
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य तत्कालका लागि यथावत राख्ने निर्णय गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ खरिद मूल्य प्राप्त भए पनि निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले साविकको बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको उतारचढावका कारण स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्न नसकिएकोले हालकै मूल्य कायम गरिएको हो । यो निर्णय असार २ गते बिहान ००:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
नयाँ निर्णयअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य २२५ रुपैयाँ यथावत रहनेछ ।
यस्तै, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा पेट्रोल २१६ र डिजेल २२४ रुपैयाँ कायम छ । पहिलो वर्गका क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा भने पेट्रोल प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेल/मट्टितेल २२२.५० रुपैयाँमा बिक्री हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।