१४ असार २०८३, आइतबार

इजरायल र अमेरिकाले युद्धविराम उल्लंघन गरेको भन्दै इरानद्वारा हर्मुज बन्दको घोषणा

असार ६, २०८३
काठमाडौं
इजरायल र अमेरिकाले युद्धविराम उल्लंघन गरेको भन्दै इरानद्वारा हर्मुज बन्दको घोषणा

इजरायलले लेबनानमा लगातार आक्रमण जारी राखेर युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण 'हर्मुज जलसन्धि' बन्द गर्ने घोषणा गरेको छ । इरानी सेनाले अमेरिका र इजरायलले हालै भएको १४ बुँदे सहमति पालना नगरेको दाबी गर्दै यो कदम चालेको हो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले एकचेतावनी जारी गर्दै कुनै पनि जहाजलाई हर्मुज जलसन्धिमा प्रवेश नगर्न भनेको छ ।

इरानले लेबनानमा इजरायली आक्रमणबाट करिब दुई दर्जन मानिसको मृत्यु भएको घटनालाई सम्झौताको गम्भीर उल्लंघन भनेको छ । गत बुधबार मात्र अमेरिका र इरानबीच भएको सहमतिमा सबै मोर्चामा सैन्य कारबाही रोक्ने र व्यापारिक जहाजहरूलाई सुरक्षित मार्ग दिने उल्लेख थियो ।

यता, अमेरिकी सैन्य कमाण्ड (सेन्ट्रकम) ले भने हर्मुज जलसन्धिबाट व्यापारिक जहाजहरूको आवागमन जारी रहेको र मार्ग सुरक्षित रहेको दाबी गरेको छ । सेन्ट्रकमका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजहरू उक्त मार्ग हुँदै आवतजावत गरेका छन् ।

अमेरिकी उप-राष्ट्रपति जेडी भान्सले पनि इरानले जलसन्धि बन्द गरेको कुनै प्रमाण फेला नपरेको र ठूलो मात्रामा तेलको ढुवानी भइरहेको बताए । 
इजरायल र हिजबुल्लाह दुवैले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेका छन् । इजरायली सेनाले हिजबुल्लाहका दर्जनौं ठेगानामा आक्रमण गरेको स्वीकार गर्दै आफ्नो सुरक्षाका लागि 'खतरा' हटाउन अपरेशन जारी राख्ने बताएको छ ।

हिजबुल्लाहले भने अमेरिकाद्वारा घोषित युद्धविरामलाई आफूले मान्यता नदिएको र लेबनानभित्र इजरायलको स्वतन्त्र सैन्य उपस्थितिलाई स्वीकार नगर्ने स्पष्ट पारेको छ ।
यसैबीच, थप वार्ताका लागि भोलि स्विट्जरल्याण्डको बुर्जेनस्टकमा अमेरिका र इरानका प्रतिनिधिहरूबीच बैठक हुने तय भएको छ । पाकिस्तान र कतारको मध्यस्थतामा हुने उक्त वार्तामा इरानले अमेरिकालाई आफ्ना प्रतिबद्धताहरू पूरा गर्न दबाब दिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्