१० असार २०८३, बुधबार
विश्वकप–२०२६

ब्राजिल र मोरक्को भिड्दै, ‘एटलस लायन्स’लाई रोक्ने दाउमा ‘सेलेसाओ’

जेठ ३०, २०८३
काठमाडौं
ब्राजिल र मोरक्को भिड्दै, ‘एटलस लायन्स’लाई रोक्ने दाउमा ‘सेलेसाओ’
मोरक्को र ब्राजिलका प्रशिक्षक ।

सन् २०२६ को फिफा विश्वकपअन्तर्गत समूह ‘सी’को प्रतिस्पर्धा आइतबारदेखि शुरू हुँदैछ । यो समूहको पहिलो खेल ब्राजिल र मोरक्कोबीच खेलिनेछ ।

अमेरिकाको मेटलाइफ स्टेडियममा नेपाली समय अनुसार, आइतबार बिहान ०३:४५ बजे विश्व फुटबलको महाशक्ति ब्राजिल र अफ्रिकी टोली मोरक्को आमने–सामने हुनेछन् ।

प्रतियोगितामा प्रभावशाली शुरूआत गर्दै समूहको शीर्ष स्थान दाबी गर्ने लक्ष्यमा रहेका यी दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ ।

विश्वकप छनोटमा इतिहासकै सबैभन्दा निराशाजनक प्रदर्शन गर्दै अंक तालिकाको पाँचौ स्थानमा सीमित भएको ब्राजिलका लागि यो विश्वकप अग्निपरीक्षा बनेको छ ।

प्रमुख प्रशिक्षक कार्लो एन्सेलोट्टीको आगमनपछि टोलीमा केही सुधार देखिए पनि सन् २०२५ को सेप्टेम्बरयता खेलिएका नौमध्ये केवल पाँच खेलमा ब्राजिलले जित दर्ता गर्न सकेको छ ।

यद्यपि, पछिल्ला तीन खेलमा लगातार जित हात पारेको ब्राजिल यो विश्वकपमा अब्बल प्रदर्शनसहित आफ्नो पुरानो साख फर्काउने धुनमा देखिन्छ ।

प्रशिक्षक एन्सेलाट्टटीले मोरक्कोविरुद्धको खेलका लागि वेस्लीको स्थानमा एडर्सनलाई टोलीमा समावेश गरेका छन् । स्टार स्ट्राइकर नेमार पनि चोटका कारण यो खेलमा उपलब्ध हुने सम्भावना देखिँदैन ।

पाँचपटकको च्याम्पियन ब्राजिलियन टोली सम्भवत: ४–२–३–१ को फर्मेसनमा मैदानमा ओर्लने छ । गोलपोस्टको जिम्मा एलिसन बेकरले सम्हाल्नेछन् भने म्याथुस कुन्हाले आक्रमणको नेतृत्व गर्नेछन् ।

अर्कोतिर, अफ्रिकी छनोटमा शानदार प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको मोरक्को पनि उच्च मनोबलमा देखिन्छ ।

छनोट चरणमा २२ गोल गर्दा केवल दुई गोल खाएको मोरक्कोको टोली रक्षापंक्तिमा निकै बलियो देखिएको देखिन्छ ।

प्रशिक्षक वालिद रेग्रागुईको बहिर्गमनपछि मोहमद ओहाबीको नेतृत्वमा रहेको यो टोलीले हालसम्म लगातार २४ खेलमा अपराजित रहँदै कीर्तिमान पनि कायम गरेको छ ।

नाएफ अगुएर्ड र इज अब्देको अनुपस्थितिमा केही दबाबमा देखिए पनि अचरफ हाकिमी, सोफियान अम्राबात र ब्राहिम डियाजजस्ता खेलाडीको साथले टोलीलाई थप सशक्त बनाएको छ । टोलीले ४–३–३ को आक्रामक रणनीति अपनाउने अनुमान गरिएको छ ।

ब्राजिल र मोरक्को अहिलेसम्म तीनपटक आमने–सामने भएका छन् । त्यसमा ब्राजिलले दुई र मोरक्कोले एक खेल जितेका छन् ।

रोचक तथ्य के छ भने, विश्वकपको शुरूआती खेलमा ब्राजिल पछिल्ला २० प्रयासमा एकपटक पनि पराजित भएको छैन । अर्कोतर्फ, मोरक्कोले आफ्नो विश्वकप इतिहासमा अहिलेसम्म शुरूआती खेल जित्न सकेको छैन ।

यो खेलमा सबैको आँखा ब्राजिलका स्टार विंगर भिनिसियस जुनियरमा केन्द्रित रहनेछ । रियल म्याड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा भने उनी अझै लयमा फर्किन संघर्षरत छन् । ब्राजिलको प्रभावशाली यात्राका लागि भिनिसियसको फर्म निर्णायक हुनेछ ।

मोरक्को पछिल्लो समय ‘जायन्ट किलर’का रूपमा उदाएको छ । यद्यपि, प्रशिक्षक परिवर्तनपछिको केही अनिश्चितता र ब्राजिलको पछिल्लो लयलाई हेर्दा, आइतबारको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्