
राष्ट्रियसभाका सदस्यहरूले गत वैशाखमा बागमतीदगायत नदी किनारबाट हटाइएका सुकुम्बासीको खान, बस्न र औषधी उपचार गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमबासीले औषधि र पानी पनि नपाएको दाबी गरिन् ।
सांसद मदनकुमारी शाह (गरिमा) ले सुकुम्बासीको दुई महिना बितिसक्दा पनि उचित व्यवस्था गर्न नसकिएको बताइन् ।
राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले घरेलु हिंसा पीडितलाई न्याय दिने व्यवस्था मिलाउन माग गरिन् ।
राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले स्थानीयस्तरबाट आएको नीति तथा कार्यक्रम बजेटमा नपरी पहुँचका आधारमा परेको गुनासो गरिन् ।
राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले प्रधानमन्त्री कार्यालयमा गत सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर नौ घण्टासम्म दबाबमा राखेर काम गर्न लगाएकामा आपत्ति जनाए ।
राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले मुक्त कमैयाका लागि ठूला बस्ती व्यवस्था गरे पनि रोजगारीको व्यवस्था नहुँदा समस्या भएको बताए ।
राष्ट्रियसभा सदस्य भुवन सुनारले अन्तरजातीय विवाह गर्ने छोरीको बर्दियामा ज्यूँदै क्रिया गर्नेलगायत दलित समुदायमाथि भइरहेका ज्यादतीका विषयमा कानूनी कारबाही नभएको बताए ।
राष्ट्रियसभा सदस्य युवराज शर्माले बन्द भएको चिया उद्योगका विषयमा के गरिरहेको छ भनी जिज्ञासा राखे ।