०५ असार २०८३, शुक्रबार
फिफा विश्वकप–२०२६

विश्वकप डेब्युको २० वर्षपछि मेसीका अनेक कीर्तिमान- पहिलो ह्याट्रिक, १६औँ गोल र क्लोजसँग बराबरी

असार ३, २०८३
काठमाडौं
विश्वकप डेब्युको २० वर्षपछि मेसीका अनेक कीर्तिमान- पहिलो ह्याट्रिक, १६औँ गोल र क्लोजसँग बराबरी

लियोनेल मेसीको ऐतिहासिक प्रदर्शन र महान् कीर्तिमानको मद्दतले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा विजयी शुरूआत गरेको छ। एरोहेड स्टेडियममा बुधबार बिहान खेलिएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० को फराकिलो अन्तरले पाखा लगायो।

आफ्नो खेल जीवनको ऐतिहासिक २००औँ अन्तर्राष्ट्रिय खेल खेलेका ३८ वर्षीय मेसीले विश्वकप इतिहासमै आफ्नो पहिलो ह्याट्रिक पूरा गरे। यति मात्र होइन, उनले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याउँदै जर्मनीका मिरोस्लाभ क्लोजको सर्वकालीन सर्वाधिक गोलको कीर्तिमानलाई समेत बराबरी गरे।

मेसीको जादुखेलको शुरूआतमै दुवै टोलीले अफसाइडको सिकार हुनुपर्‍यो । पाँचौँ मिनेटमा मेसीको प्रहार र नवौँ मिनेटमा अल्जेरियाका फारेस चैबीको गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिए। तर, १७ औँ मिनेटमा मेसीले अर्जेन्टिनाको खाता खोले । रोड्रिगो डे पलको पासमा बल नियन्त्रणमा लिँदै बक्सको किनारबाट मेसीले गरेको शक्तिशाली बायाँ खुट्टाको प्रहारलाई अल्जेरियन किपर लुका जिदानले रोक्न सकेनन्।

पहिलो हाफमा मेसीले विपक्षी डिफेन्डर ऐसा मान्दीलाई खराब ट्याकल गरे पनि उनी कार्ड पाउनबाट जोगिए। खेलको ६०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टेरको ३० यार्ड टाढाको कडा प्रहारलाई किपर जिदानले डिफेन्ड गर्दा फर्किएको बललाई मेसीले सहजै 'ट्याप–इन' मार्फत दोस्रो गोलमा परिणत गरे। 
७७ औँ मिनेटमा निको गोन्जालेजको पासमा डिफेन्डरहरूको बीचबाट सुन्दर फिनिसिङ गर्दै मेसीले आफ्नो ऐतिहासिक ह्याट्रिक र १६ औँ विश्वकप गोल पूरा गरे।

यो खेल मेसीका लागि संयोगै संयोगले भरिएको थियो । अर्जेन्टिनाको जर्सीमा उनको यो २००औँ अन्तर्राष्ट्रिय खेल थियो। अझ रोचक कुरा त के छ भने, मेसीले विश्वकपको मञ्चमा डेब्यु गरेको ठीक २० वर्ष पुगेकै दिन यो दुर्लभ संयोग जुटेको हो। सन् २००६ को जुन महिनामा सर्बिया एन्ड मोन्टेनेग्रो विरुद्धको खेलमा डेब्यु गर्दै मेसीले आफ्नो पहिलो विश्वकप गोल गरेका थिए। यो ह्याट्रिकसँगै उनी विश्वकपका ५ वटा फरक–फरक संस्करणमा गोल गर्ने इतिहासकै दोस्रो खेलाडी बनेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा सन् २००५ मा १८ वर्षको उमेरबाट यात्रा सुरु गरेका मेसीभन्दा बढी खेल खेल्ने अब पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (२२८ खेल) र कुवेतका बदर अल–मुतावा (२०२ खेल) मात्र अगाडि छन्।
रङ्गशाला बाहिर हजारौँ प्रशंसकहरू मेसीको १० नम्बरको जर्सी लगाएर उत्सव मनाइरहेका थिए। भिआइपी बक्समा क्यान्सास सिटी चिफ्सलाई तीन पटक सुपर बाउल जिताएका स्टार क्वार्टरब्याक प्याट्रिक माहोम्स समेत मेसीको ऐतिहासिक खेलको साक्षी बन्न उपस्थित थिए। खेलको ७९ औँ मिनेटमा मेसीलाई मैदानबाट बाहिर बुलाइँदा ७० हजार दर्शकहरूले उठेर भव्य सम्मान प्रकट गरे।

जितसँगै अर्जेन्टिनाले आफ्नो एउटा खराब इतिहासलाई समेत उल्ट्याएको छ। यसअघि सन् १९८२, १९९० र २०२२ को विश्वकपमा डिफेन्डिङ च्याम्पियन वा दाबेदारका रूपमा मैदान उत्रिँदा अर्जेन्टिनाले आफ्नो पहिलो खेल गुमाउने गरेको थियो। तर, मेसीको यो म्याजिकल ह्याट्रिकले यसपटक कुनै अप्रत्याशित नतिजा आउन दिएन र टोलीलाई सुखद सुरुवात दिलायो। यो महत्त्वपूर्ण ३ अंकसँगै अर्जेन्टिना नकआउट चरणको नजिक पुगेको छ। अब अर्जेन्टिनाले आगामी सोमबार टेक्ससको आर्लिङ्टनमा अस्ट्रियाको सामना गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्