०९ असार २०८३, मंगलबार
विश्वकपमा ‘स्टार्स एन्ड स्ट्राइप्स’को हुंकार

४० वर्षको अन्धकारदेखि 'द मिराकल म्याच'सम्म: पोचेटिनोको कमान्डमा अमेरिकाले रच्ला इतिहास ?

असार ५, २०८३
काठमाडौं

सन् १९३० मा उरुग्वेमा आयोजित पहिलो विश्वकपमा सहभागी १३ राष्ट्रमध्ये एक थियो, संयुक्त राज्य अमेरिका ।

करिब एक शताब्दीको यात्रा तय गरेपछि, यतिबेला अमेरिका पुन: एकपटक विश्व फूटबलको महाकुम्भलाई आफ्नो आँगनमा स्वागत गरिरहेको छ ।

क्यानडा र मेक्सिकोसँग मिलेर सन् २०२६ को फिफा विश्वकप आयोजना गरिहेको अमेरिका आफ्नो १२औँ सहभागितालाई अविस्मरणीय बनाउने दाउमा पनि छ ।

००००

इतिहासका पानामा अमेरिका

अमेरिकाका लागि फिफा विश्वकपको इतिहास निकै उतार–चढावपूर्ण छ । सन् १९३० को पहिलो संस्करणमै सेमिफाइनलसम्मको यात्रा तय गर्नु नै अमेरिकाको हालसम्मको उत्कृष्ट नतिजा हो ।

अझ रमाइलो पक्ष त के हो भने, त्यतिबेला चिहान खन्ने मजदुर, हुलाकी र सामान्य रोजगारीमा रहेका व्यक्तिहरूलाई समावेश गरेर अमेरिकी टोली तयार पारिएको थियो ।

त्यो विश्वकपमा बेल्जियमलाई ३–० र पाराग्वेलाई पनि सोही अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको अमेरिकी टोली अन्तिम चारबीचको भिडन्तमा अर्जेन्टिनासँग १–६ गोलले पराजित भएको थियो ।

null

००००

त्यो ‘मिराकल म्याच’

त्यसपछि सन् १९५० को ब्राजिल विश्वकपमा पनि अमेरिकी टोलीले एउटा निकै अप्रत्यासित नतिजा निकाल्दै विश्व फूटबललाई चकित पारेको थियो ।

त्यो विश्वकपको समूहगत चरणमा अमेरिकाले निकै बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १–० गोलले हराएको थियो । त्यो नतिजा अहिले पनि ‘द मिराकल म्याच’को नामबाट चर्चित छ ।

इङ्ल्यान्डविरुद्धको त्यो खेलमा निर्णायक गोल गर्ने खेलाडी जोसेफ गाएटजेन्स त्यतिबेला न्यू योर्कमा भाँडा माझ्ने काम गर्थे । यद्यपि, अमेरिकाले त्यो विश्वकपमा समूहगत चरण पार गर्न सकेन ।

००००

४० वर्ष लामो अँध्यारो यात्रा

सन् १९५० को त्यो अविश्वासिलो जितपछि अमेरिकी फूटबलले निकै लामो कठिन र अँध्यारो यात्रा तय गर्नुपर्‍यो । सन् १९५० देखि सन् १९९० सम्म ४० वर्ष अमेरिका विश्वकप फूटबलमा छनोट नै हुन सकेन ।

त्यसबीचमा, बेसबल, बास्केटबल र अमेरिकी फूटबल (नेसनल फूटबल लिग)को दबदबाका कारण अमेरिकामा ‘सकर’ छायामा पर्‍यो ।

००००

null

नयाँ युगको शुरूआत

सन् १९९० मा इटालीमा आयोजित विश्वकपमा ४० वर्षको खडेरी तोडेर फेरि अमेरिका छनोट चरण पार गर्न सफल भयो ।

त्यसपछि, सन् १९९४ मा अमेरिकाले विश्वकप आयोजना गर्ने अवसर पायो । ‘सकर’ (फूटबल) खासै चर्चामा नरहेको देशमा विश्वकप आयोजना हुँदा रंगशालाहरू खाली रहने अनुमान धेरैले गरेका थिए ।

तर, ३५ लाखभन्दा बढी दर्शकले रंगशाला भरेर कीर्तिमान नै कायम गरे । एलेक्सी लालस र कोबी जोन्सजस्ता खेलाडीको नेतृत्वमा अमेरिकाले ६४ वर्षपछि समूहगत चरण पार गर्‍यो ।

