
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आमनिर्वाचन २०८२ को परिणामपछि जनमत पार्टीको विपक्षमा प्रकट भएकाले त्यसलाई पुनः अनुकूल बनाउने उद्देश्यसहित एमाले पुनर्गठनको प्रक्रियामा रहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीले निर्वाचनको समीक्षा गर्दै नयाँ ढंगले अघि बढ्ने विषयमा सुझाव संकलन गरिरहेको बताए ।
उनले अहिले पार्टी कुनै निष्कर्षमा नपुगेको उल्लेख गर्दै वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पार्टीलाई थप एकताबद्ध बनाउने दिशामा छलफल भइरहेको जानकारी दिए ।
पोखरेलले पार्टीलाई एकताबद्ध बनाउन यथास्थितिमा सम्भव नभएको भन्दै शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताए । यी उद्देश्य पूरा गर्न पुनर्गठनको कार्ययोजना तयार पार्न कार्यदल गठन गरिएको र उक्त कार्यदलले काम शुरू गरिसकेको उनको भनाइ थियो ।
पार्टीभित्र गम्भीर विवाद, असहमति वा संकट रहेको भन्ने चर्चा भ्रमपूर्ण भएको दाबी गर्दै उनले एमाले संस्थागत निर्णयका आधारमा अघि बढिरहेको बताए । कार्यदल अहिले छलफलको चरणमा रहेकाले विभिन्न निष्कर्ष निकालेर पार्टीपंक्तिलाई अन्योलमा पार्ने प्रयास उचित नभएको उनको भनाइ थियो ।
‘पार्टीलाई एकताबद्ध बनाउनका लागि यथास्थितिमा सम्भव छ ? छैन । त्यसका लागि पार्टीमा शुद्धीकरण आवश्यक छ, सुदृढीकरण आवश्यक छ, पुनर्जागरण आवश्यक छ, यो पार्टीको निष्कर्ष हो । पुनर्गठनको कार्ययोजना तयार पार्नका लागि पार्टीले एउटा कार्यदल बनाएको छ र त्यो कार्यदलले काम थालिराख्या छ । त्यसर्थ अहिले पार्टीभित्र कुनै प्रकारको मतामत, सहमति,असहमति, आदि इत्यादि भन्ने कुराहरू भ्रमपूर्ण हुन्’, ’, पोखरेलले भने, ‘ किनकि अहिले पार्टी जुन बाटोमा हिँडेको छ त्यो पार्टीको औपचारिक संस्थागत निर्णय हो । कार्यदल अहिले छलफलको प्रक्रियामा छ, कुनै निष्कर्षमा पुग्याछैन । जब छलफलको प्रक्रियामा छ, निष्कर्षमा पुगेको छैन भने पार्टीमा भीषण समस्या, बहस, छलफलजस्ता कुरा परेर पार्टी पंक्तिलाई उद्देलित गर्ने जे कोसिस भाछ त्यो उचित होइन भन्ने मलाई लाग्दछ ।’
उनले पुनर्गठनको प्रक्रिया पूरा भएपछि पार्टी थप एकताबद्ध, सुदृढ र जनतासँगको सम्बन्ध पुनः स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे । साथै राष्ट्रिय राजनीतिमा एमालेलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधार यही प्रक्रियाबाट तयार हुने दाबी गरे ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा पार्टीविरुद्ध भइरहेको प्रचारलाई हानिकारक र गलत भएको टिप्पणी गरे । उनले पपुलिज्म, अराजकतावाद र अवसरवादले नेपाली समाजमा पारेको प्रभावबारे पार्टीभित्र गम्भीर छलफल भइरहेको बताए ।
सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावलाई स्वीकार गर्दै उनले त्यसको सामना गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै विचारधारामा आधारित आन्दोलनका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले पपुलिज्म, अराजकतावाद र एल्गोरिदमको प्रभावलाई चुनौतीका रूपमा लिँदै त्यसको सामना र विचारधारात्मक जनमत निर्माणलाई सँगसँगै अघि बढाउन सके भविष्यमा अनुकूल वातावरण सिर्जना गर्न सकिने बताए ।