
अमेरिका र इरानबीच भएको युद्धविराम तथा अन्तरिम सम्झौताले सबैभन्दा ठूलो राजनीतिक क्षति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पुग्न सक्ने विश्लेषण गरिएको छ ।
विश्लेषक, पूर्व अमेरिकी अधिकारी तथा कूटनीतिज्ञहरूका अनुसार नेतान्याहुले दशकौंदेखि आफूलाई इरानको विषयमा अमेरिकालाई प्रभाव पार्न सक्ने एकमात्र इजरायली नेताका रूपमा प्रस्तुत गर्दै आएका थिए ।
रिपब्लिकन पार्टीसँग निकट सम्बन्ध बनाएका उनले इरानलाई नियन्त्रणमा राख्न निरन्तर सैन्य दबाब आवश्यक रहेको तर्क गर्दै आएका थिए ।
एक समय कूटनीतिज्ञहरूले उनलाई ‘अमेरिकन ह्विस्परर’को संज्ञा दिएका थिए । अमेरिकी राजनीतिक वृत्तमा बलियो प्रभाव बनाएका नेतान्याहुले अमेरिकी कंग्रेसलाई पटक–पटक सम्बोधन गर्ने अवसरसमेत पाएका थिए ।
तर विश्लेषकहरूका अनुसार फेब्रुअरीमा अमेरिका र इजरायलले इरानविरुद्ध शुरू गरेको युद्ध अन्त्य गर्न वासिङ्टन र तेहरानबीच भएको अन्तरिम सम्झौताले नेतान्याहुको त्यो छवि कमजोर बनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको आपत्तिलाई बेवास्ता गर्दै वार्तामार्फत समाधान खोज्न थालेपछि नेतान्याहु अमेरिकी नीतिलाई प्रभावित पार्ने अवस्थाबाट त्यसलाई स्वीकार गर्न बाध्य हुने स्थितिमा पुगेका छन् ।
पूर्व अमेरिकी अधिकारी डेनिस रोसका अनुसार नेतान्याहु अहिले युद्ध अन्त्य गर्न चाहने ट्रम्प प्रशासन र कुनै सम्झौताप्रति असहमत घरेलु समर्थकबीच च्यापिएका छन् । लेबनानबाट पछि हटे राजनीतिक क्षति हुने र आक्रामक नीति अपनाए अमेरिकासँग टकराव बढ्ने अवस्था रहेको उनको भनाइ छ ।
पूर्व सल्लाहकार अविभ बुशिन्स्कीले अमेरिका–इरान सम्झौताले नेतान्याहुलाई गम्भीर राजनीतिक झट्का दिएको टिप्पणी गरेका छन् । ‘उनले इरानसँगको युद्ध मात्र हारेनन्, ट्रम्पजस्ता मित्रसमेत गुमाए’, उनले भनेका छन् ।
यद्यपि नेतान्याहुले भने हालैको पत्रकार सम्मेलनमा ट्रम्पसँगको सम्बन्ध साझेदारको जस्तो रहेको र धेरै विषयमा सहमति तथा केही विषयमा असहमति हुनु स्वाभाविक रहेको बताएका छन् ।
उनले इरान र उसका समर्थक समूहविरुद्ध इजरायलले हासिल गरेका उपलब्धिलाई कम आँक्ने प्रयास भइरहेको दाबी पनि गरेका छन् ।
ह्वाइट हाउसका एक अधिकारीले ट्रम्प र नेतान्याहुबीच अझै पनि बलियो सम्बन्ध रहेको र इजरायली सेनाले इरानको सैन्य क्षमतामा ठूलो क्षति पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।