
जग्गाको पूर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिँदै गर्दा नापी कार्यालय चावहिलका एक कर्मचारी रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय चावहिल, २ नं. नापी टोलीमा कार्यरत अमिन टोप जङ खत्रीलाई मंगलबार ६० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रुपैयाँ माग गरिरहेको उजुरी आयोगमा परेको थियो। सोही सूचना र उजुरीका आधारमा टङ्गालस्थित आयोगको कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई निगरानीमा राखेको थियो।
आयोगका अनुसार खत्रीलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ४, माकालवारीस्थित कार्यालय परिसरबाट सेवाग्राहीबाट ६० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले नियन्त्रणमा लिइएका खत्रीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।