
भारतको असाम राज्यस्थित जोरहाट वायुसेना केन्द्रमा शनिबार भारतीय वायुसेनाको एएन–३२ सैन्य विमान दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ ।
भारतीय वायुसेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको मृत्यु भएको जनाएको छ ।
वायुसेनाका अनुसार विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनापछि विमानमा आगलागीसमेत भएको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ ।
घटनाबारे भारतीय वायुसेनाले गहिरो दुःख व्यक्त गर्दै मृतक सैनिकहरूले कर्तव्य निर्वाहका क्रममा सर्वोच्च बलिदान दिएको जनाएको छ । साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा वायुसेना परिवारसँगै रहेको बताएको छ ।
दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे विस्तृत अनुसन्धानका लागि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको वायुसेनाले जनाएको छ ।
वायुसेनाले दुर्घटनास्थलमा उद्धार तथा व्यवस्थापनको काम जारी रहेको उल्लेख गर्दै प्रारम्भिक अनुसन्धानको निष्कर्ष नआएसम्म कुनै अनुमान वा अड्कलबाजी नगर्न आग्रह गरेको छ ।
एएन–३२ सोभियत संघकालीन (हाल युक्रेनको एन्टोनोभ डिजाइन ब्युरोद्वारा विकसित) दुई इन्जिनयुक्त टर्बोप्रोप सैन्य यातायात विमान हो ।
भारतीय वायुसेनाले यस विमानलाई सैनिक तथा सामग्री ढुवानी, राहत सामग्री वितरण र प्याराट्रुपर परिचालनका लागि प्रयोग गर्दै आएको छ ।