
नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन् । २०७२ देखि २०८२ सालसम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भनेका हुन् ।
आज नेपाली कांग्रेसको नियमित श्रृङ्खला ग्रीन टेबलमा सभापति थापाले उक्त विकृत युगको आफूहरू केही हदसम्म साक्षी भए पनि साझेदार नभएको जिकिर गरे । उनले भने, ‘कतिपय सन्दर्भमा हामी विकृत युगको साक्षी भयौं होला । तर त्यसमा सहभागी कहिल्यै भएनौं ।’
आफूहरूले शुरूदेखि नै राज्य र पार्टीभित्र समेत सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताउँदै सभापति थापाले सुशासन स्थापना गर्ने लडाइँमा आफूहरू अहिले पनि अडिग रहेको दाबी गरे ।
सरकारले आर्थिक अपचलन र भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने भनेर सम्पत्ति छानबिन आयोग गठन गरेको विधि र प्रक्रिया नमिलेको उनको भनाइ थियो ।
आफूहरू सम्पत्ति छानबिन हुनुपर्छ भन्नेमा प्रष्ट रहेको तर त्यसमा कानूनी विधि-प्रक्रिया मिचिनु हुँदैन भन्नेमा पनि उत्तिकै सचेत रहेको थापाले बताए । ‘हामी भ्रष्टाचारको विरुद्धमा लडेर आएका हौं । तर अहिले सामान्यीकरण गरेर सबै गलत भन्ने भाष्य बनाइँदैछ। हामी यो सफा गर्छौं । त्यसैका लागि पनि हामीसहित सबैको सम्पत्ति छानबिन गर भन्छौं। तर त्यो काम विधि र कानूनलाई पछ्याएर हुनुपर्छ । हाम्रो चासो यही हो,' उनले भने ।