम्पराको नाम दिएका छन् र ‘परम्परा’ नतोडिने संकेत गरेका छन् ।
जागरण अभियान : झारा टार्ने खेल मात्र ?
नेतृत्वले पार्टी सञ्चालन गर्न नसकेको आमकार्यकर्ताको गुनासो रहेको कांग्रेसका नेता तथा पूर्वमन्त्री लक्ष्मण घिमिरे दाबी गर्छन् । ‘नेतृत्वले राम्रोसँग पार्टी सञ्चालन गर्न नसकेको कुरा मेची महाकाली, तराई हिमाल जताततैका कार्यकर्ताबाट गुनासो आइरहेको छ,’ घिमिरेले लोकान्तरसँग भने, ‘अहिले महाधिवेशनको तयारी शुरू नगरिकन जुन जागरण अभियान शुरू गरिएको छ, त्यो पनि एउटा केन्द्रीय कार्यसमितिले निर्णय नगरिकन एकैचोटी अपर्झट केन्द्रीय कार्यालयबाट आएको हो । नेतृत्वले समयमै महाधिवेशनका बारेमा सोच्नुपर्थ्यो ।’
चैत २५ गतेबाट शुरू भएको जागरण अभियान फागुनसम्म चल्ने कार्यक्रम छ । अभियान ३ चरणमा सम्पन्न हुनेछ । पहिलो चरणको अभियान ७७ वटै जिल्लामा २५ गतेसम्म चल्नेछ भने दोस्रो चरणमा ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा असोज ७ गते समापन हुनेछ । तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) मा समापन हुने कार्यक्रम रहेको छ । तेस्रो चरणको अभियान ७५३ स्थानीय तहमा सञ्चालन गरिने छ ।
पुससम्म सञ्चालन हुने जागरण अभियानले पार्टीको सुदृढीकरण र सरकारको खबरदारी गर्ने अपेक्षा गरिएको छ । तर अभियानले महाधिवेशनको तयारीका लागि कुनै कार्यसूची पेश गरेको छैन । घिमिरे दाबी गर्छन्, ‘पुससम्म जागरण अभियान सञ्चालन गर्ने भएपछि महाधिवेशनको तयारी कहिले हुन्छ ? यो बेला न कुबेला नेतृत्वको कार्यअवधि लम्ब्याउन गरिएको काम हो जस्तो लाग्छ मलाई ।’
जागरण अभियानमा पौडेलको असन्तुष्टि
यति ठूलो अभियानबारे प्रवक्ता विश्वप्रकाश शर्माले जम्मा एक पटक आफूलाई सामान्य जानकारी गराएको भन्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका थिए । सभापति देउवाले एकपक्षीय रूपमा केन्द्रीय सदस्यहरूलाई जिल्लामा खटाएको र आफूसँग सामान्य छलफल पनि नगरेकाले जागरण अभियान प्रभावकारी हुन नसक्ने टिप्पणी गरेका छन् ।
उसो त डेढ वर्षअघिको आमचुनावमा कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पौडेल लगायतका केही नेताहरूले यस्तै प्रकारको अभियान माग गरेका थिए । ‘खासमा उहाँले महासमिति बैठकअघि नै जागरण अभियान चलाउनुपर्ने माग गर्नुभएको थियो,’ पौडेलको मागबारे बताउँदै पौडेल निकट एक नेताले भने, ‘चुनावलगत्तै पार्टीमा बढ्दै गएको ध्रुवीकरणले त्यो सम्भव हुन सकेन । अहिले पनि पार्टीभित्र एकमत छैन । महाधिवेशनको तयारी गर्नुपर्ने समयमा जागरण अभियान भन्दै केन्द्रीय समिति आयो ।’
पछिल्लो समय कार्यसम्पादन समितिदेखि पार्टीका विभाग गठनसम्म सभापति र विरोधी खेमाबीच तीव्र मतभेद देखिएकाले गठन हुन सकेको छैन । कांग्रेसमा अहिले पनि गुटगत भेलाहरू सामान्य हुन थालेका छन् ।
समयमै महाधिवेशन गर्न जिल्ला सभापतिको दबाब
आफूहरूले महासमिति बैठकमा भएको सहमति अनुसार विधान संशोधन गर्न भनेको भएतापनि नेतृत्वले बहुमतको आडमा बैठक विपरीत निर्णय गरेको भन्दै जिल्ला सभापतिहरूले पटक–पटक खबरदारी गर्दै आइरहेका छन् । गत चैत २० र २१ गते काठमाडौंको ठमेलमा भेला भएका जिल्ला सभापतिले नेतृत्वले कार्यशैली नसच्याए विशेष महाधिवेशन बोलाउने यसअघि ककनी भेलाकै निर्णयलाई सदर गरेको थियो । सभापतिको भेलालाई पार्टी संस्थापन पक्षले त्यति महत्त्व दिएन ।
त्यतिबेला जिल्ला सभापतिहरूले छुट्टै भेला गरेर पार्टीभित्र गुटगत राजनीति गर्न खोजेको संस्थापन पक्षका कतिपय नेताहरूले आरोप लगाएका थिए । चैतसम्म विशेष महाधिवेशन आह्वान गर्ने चेतावनी दिएका जिल्ला सभापतिले अहिले विशेष महाधिवेशनको कुनै औचित्य नभएको बताएका छन् ।
‘अब विशेष महाधिवेशनको कुनै महत्त्व छैन,’ नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले लोकान्तरसँग भने, ‘अब हामीले समयमै महाधिवेशन हुनुपर्छ भनेर नेतृत्वलाई दबाब दिनेछौं । अहिले सञ्चालन भएको जागरण अभियानमा पनि हामीले जिल्ला र स्थानीय तहका कार्यकर्ताहरूलाई समयमै महाधिवेशन गर्नुपर्छ भन्ने सन्देश दिएका छौं ।’
नेतृत्वमा रहिरहने देउवाको अभिलाषा !
विशेषाधिकार प्रयोग गरेर १ वर्षे कार्यकाल थप्ने देउवाको मनासय रहेको कुरामा दुईमत रहेन । तर देउवाले विशेष परिस्थिति देखाएर त्यसपछि थप ६ महिना कार्यकाल थप्न खोजे भने के होला ? कांग्रेसभित्र यो विषय अहिल्यै बहसमा आएको देखिँदैन ।
यदि त्यसो भयो भने २०७६ सालमा हुनुपर्ने महाधिवेशन २०७८ सालको भदौ–असोजतिर सर्छ । त्यतिबेला देश स्थानीय चुनावको तयारीमा होमिएको हुनेछ । स्थानीय तहको निर्वाचनमा देश गएको बेलामा चुनावकै कारणले थप विशेष परिस्थिति देखाउँदै देउवाको कार्यकाल अझै थप हुनसक्ने कांग्रेसका कतिपय नेताहरूको आशंका छ ।
‘पार्टीभित्रकै आन्तरिक किचलोका कारणले गत स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्नुपरेको सभापतिलाई थाहा हुनुपर्ने हो,’ कांग्रेसका एक केन्द्रीय सदस्य आक्रोश पोख्छन्, ‘कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा सभापतिले यो खालको शैली अपनाउनु सही होइन । २०७६ सालकै फागुनमा महाधिवेशन हुनुपर्छ र हुन्छ ।’