०३ साउन २०८३, आइतबार

एमाले लुम्बिनीका बहुमत नेताहरू नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको पक्षमा

९ जिल्ला एकातिर, गुल्मी र अर्घाखाँची ओलीको बचाउमा
असार ५, २०८३
बुटवल
एमाले लुम्बिनीका बहुमत नेताहरू नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको पक्षमा

नेकपा (एमाले) को लुम्बिनी प्रदेशस्तरीय बैठकमा बहुमत नेताहरूले यथास्थितिमा पार्टी अगाडि बढ्न नसक्ने भन्दै यथाशीघ्र नेतृत्व परिवर्तनसहित पुनर्गठन अपरिहार्य भएको धारणा राखेका छन् । पार्टीको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमअन्तर्गत कपिलवस्तुको चन्द्रौटामा बिहीबार भएको बैठकमा प्रदेश कमिटीका पदाधिकारी, १२ जिल्लाका पदाधिकारी र प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यहरू गरी करिब सय जना नेता सहभागी थिए ।

सहभागीमध्ये बहुमत नेताहरूले नेतृत्व परिवर्तनसँगै पार्टी पुनर्गठनको पक्षमा धारणा राखेको बैठकमा सहभागी एक जिल्लाका पदाधिकारीले जानकारी दिए । प्रदेश कमिटीका सबै पदाधिकारी र प्रदेशका १२ जिल्लामध्ये गुल्मी, अर्घाखाँची र बाँकेबाहेक ९ जिल्लाका पदाधिकारी केपी शर्मा ओलीको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा उभिएको उनले बताए ।  उनकाअनुसार परिवर्तनसहित पुनर्गठन नगरे पार्टीलाई पुरानै अवस्थामा फर्काउन र थप क्षति हुनबाट रोक्न नसकिने उनीहरूको भनाइ थियो । 'यथास्थितिमा पार्टी अघि बढ्न र आउँदै गरेका चुनावमा जित्न कठिन हुन्छ, त्यसैले छिटोभन्दा छिटो नेतृत्व परिवर्तनसहित पार्टी पुनर्गठन वा रिफर्म गरेर जानुपर्छ भन्ने बहुमत सहभागीको एकमत रह्यो,' ती नेताले भने, 'पार्टी पुनर्गठनको पक्षमा त करिब सबैको एउटै धारणा थियो तर मोडालिटी कस्तो भन्नेमा केही साथीहरूको फरक–फरक धारणा थिए, कसैले अध्यक्षलाई मात्र हटाएर समाधान हुन्न, सचिवालयका सबै पदाधिकारीले छाड्नुपर्छ भन्ने कोणबाट पनि कुरा राख्नुभयो।'

बैठकमा सहभागी अर्का एक नेताका अनुसार प्रदेशका १२ जिल्लामध्ये गुल्मी र अर्घाखाँचीका पदाधिकारीहरू ओलीको बचाउमा उत्रिएका थिए । 

एक जना नेतृत्वलाई मात्र दोष दिएर समाधान ननिस्कने उनीहरूको तर्क थियो । बाँकी १० जिल्लाका पदाधिकारीहरू भने नेतृत्व परिवर्तनसहित पार्टीको नीतिगत, संरचनागत र कार्यशैली—सबै कुरामा पुनर्गठन अपरिहार्य रहेको पक्षमा उभिएका थिए। बाँकेका पदाधिकारीले भने मध्यमार्गी धारणा राखेका थिए।

उनीहरूले गत फागुन २१ को निर्वाचनमा पार्टीको लज्जास्पद हार हुनुका पछाडिका सबै कारणहरूको सही र वस्तुपरक समीक्षासहित गल्ती स्वीकार गरेर मात्र कम्युनिस्ट आन्दोलन र पार्टीलाई अगाडि बढाउन सकिने औंल्याएका थिए। 

विगतमा पार्टी महासचिव शंकरर पोखरेलनिकट रहेका रूपन्देहीका प्रदेश सांसद एवं पूर्वमन्त्री भूमिश्वर ढकाल, पाल्पाका पूर्वसांसद नारायण आचार्य, प्युठानका सूर्य थापा र कपिलवस्तुका पूर्वमन्त्री बलराम अधिकारीलगायत नेताहरूले अध्यक्ष ओलीको बचाउ गरेका थिए। 

null

उनीहरूले यदि पुनर्गठन गर्ने नै हो भने सचिवालयका सबै पदाधिकारीको पुनर्गठन हुनुपर्ने मत राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। बैठकमा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य भने अनुपस्थित रहे।

केन्द्रीय सदस्य सूर्य थापाले व्यक्ति केन्द्रित पुनर्गठन अभियानले पार्टीलाई सही दिशामा नपुर्‍याउने बताएका थिए।

पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सहभागी नेताहरूले राखेका सुझावलाई कार्यदलले तटस्थ र गम्भीर ढङ्गले सुनेको तथा ती सुझाव पार्टीका लागि अत्यन्त उपयोगी हुने बताए । उनले एमालेको विशेषता विचार र बहसलाई निरुत्साहित गर्नु नभई प्रोत्साहन गर्नु रहेको उल्लेख गर्दै पार्टीभित्रको बहस स्वस्थ, मर्यादित र विधिसम्मत हुनुपर्ने धारणा राखे । बहसले पार्टीलाई सही निष्कर्षमा पुर्‍याउने र आन्तरिक एकतालाई थप मजबुत बनाउने उनको भनाइ थियो।

null

उपाध्यक्ष पौडेलले कम्युनिस्ट आन्दोलनले पछिल्लो समय गम्भीर धक्का र पराजय बेहोरेको स्वीकार गर्दै त्यसबाट शिक्षा लिएर, आत्मसमीक्षा गर्दै र पार्टीलाई पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलनको विजययात्रा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले प्रदेशस्तरीय भेलामा सहभागी नेता–कार्यकर्ताले राखेका सुझावप्रति धन्यवाद व्यक्त गर्दै ती सुझावलाई कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरिने बताए। 

बैठकमा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत नेताहरूको सहभागिता रहेको थियो।

salt training

कमेन्ट गर्नुहोस्