त्यही सफलताले नै अमेरिकामा मेजर लिग सकर (एमएलएस)को जग बसायो । एमएलएस आज विश्वकै चर्चित लिग फूटबलमध्ये एक हो ।

००००

उतार–चढावपूर्ण यात्रा र कीर्तिमानहरू

सन् २००२ को विश्वकप अमेरिकाका लागि अर्को सुनौलो क्षण थियो । मेक्सिकोलाई २–० गोलले हराएर क्वार्टरफाइनल पुगेको अमेरिका दुर्भाग्यवश जर्मनीसँग पराजित भयो ।

त्यो खेलमा ग्रिग बेरहल्टरको प्रहारमा जर्मन मिडफिल्डरले गरेको ‘ह्यान्डबल’लाई रेफ्रीले नदेख्दा अमेरिकाको अगाडि बढ्ने सपना चकनाचुर भएको थियो ।

यसैगरी, सन् २०१० को विश्वकपमा लन्डन डोनोभानले अल्जेरियाविरुद्ध गरेको अन्तिम मिनेटको गोल आज पनि अमेरिकी ‘सकर’ समर्थकको स्मरणमा ताजै छ ।

त्यसपछि, सन् २०१४ को ब्राजिल विश्वकप पनि अमेरिकाका लागि अविस्मरणीय थियो । त्यो संस्करणमा अमेरिकी टोली नकआउट चरणसम्म पुगेको थियो ।

त्यो विश्वकप अमेरिकी गोलरक्षक टीम होवार्डका लागि त झनै विशेष थियो । बेल्जियमविरुद्धको खेलमा होवार्डले गरेको १६ वटा उत्कृष्ट ‘सेभ’ विश्वकप इतिहासकै दुर्लभ कीर्तिमान हो ।

अमेरिकी टोलीका लागि विश्वकपमा सर्वाधिक पाँच गोल गर्ने र सर्वाधिक १२ खेल खेल्ने कीर्तिमान दिग्गज खेलाडी लन्डन डोनोभानको नाममा छ ।

अमेरिकाले हालसम्म विश्वकपमा कुल ३८ खेल खेलेको छ । त्यसमध्ये टोलीले १० खेलमात्र जित्न सकेको छ । नकआउट चरणमा त अमेरिकाले हालसम्म एउटा जितमात्र हात पारेको छ ।

null

००००

पहिलो खेलमै विजयी शुरूआत

घरेलु मैदानमा आयोजित २३औँ विश्वकपमा अमेरिकी टोली समूह ‘डी’मा परेको छ । समूहगत चरणमा अमेरिकाले पाराग्वे, अस्ट्रेलिया र टर्कीजस्ता बलिया टोलीको सामना गर्दैछ ।

घरेलु मैदान र समर्थकको अपार साथ पाएको अमेरिकाले आफ्नो पहिलो खेलमा जितसमेत हासिल गरिसकेको छ । अमेरिकी टोलीले समूहगत चरणको पहिलो खेलमा पाराग्वेमाथि ४–१ गोलको फराकिलो अन्तरको जित हासिल गरेको हो ।

त्यो खेलमा फोलारिन बालोगनले दुई गोलको योगदान गरेका थिए । जियोभानी रेयनाले पनि एक गोल थपे । अमेरिकाले अर्को एक गोल भने पाराग्वेका खेलाडीबाट आत्मघाति उपहार पाएको थियो ।

अमेरिकाले आफ्नो दोस्रो खेल जुन १९ तारिखमा अस्ट्रेलियासँग र तेस्रो खेल जुन २५ तारिखमा टर्कीसँग खेल्नेछ ।

००००

पोचेटिनोको नेतृत्वमा नयाँ सपना

सन् २०२४ को सेप्टेम्बरमा मुख्य प्रशिक्षकका रूपमा माउरिसियो पोचेटिनोको आगमनसँगै अमेरिकी टोलीमा नयाँ ऊर्जा सञ्चार भएको छ ।

