१६ असार २०८३, मंगलबार

तमु ल्होसारसहित अन्य ५ पर्वमा राष्ट्रिय बिदा माग

पुस ५, २०७६
तमु ल्होसारसहित अन्य ५ पर्वमा राष्ट्रिय बिदा माग

गुरुङ समुदायले पुस १५ गते परेको गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसारसहित अन्य जनजातिका ५ मुख्य पर्वमा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ र वर्तमान सरकारले तमु ल्होसारको बिदा कटौती गरेका कारण यस वर्षको ल्होसारलाई आन्दोलनकै रुपमा मनाउने गुरुङ समुदायको तयारी छ ।

विक्रम संवत् २०६२–२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङको तमु ल्होसारसहित अन्य जनजातिका ५ पर्वमा सार्वजनिक बिदा दिएकोमा वर्तमान सरकारले कटौती गरी सम्बन्धित जातिलाई मात्रै बिदा दिने निर्णय गरेको थियो ।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी ल्होसारसहित उधौली, उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक बिदा दिन माग गरेको छ । 

गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष विमला गुरुङले आदिवासी जनजातिका पर्व र कला संस्कृति सम्बन्धित जातिको मात्र नभई सिंगो मुलुुकको साझा सम्पत्ति भएकाले उनीहरूका पर्वमा सार्वजनिक बिदा दिइनुपर्ने माग गरिन् ।

‘२०६२/२०६३ को जनआन्दोलनको सफलतापछि गठित अन्तरिम सरकारले आदिवासी जनजातिको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै ३५.३ प्रतिशत जनताले आदिमकालदेखि मनाउँदै आएका ५ वटा पर्वमा सार्वजनिक बिदा दिएको थियो,’ गुरुङले भनिन्, ‘तर वर्तमान सरकारबाट बिदा कटौती गरिँदा सिंगो आदिवासी जनजाति समुदायलाई अत्यन्त दुखित र आक्रोशित बनाएको छ ।’

वर्तमान सरकारले घोषणा गरेको १५ दिनको सार्वजनिक बिदाले मुलुकमा परिवर्तनको अनुभूति हुन नसकेको र आदिवासी जनजाति समुदायको सामाजिक, सांस्कृतिक तथा धार्मिक चाडपर्वले सम्मान प्राप्त गर्न नसकेको गुरुङले बताइन् । 

सरकारले विभिन्न जातजातिका पर्व सबैको साझा हो भन्ने अनुभूति गराउन साथै विभेद र असमानताको अन्त्यको लागि तमू ल्होसार लगायत अन्य आदिवासी जनजाति समुदायको मूख्य चाडपर्वमा सार्वजनिक बिदा नदिएमा सशक्त आन्दोलनमा उत्रिने गुरुङ राष्ट्रिय परिषद प्रदेश ५ सचिव एलबी गुरुङले बताए ।

ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै आइतवार बुटवलको सामाजिक विकास मन्त्रालय अगाडि २ घण्टा प्रदर्शन र ७ गते प्रदेश समितिले मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको गुरुङले जानकारी दिए ।

आगामी पुस १२ गते सबै नगर तथा इकाइमा सरसफाइ, १३ गते देवदह, सिद्धार्थनगर, तिलोत्तमा र बुटवलमा फलफूल तथा खाद्यान्न वितरण, १४ गते बृहत जनचेतना र्‍याली तथा पुस्तक विमोचन, तमु सामूहिक नृत्य प्रतियागिता र १५ गते तमु ल्होसार मुल कार्यक्रम रहेका छन् । 

ल्होसारमा सार्वजनिक विदाको माग गर्दै परिषद्ले रुपन्देहीका स्थानीय तहलाई पनि ज्ञापनपत्र बुझाएको सचिव ओमप्रकाश गुरुङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्