०३ असार २०८३, बुधबार

उखु किसानको प्रण : ‘जिउँदो हुँदासम्म नसुन्ने सरकारले मरेपछि त सुन्ला नि !’

पुस १५, २०७६
उखु किसानको प्रण : ‘जिउँदो हुँदासम्म नसुन्ने सरकारले मरेपछि त सुन्ला नि !’

वर्षाै–वर्ष पसिना बगाएर उत्पादन गरेको उखुको भुक्तानी नपाएका सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं पुगे । संघीय राजधानी काठमाडौंमा आन्दोलित किसानले मन्त्री घनश्याम भुसालदेखि प्रतिपक्षी दलका सांसद गगन थापासम्मलाई भेटेका छन् ।

सिंहदरबार नजिकै माइतीघर मण्डलामा दिनदिनै प्रदर्शन गरिरहेका उखु किसानले विगत ४–५ वर्षदेखि रोकिएको भुक्तानी पाउने सुनिश्चितता भइसकेको छैन । किसानले कठोर प्रण गरेका छन् – ‘किसान जिउँदो हुँदासम्म नसुन्ने सरकारले मरेपछि त सुन्ला नि !’

सर्लाहीको गोडैटा नगरपालिका, सिसौटियाका किसान रौदी महतो भन्छन्, ‘मरेपछि त सरकारले सुन्ला नि ! हाम्रो कुरा सुनिदिने कोही भएनन्, मैले मन्त्रीलाई पनि चिन्दिनँ, हामी हजुर किसानी मान्छे । यहीँ नजिकै सरकार छ भनेर यहाँ आएर बसेका छौं ।’

रौदी महतोजस्तै अरु किसान पनि उखुको भुक्तानी हुनुपर्ने माग राख्दै काठमाडौं आएका छन् । महतोले छातीमा टाँसेको सेतो कागजमा लेखिएको छ – उखु किसानको भुक्तानी तुरुन्त फिर्ता गर !

खेतमा फलेको उखु सुगर मिल सञ्चालकले खेतबाटै खरिद गरे तर किसानले लामो समयसम्म भुक्तानी पाएनन् । महतो १५ दिनदेखि पुसको कठ्यांग्रिँदो चिसोमा काठमाडौंमा आन्दोलन गरिरहेका छन् । दिउँसो माइतीघरको आन्दोलन र नेतासँग भुक्तानीको पहल गरिदिन दौडधुप गर्ने महतो राति कवाडी पेशा गर्ने आफन्तको डेरामा शरण लिन पुग्छन् । आफूसँग पर्याप्त पैसा नभएकाले बिहान–साँझ पेटभरि खान समेत नपाएको दुःखेसो महतोले पोखे ।

‘मसँग पैसा छैन, अरुसँग पनि पैसा छैन, काठमाडौं आएको १५ दिन भइसक्यो । काठमाडौंमा गाउँको मान्छे त छ, कवाडी काम गर्छ, साँझबिहान उसैकोमा बसेको छु,’ महतोले भने, ‘बिहान अलिकति एक लापड खाना खायो, आन्दोलनमा आयो ।’

महतोको ४ छोरा र १ छोरीसहित परिवारले गुजारा गर्ने मुख्य आम्दानीको स्रोत उखु खेती नै हो । महतोसँग आफ्नो नाममा ५ कट्ठा जमिन मात्रै छ । बाँकी २ विगाहा जमिन बट्टैया (आधा बुझाउने गरी) लिएर उखु खेती गर्दा जग्गाधनीलाई पनि पैसा बुझाउनुपर्छ । सुगर मिलले भुक्तानी नदिँदा महतोले न आफूले पैसा पाएका छन्, न जग्गाधनीलाई तिर्न सकेका छन् । 

महतोले ४ वर्षसम्म उत्पादन गरेको उखु सर्लाहीकै अन्नपूर्ण सुगर मिलले किनेपनि किसानलाई उखुको पैसा दिएको छैन । ‘चानचुन ४ लाख रुपैयाँ अन्नपूर्ण चिनी मिलबाट लिन बाँकी छ अनि मैले साहुलाई जग्गाको हिसाब कहाँबाट बुझाउनु ?’ महतोले प्रश्न गरे ।

सरकारले उखुको बक्यौता फिर्ता गराइदिएमा अरुको जग्गामा उखु खेती नगर्ने महतो बताउँछन् । उखुबाहेक धान खेती गर्दा पनि गुजारा गर्न निकै कठिन हुने महतोको भोगाइ छ ।

‘अब पैसा नपाइ कोही पनि घर नजाने सल्लाह भएको छ, बरु यतै प्राण त्याग्ने कुरा हाम्रो छ,’ महतोले लोकान्तरलाई भने, ‘यसरी आन्दोलन गर्दा सुने सुन्छ, नसुने मरेको त सुन्ला नि ! बरु प्राण त्याग्छु, पैसा नपाई घर जान्न ।’

सर्लाहीको बसबरिया गाउँपालिका घर भएका प्रदीप मुखिया त्रिचन्द्र कलेजमा बीएस्सी तेस्रो वर्षमा अध्ययन गर्छन् । गाउँलेहरू उखुको भुक्तानी माग्नको लागि सरकारलाई घच्घच्याउन काठमाडौं आएपछि उनी पनि पढाइ छाडेर माइतीघर मण्डलामा प्लेकार्ड बोकेर आन्दोलनमा सहभागी छन् । बुवाले बेचेको उखुको भुक्तानी नपाएकाले आन्दोलनमा आएको मुखियाले बताए ।

‘किसानले कहिल्यै समयमा उखुको भुक्तानी पाएका छैनन्, अहिले हाम्रो जिल्लाका किसानले मिलबाट करोडौं रुपैया लिन बाँकी छ । मैले गगन थापालाई पनि भेटेर हाम्रो कुरा राखें, उहाँले पनि संसदमा हाम्रो कुरा उठाइदिनुहुन्छ कि भनेर,’ मुखियाले भने ।

मुखियाले कृषि मन्त्रालयमा समेत कुरा राखेको तर जवाफ केही नआएको बताए । ‘हाम्री गाउँमा फलाएको चामल, दाल, तेल नै मन्त्रीले खाने गर्‍या छ, सुन्छ होला,’ मुखियाले आशा व्यक्त गर्दै भने ।

अन्नपूर्ण सुगर मिलले २०७६ सालको कात्तिक मसान्तभित्र किसानलाई बैंकमार्फत नै भुक्तानी दिने लिखित सहमति भएपनि भुक्तानी नदिएको मुखियाले बताए । ‘हाम्रो माग भनेको भुक्तानी पाउने, सरकारले तोकेको मूल्य पाउने र सुख्खा कटेको प्रतिशत काट्ने कुरा हटाउने हो,’ मुखियाले भने ।

सर्लाहीबाट आएका २०–२५ जना उखु किसानको समूह १५ दिनदेखि माइतिघर मण्डलामा आन्दोलन गरिरहेको छ । धर्नामा बस्दै आएका सबै किसानका आफन्त काठमाडौंमा छैनन् । धर्नामा सहभागी किसानलाई जाडोका कारणले रुघाखोकीले च्याप्दै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्