चेल्सी, पेरिस सेन्ट जर्मन (पीएसजी) र टोट्टनहामजस्ता क्लब सम्हालेका पोचेटिनोको अनुभवले ‘स्टार्स एन्ड स्ट्राइप्स’ अर्थात, अमेरिकी टोलीलाई कत्तिको उचाइमा पुर्‍याउँछ, त्यो हेर्नलायक हुनेछ ।

null

टोली घोषणा गर्दै प्रशिक्षक पोचेटिनोले भनेका थिए, ‘हामीलाई विश्वास छ, यो २६ खेलाडीको टोलीले विश्वकपमा सफलता हासिल गर्न सक्छ । हाम्रो टोली निकै एकाग्र छ र देशलाई गौरवान्वित तुल्याउन आफ्नो सर्वस्व अर्पण गर्न पनि तयार छ ।’

सन् २०२२ को कतार विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको अमेरिका यसपटक घरेलु समर्थकको साथ पाएपछि अझ माथिल्लो चरण पुग्ने योजनामा देखिन्छ ।

००००

null

खेलाडीहरूको बलियो फौज

पोचेटिनोको आगमनले समर्थकमा शुरूआति उत्साह त जगायो तर, पछिल्लो केही समययता अस्थिर नतिजा र पोचेटिनोको अन्य क्लबसँग जोडिएको चर्चाले केही आशंका पनि उब्जाएका छन् ।

यद्यपि, घरेलु समर्थकको साथ टोलीका लागि ठूलो ऊर्जा बन्न सक्छ । इतिहास साक्षी छ, विश्वकप आयोजक राष्ट्रहरू समूहगत चरणबाटै बाहिरिएका घटना निकै दुर्लभ छन् । सन् २०१० को दक्षिण अफ्रिका र सन् २०२२ को कतारलाई अपवाद मान्ने हो भने ।

त्यसैले, अमेरिकी टोलीका लागि समूहगत चरण पार गर्नु पहिलो लक्ष्य हुनेछ । अमेरिकी टोलीको मुख्य हतियार भनेको गतिशील खेल र ऊर्जावान शैली हो ।

यसपटकको अमेरिकी टोलीमा इटालियन क्लब एसी मिलानका स्टार फरवार्ड क्रिस्टियन पुलिसिच र युभेन्ट्सका मिडफिल्डर वेस्टन म्याकेनी मुख्य आधारस्तम्भ हुन् ।

null

यसैगरी, जियोभानी रेयनाको रचनात्मक क्षमता र फोलारिन बालोगुनको गोल गर्ने क्षमतामाथि प्रशिक्षक पोचेटिन्होको ठूलो भरोसा देखिन्छ । गोलपोस्टको रक्षाका लागि म्याट फ्रिज र म्याट टर्नरबीचको प्रतिस्पर्धा पनि निकै रोचक छ ।

एन्टोनी रोबिन्सन र सर्जिनो डेस्टजस्ता विङ–ब्याकहरू विपक्षीका लागि टाउको दु:खाइ बन्न सक्छन् । तर, रक्षापंक्तिमा भने अमेरिकाको चिन्ता अझै पनि कायमै छ । मुख्य डिफेन्डर क्रिस रिचर्डसको चोटले टोलीलाई थप पिरोलेको छ ।

खासगरी, ‘क्याप्टेन अमेरिका’को उपनाम पाएका पुलिसिचको काँधमा सारा देशको आशा छ ।

सन् २०२६ को शुरूआति दिनहरूमा केही सुस्त देखिएका पुलिसिचले के घरेलु मैदानमा आफ्नो जादू देखाउलान् ? यतिबेला सबैको प्रश्न यही छ ।

अमेरिकी टोलीले पछिल्लो समय युरोपेली टोलीहरूविरुद्ध खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । सन् २०२१ मा बोस्निया–हर्जगोभिनालाई हराएपछि अमेरिकाले कुनै पनि युरोपेली टोलीलाई हराउन सकेको छैन ।

बेल्जियम र पोर्चुगलजस्ता टोलीसँगका पछिल्ला हारहरूले अमेरिकालाई ठूला खेलका लागि परिपक्व हुन अझै बाँकी रहेको सन्देश दिन्छ । यद्यपि, पाराग्वेविरुद्धको ४–१ गोलको प्रभावशाली जितले भने समर्थकमाझ आशा जगाएको छ ।

समग्रमा, क्यानडा र मेक्सिकोसँगको सह–आयोजनले मात्र होइन, मैदानभित्र खेलाडीहरूले देखाउने अब्बल प्रदर्शनले पनि यसपटकको विश्वकपमा अमेरिकालाई मुख्य आकर्षणको केन्द्र बनाएको छ ।

हेर्नुहोस्, भिडियो : 

 

salt training

कमेन्ट गर्नुहोस्