
अमेरिका र इरानले युद्ध अन्त्य गर्ने दिशामा दुवै देशले एउटा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अन्तिम शान्ति सम्झौताका लागि ६० दिनको औपचारिक वार्ताको अवधि शुरू भएको छ । यद्यपि, आगामी प्राविधिक र नीतिगत विषयहरूमा अझै कठिन वार्ताहरू हुन बाँकी नै देखिन्छ ।
यसैबीच, आगामी वार्ताको चरणलाई लिएर केही प्राविधिक र व्यवस्थापकीय तयारीहरू मिल्न बाँकी रहेकाले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पूर्वनिर्धारित स्विट्जरल्याण्ड भ्रमण तत्कालका लागि रोकिएको छ ।
ह्वाइट हाउसका प्रवक्ताका अनुसार उपराष्ट्रपति भान्स शुक्रबार हुने भनिएको आधिकारिक समझदारी पत्र हस्ताक्षर समारोहका लागि आज राति स्विट्जरल्याण्ड प्रस्थान गर्ने तालिका थियो । तर, वार्ताको अर्को चरणको व्यवस्थापकीय जटिलताका कारण उनी आज नजाने भएका हुन् । 'उपराष्ट्रपतिले पत्रकार सम्मेलनमा भन्नुभएझैँ, आगामी प्राविधिक वार्ताको योजना अझै पूर्ण रूपमा फाइनल भइसकेको छैन । अमेरिकी प्रतिनिधिमण्डल पहिलो उपलब्ध अवसरमै प्रस्थान गर्न तयार अवस्थामा छ, तर यी वार्ताहरूको व्यवस्थापन कहिल्यै पनि सरल वा अनुमान गरेजस्तो हुँदैन । हालका लागि उपराष्ट्रपति आज राति जाँदै हुनुहुन्न ।'
यसअघि बिहीबार उपराष्ट्रपति भान्सले समय निश्चित नभए पनि आफू सम्झौताको प्रत्यक्ष हस्ताक्षरका लागि स्विट्जरल्याण्ड जान चाहेको बताएका थिए । यो सप्ताहान्तदेखि प्राविधिक वार्ताहरू शुरू हुने अपेक्षा गरिएको छ र अमेरिकी वार्ता टोलीको नेतृत्व आफैँले गर्ने योजनामा भान्स रहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको यो समझदारी पत्रलाई इरानको बिना सर्त आत्मसमर्पणको रूपमा ब्याख्या गरेका छन् । 'एक्सियोस'सँगको अन्तर्वार्तामा ट्रम्पले यो द्वन्द्वले आफ्नो राष्ट्रपतीय शक्तिको दायरा कति व्यापक छ भन्ने कुरा प्रमाणित गरेको दाबी गरे ।