१५ असार २०८३, सोमबार
३९ सेकेन्डको अन्तरमा दुई ठूला महाभूकम्प

भेनेजुएलामा विनाशकारी महाभूकम्प : कम्तीमा ३२ जनाको मृत्यु, ७०० बढी घाइते [अपडेट]

असार ११, २०८३
काठमाडौं
भेनेजुएलामा विनाशकारी महाभूकम्प : कम्तीमा ३२ जनाको मृत्यु, ७०० बढी घाइते [अपडेट]

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा एक मिनेटभन्दा कमको अन्तरालमा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी मानिस घाइते भएका छन् । राजधानी काराकाससहित देशका विभिन्न भागमा ठुलो संख्यामा भवनहरू भत्किएको र ठुलो धनजनको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यो विपद्‌मा ज्यान गुमाउनेहरूको संख्या १० हजार नाघ्न सक्ने सम्भावना रहेको समाचारमा उल्लेख छ । भेनेजुएलामा राष्ट्रिय बिदा भएकाले भूकम्प जाँदा अधिकांश मानिसहरू घरमै थिए ।

स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेभन्दा केही समयपछि पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको एक मिनेटभन्दा कम समयमै अर्को ७.५ म्याग्निच्युडको दोस्रो शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । 

भूकम्पको केन्द्रविन्दु क्यारिबियन तटीय क्षेत्रमा रहेको मोरोनभन्दा केही पश्चिम, राजधानी काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा रहेको थियो । पहिलो भूकम्प २२ किलोमिटर र दोस्रो भूकम्प १० किलोमिटर गहिराइमा मापन गरिएको छ । यो भूकम्पको धक्का यति शक्तिशाली थियो कि केन्द्रविन्दुबाट करिब १,७०० किलोमिटर टाढा रहेको ब्राजिलको अमेजन क्षेत्रसम्म पनि भवनहरू खाली गराइएको थियो ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै देशभर संकटकाल घोषणा गरेकी छन् । उद्धार टोलीहरू भत्किएका भवनका भग्नावशेषमा पुग्ने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने उनले चेतावनी दिइन् । अहिलेसम्म सार्वजनिक भएको हताहतको विवरणमा सबैभन्दा बढी प्रभावित भएको ला गुइरा राज्यको तथ्याङ्क सङ्कलन भइरहेकाले समावेश गरिएको छैन । 

null

काराकासबाट करिब ३० किलोमिटर उत्तरमा रहेको यस क्षेत्रमा दर्जनौँ भवनहरू ध्वस्त भएका छन् र त्यहाँ जीवन रक्षाका लागि तीव्र रूपमा उद्धार कार्य भइरहेको छ । राज्य सञ्चालित सञ्चार माध्यम भीटीभीले ला गुइरामा भग्नावशेषबाट धुलोले थिचिएका तीन बालबालिकालाई जीवितै उद्धार गरिएको भिडियो सार्वजनिक गरेको छ । यस्तै, काराकासबाट २०० किलोमिटर उत्तर-पश्चिममा रहेको तुकाकास सहरको एक अस्पतालमा पनि क्षति पुगेको छ ।

भूकम्पका कारण राजधानी काराकास ननियरै रहेको देशको मुख्य विमानस्थल सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो क्षति पुगेपछि बन्द गरिएको छ । भूकम्प आउँदा विमानस्थलका करिडोरहरूमा मानिसहरू ज्यान जोगाउन भागभाग गरिरहेको दृश्यहरू सार्वजनिक भएका छन् । यसका साथै काराकासमा सबवे र प्राकृतिक ग्यास सेवाहरू पूर्ण रूपमा बन्द गरिएका छन् । सरकारले विद्यालयहरू केही दिन बन्द गरेको छ भने केही विद्यालय भवनहरूलाई आश्रयस्थल र राहत संकलन केन्द्रका रूपमा प्रयोग गरिने शिक्षा मन्त्रालयले जनाएको छ । फाल्कन राज्यका गभर्नर भार्टर क्लार्कका अनुसार त्यहाँ ३२ जनालाई अस्पताल भर्ना गरिएको छ भने १५ जना अझै भग्नावशेषमा फसेका छन् ।

विपद्को यस घडीमा अमेरिका, अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, इक्वेडर, एल साल्भाडोर, मेक्सिको, पानामा र उरुग्वेलगायत देशहरूले सहयोगको हात बढाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भूकम्पलाई विशाल र विनाशकारी भन्दै चिकित्सा तथा मानवीय सहायताको प्रतिबद्धता जनाएका छन् । 

अमेरिकी विदेश मन्त्रालयका तर्फबाट तत्काल खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता परिचालन भइरहेको छ । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले अमेरिकी अधिकारीहरूसँग फोनमा कुराकानी भएको पुष्टि गर्दै सहयोग गर्ने सबै देशप्रति आभार व्यक्त गेकी छन् । 

कतार, मेक्सिको र एल साल्भाडोरका उद्धार टोलीहरू भेनेजुएला प्रस्थान गरिसकेका छन् । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले र इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले वैचारिक मतभेदलाई बिर्सेर यस मानवीय संकटको समयमा ऐक्यबद्धता प्रकट गर्दै तत्काल राहत पठाउन आदेश दिएका छन् । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको प्रशासनले पनि दुःख व्यक्त गरेको छ ।

भेनेजुएलामा आएको यो भूकम्प त्यहाँको इतिहासमै सबैभन्दा शक्तिशाली मध्येको एक भए पनि विश्व इतिहासका ठुला भूकम्पको सूचीमा भने पर्दैन । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार विश्वकै इतिहासमा सबैभन्दा शक्तिशाली भूकम्प सन् १९६० मा चिलीको बायोबायोमा ९.५ म्याग्निच्युडको गएको थियो, जसमा १,६५५ जनाले ज्यान गुमाएका थिए । 

त्यसपछि सन् १९६४ मा अमेरिकाको अलास्कामा ९.२ म्याग्निच्युडको भूकम्प जाँदा १३० जनाको मृत्यु भएको थियो । सन् २००४ मा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्निच्युडको भूकम्पले २ लाख ८० हजारभन्दा बढी र सन् २०११ मा जापानको तोहोकुमा ९.१ म्याग्निच्युडकै भूकम्पले १५ हजारभन्दा बढीको ज्यान लिएको थियो । रसियाको कामचट्कामा सन् १९५२ मा ९ म्याग्निच्युडको भूकम्प जाँदा १५ हजारसम्मको मृत्यु भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्