
स्कटल्याण्डले विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा हाइटीलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
बोस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्कटल्याण्डका लागि जोन म्याकगिन नायक बने। खेलको २८ औं मिनेटमा म्याकगिनले प्रहार गरेको बल विपक्षी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो। पहिलो हाफमा बनाएको यही १–० को अग्रतालाई स्कटल्याण्डले खेलको अन्त्यसम्म जोगाउन सफल भयो।
खेलको दोस्रो हाफ निकै रोमाञ्चक र तनावपूर्ण रहेको थियो। बोस्टनको चर्को गर्मीका कारण खेलाडीहरूमा थकान देखिए पनि हाइटीले खेल बराबरीमा ल्याउन निकै प्रयास गरेको थियो।
विशेषगरी खेलको अन्तिम समयमा थपिएको ६ मिनेटको इन्जुरी समयमा स्कटल्याण्डका समर्थक र बेन्चमा बसेका खेलाडीहरू निकै चिन्तित देखिएका थिए। हाइटीका गोलकिपर जोनी प्लासिड समेत गोल गर्ने आशामा स्कटल्याण्डको पेनाल्टी क्षेत्र नजिकै पुगेका थिए, तर स्कटल्याण्डको रक्षापंक्तिले कुनै गल्ती गरेन।
खेलको उत्तरार्धमा स्कटल्याण्डका केनी म्याक्लिन र फिन्डले कर्टिसले खराब ट्याकलका कारण पहेँलो कार्ड पाएका थिए। हाइटीले अन्तिम समयमा पाएका केही फ्रि-किकहरूलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नु पर्यो।
समूह ‘सी’ कै अर्को खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। यस नतिजासँगै स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ।