
इरानले अमेरिकासँग आगामी शुक्रबार हुने समझदारी पत्रको औपचारिक हस्ताक्षरपछि शुरू हुने भनिएको ६० दिने आणविक वार्ताका लागि कडा सर्त अघि सारेको छ। इरानका कानुन तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपपरराष्ट्र मन्त्री काजेम गरबाबादीले आइतबार सरकारी सञ्चार माध्यममार्फत बोल्दै अमेरिकाले आफ्ना तीनवटा प्रतिबद्धताहरू पूरा नगरेसम्म ६० दिने वार्ता प्रक्रिया अगाडि नबढ्ने स्पष्ट पारेका हुन् ।
इरानले राखेका सर्तहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीको पूर्ण अन्त्य, युद्धको अवस्था र सैन्य अपरेशनहरूको स्थायी अन्त्य, तथा विभिन्न अन्तर्राष्ट्रिय बैंकहरूमा रोक्का गरेर राखिएको इरानको अर्बौँ डलर बराबरको 'फ्रोजन फन्ड' (स्थगन गरिएको रकम) फुकुवा हुनुपर्ने रहेका छन्।
'६० दिने वार्तामा हाम्रो प्रवेश पूर्ण रूपमा अमेरिकाले आफ्ना प्रतिबद्धताहरू कसरी कार्यान्वयन गर्छ भन्ने कुरामा निर्भर रहनेछ। अमेरिकाले चालेका कदमहरू, विशेष गरी वित्तीय प्रतिबद्धताहरूको इरानले प्रमाणीकरण गरेपछि मात्रै प्राविधिक कार्यदल (वर्किङ ग्रुप) को वार्ता तुरुन्तै सुरु हुनेछ।'
उपपरराष्ट्र मन्त्री गरबाबादीले यसबारे शनिबार राति कतिपय व्यवस्थापनका विषयमा छलफल भएको र शुक्रबार स्विट्जरल्यान्डमा 'इस्लामावाद समझदारी पत्र' मा औपचारिक हस्ताक्षर भएपछि मात्रै वार्ताको संरचना, कार्यदल गठन र अन्य आवश्यक सम्झौताहरू तय गरिने जानकारी दिए।