०३ असार २०८३, बुधबार

बजेटभन्दा ठूलो व्यापार घाटा, निर्यात बढ्दा पनि घाटा बढेको बढ्यै

साउन १३, २०७६
बजेटभन्दा ठूलो व्यापार घाटा, निर्यात बढ्दा पनि घाटा बढेको बढ्यै

काठमाडौं – गत आर्थिक वर्ष २०७५/०७६ को बजेटभन्दा मुलुकको वैदेशिक व्यापार घाटा बढी पुगेको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मुलुकको वैदेशिक व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । 

कुल व्यापार सोही आर्थिक वर्षको बजेटभन्दा ६ अर्बले बढी हो । सो आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट रहेको थियो ।

भन्सार विभागका अनुसार आर्थिक २०७५/०७६ मा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरका विभिन्न वस्तु आयात भएका छन् । यो आयात अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा करीब १४ प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ ।

निर्यात बढ्दा पनि व्यापार घाटा बढेको बढ्यै

गत आर्थिक वर्षमा निर्यातमा सामान्य सुधार देखिएपनि व्यापार घाटा बढेको देखिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा निर्यात करीब १९ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा कूल निर्यात ८१ अर्ब ३५ करोड ९७ लाख ९६ हजार रुपैयाँ बराबरको भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षमा १९.३६ प्रतिशतले निर्यात बढ्दै ९७ अर्ब १० करोड ९५ लाख रुपैयाँको निर्यात पुगेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक २०७४/०७५ मा मुलुकको व्यापार घाटा ११ खर्ब ६३ अर्ब  ७४ करोड रुपैयाँ रहेको थियो ।

वैदेशिक व्यापार भारतबाट अत्यधिक

नेपालको वैदेशिक व्यापार १ सय ५० भन्दा बढी मुलुकसँग हुने गरेपनि सबैभन्दा ठूलो हिस्सा भारतकै रहेको छ । गत आर्थिक वर्षमा नेपालको कूल वैदेशिक व्यापारको ठूलो हिस्सा रहेको छ । सो आर्थिक वर्षमा ९ खर्ब १७ अर्ब रुपैयाँ बढीको आयात भारतबाट भएको छ । 

६२ अर्ब ७३ करोड रुपैयाँ बराबरको विभिन्न वस्तु भारततर्फ पनि निर्यात भएको भन्सार विभागको तथ्यांकमा रहेको छ । भारतसँगको व्यापार घाटा मात्रै ८ खर्ब ५५ अर्बभन्दा बढी रहेको छ ।

सो आर्थिक वर्षमा चीनबाट २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको आयात भएको र चीनतर्फ २ अर्ब १० करोड रुपैयाँ बराबरको निर्यात भएको छ । चीनसँगको व्यापार घाटा २ अर्ब ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । नेपालको वैदेशिक व्यापारमा चीन र भारतको ठूलो हिस्सा रहेको छ ।

चीन र भारतबाहेक नेपालको वैदेशिक व्यापार अन्य मुलुकसँग पनि हुँदै आएको छ । संयुक्त अरब इमिरेट्स, फ्रान्स, इन्डोनेसिया, थाइल्याण्ड, क्यानडा जापान लगायतका डेढ सयभन्दा बढी मुलुकसँग नेपालको वैदेशिक व्यापार हुँदै आएको भन्सार विभागको तथ्यांक रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्