
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापाले सबैलाई मिलाएर लैजान नसकेको आरोप लगाएका छन् । कांग्रेस विभाजित मनस्थितिमा रहेको उनले बताए ।
कांग्रेसको संस्थापन इतर समूहले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले सबैलाई मिलाएर लैजान गगनलाई सुझाव दिएका हुन् । ‘पार्टीका सबै नेतालाई अलग गरेर एक्लै पार्टी चलाउन सक्नु हुन्छ ?,’ उनले प्रश्न गरे, ‘विभाजित मनस्थितिमा रहेको पार्टीलाई एकताबद्ध बनाएर लैजान किन सक्नु भएन ?’
कोइरालाले कांग्रेसको अवस्था देखेर विरक्त लागेको बताए । ‘आज बिहान कोइराला निवास जाँदा आँखाभरि आशु भयो,’ बीपी कोइरालाका पुत्रसमेत रहेका शशांकले भने ।
कोइरालाले ८० वर्षको इतिहास बोकेको पार्टी कमजोर हुँदा राष्ट्र र लोकतन्त्रलाई नै नकारात्मक असर परेको बताए ।
भेलामा कांग्रेस नेता मोहन बस्नेतले हजुरबुवा उमेरका नेतालाई अलग गरेर कांग्रेस सभापति गगन थापाले नक्कली क्रियाशील सदस्यता वितरण गरेको आरोप लगाए ।
नेतृ सरिता प्रसाईंले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई सही ढंगले हाँक्न नसकेको आरोप लगाइन् ।