०५ असार २०८३, शुक्रबार

इंग्ल्याण्ड र क्रोएसियाको ‘हेभीवेट’ भिडन्त, कसले मार्ला बाजी ?

असार ४, २०८३
काठमाडौं
इंग्ल्याण्ड र क्रोएसियाको ‘हेभीवेट’ भिडन्त, कसले मार्ला बाजी ?

विश्वकप अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा आज विश्व फुटबलका दुई महारथी इंग्ल्याण्ड र क्रोएसिया आमनेसामने हुँदैछन्। अमेरिकाको डालासस्थित डालास स्टेडियममा हुने यो खेललाई सन् २०१८ को विश्वकप सेमिफाइनलको पुनरावृत्तिका रूपमा हेरिएको छ ।

उक्त खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो। खेेल नेपाली समय अनुसार आज राति पौने १ बजे सुरु हुनेछ।
इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले आफ्नो पहिलो विश्वकप खेलका लागि सुरुवाती ११ को घोषणा गर्दा जुड बेलिङ्घमलाई प्राथमिकता दिएका छन्। उनले मोर्गान रोजर्सको साटो अनुभवी बेलिङ्घमलाई मैदान उतार्ने निर्णय गरेका हुन्।

टोलीको नेतृत्व उच्च लयमा रहेका कप्तान ह्यारी केनले गरिरहेका छन्, जसले यस सिजनमा क्लब र देशका लागि गरी ६१ गोल गरिसकेका छन्।

बुकायो साका पूर्ण रूपमा फिट नभएका कारण नोनी मदुयकेले सुरुवाती ११ मा स्थान पाएका छन् भने एन्थोनी गोर्डनले मार्कस रासफोर्डलाई बेन्चमा राख्दै मैदान प्रवेश गर्ने मौका पाएका छन्।

सन् २०१८ को सेमिफाइनल टोलीबाट अहिलेको सेटमा जोर्डन पिकफोर्ड, जोन स्टोन्स, जोर्डन हेन्डरसन, मार्कस रासफोर्ड र ह्यारी केन गरी पाँच खेलाडी मात्र बाँकी रहेका छन्।
अर्कोतर्फ, क्रोएसियाको कमान्ड सदाबहार ४० वर्षीय मिडफिल्डर लुका मोड्रिचले सम्हालिरहेका छन्। आफ्नो पाँचौँ विश्वकप खेल्दै गरेका मोड्रिच युरोपका सिमित खेलाडीहरूको सूचीमा परेका छन् जसले यति धेरै पटक विश्वकपको मञ्चमा उपस्थिति जनाएका छन्।

क्रोएसिया पछिल्ला दुई विश्वकपका समूह चरणमा अपराजित रहेको टोली हो । म्यानचेस्टर सिटीका स्टार जोस्को ग्वार्डिओलले क्रोएसियाको रक्षापङ्क्ति सम्हाल्नेछन्।
डालासको अत्यधिक गर्मीका बाबजुद यो खेल पूर्ण रूपमा वातानुकूलित र अत्याधुनिक सुविधा सम्पन्न एटी एण्ड टी स्टेडियममा हुने भएकाले खेलाडीहरूले प्रतिकूल मौसमको सामना गर्नु पर्ने छैन।

स्टेडियमभित्रको सितल तापक्रममा ६५ हजारभन्दा बढी दर्शकहरूले यो रोमाञ्चक भिडन्तको मजा लिनेछन्। समूह ‘एल’ मा इंग्ल्याण्ड र क्रोएसियासँगै घाना र पानामा रहेका छन् । समूहको सबैभन्दा कठिन मानिएको यो खेलमा जित निकाल्दै दुवै टोली नकआउट चरणको यात्रा सहज बनाउने दाउमा छन्।

salt training

कमेन्ट गर्नुहोस्