
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भन्नेवित्तिकै अचेल धेरैको दिमागमा अनौठा तस्वीरहरू बनाउने वा 'डीपफेक' भिडियो सिर्जना गर्ने प्रविधि मात्र खेलिरहेको हुन सक्छ । तर, एआई अब मनोरञ्जन र प्रविधिमा मात्र सीमित रहेन, यसले आफ्नो वास्तविक उद्देश्य अर्थात् मानव जातिलाई प्रत्यक्ष सहयोग गर्ने काममा ऐतिहासिक छलाङ मारेको छ । हालै बेलायत (ब्रिटेन) मा एउटा यस्तो चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ एक एआई च्याटबोटले अदालतको कानुनी लडाइँमा मानिस (पेसावर वकिल)लाई नै हराएर मुद्दा जितेको छ ।
प्रविधिको यो नयाँ चमत्कारले लाखौँ रुपैयाँ खर्च हुने कानुनी झन्झटलाई कसरी केही हजारमै सुल्झाउन सकिन्छ भन्ने नयाँ बाटो समेत देखाइदिएको छ ।
के थियो मुद्दा ?
बेलायतमा फ्रीलान्स एचआरको रूपमा कार्यरत तामीरेस कमाल ताकीदिर नामकी एक महिलाले एउटा हस्पिटालिटी कम्पनीविरुद्ध आफ्नो बाँकी रहेको सेवा शुल्क नपाएको भन्दै मुद्दा दायर गरेकी थिइन् । बेलायतमा कानुनी लडाइँ लड्नु भनेको वकिलहरूको चर्को शुल्क र लामो समयको बर्बादी झेल्नु हो, जुन सामान्य नागरिकको पहुँचभन्दा बाहिर हुन सक्छ ।
तर, तामीरेसले कुनै महँगो मानव वकिलको साटो 'गारफिल्ड एआई' नामको कानुनी च्याटबोटको सहारा लिने निधो गरिन्। यो च्याटबोटले मुद्दाको लागि आवश्यक कागजातहरू मात्र तयार गरेन, बरु अदालतमा विपक्षी वकिलको रणनीतिलाई समेत पूर्ण रूपमा असफल बनाइदियो ।
लाखौँको काम मात्र ५० हजारमा
मुद्दामा सबैभन्दा बढी अचम्म पार्ने कुरा वकिलको शुल्क र क्षतिपूर्तिको हिसाब रहेको छ । एआई च्याटबोटको उत्कृष्ट कानुनी रणनीतिका कारण तामीरेसले यो मुद्दा जितिन् । अदालतले उनलाई ७,००० पाउन्ड क्षतिपूर्ति दिलाउने फैसला गर्यो ।
जुन कानुनी कामका लागि मानिस वकिलहरूले लाखौँ रुपैयाँ असुल्ने गर्थे, त्यही काम 'गारफिल्ड एआई' ले मात्र ४०० पाउन्डमा फत्ते गरिदियो।
एआईले कसरी लड्यो अदालतमा केस ?
'गारफिल्ड एआई' लाई गत वर्षको अप्रिल महिनामा बेलायतको 'सोलिसिटर्स रेगुलेसन अथोरिटी'ले कानुनी सेवा प्रदान गर्न आधिकारिक स्वीकृति दिएको थियो । मुद्दाको सुनुवाइका क्रममा एआईले निम्नलिखित रूपमा आफ्ना उत्कृष्ट कार्यहरू प्रस्तुत गर्यो।
अदालतको ट्रायल (बहस) शुरू हुनुभन्दा अगाडिका सम्पूर्ण कानुनी प्रक्रिया, चार जना गवाह (साक्षी) हरूको बयान तयार पार्ने र आवश्यक सम्पूर्ण कागजातहरू दर्ता गर्ने काम एआई आफैँले गरेको थियो ।
अदालतको इजलासमा बहस गर्न गारफिल्ड एआईले आफ्नो तर्फबाट 'वान एसेक्स कोर्ट'का एक जुनियर ब्यारिस्टर डोमिनिक लीलाई काममा खटायो।
मे महिनामा वैण्ड्सवर्थ काउंटी कोर्टमा तीन घण्टासम्म बहस चल्यो । यस क्रममा साक्षीहरूको बयान र विपक्षीसँग क्रस-एक्जामिनेसन (जिरह) समेत भयो। अन्ततः अदालतले एआई र उसको ग्राहक (क्लाइन्ट) को पक्षमा फैसला सुनायो।
केस जितेपछि जुनियर ब्यारिस्टर डोमिनिक लीले एआईको प्रशंसा गर्दै भने, 'यस मुद्दाका लागि गारफिल्ड एआईले तयार पारेका कानुनी कागजातहरू मेरो आवश्यकताभन्दा कयौँ गुणा बढी बलिया, पक्का र सटीक थिए ।'
के हो 'गरफिल्ड एआई?
फिलिप यंग यस एआई ल फर्मका संस्थापक हुन्। गारफिल्ड एआई विश्वकै पहिलो यस्तो 'ल फर्म' (कानुनी संस्था) हो, जसलाई विशुद्ध रूपमा एआई च्याटबोटमार्फत कानुनी सेवाहरू दिन आधिकारिक रूपमा मान्यता दिइएको छ । यो फर्मले इंग्ल्यान्ड र वेल्सको 'स्मॉल क्लेम्स कोर्ट'मा सर्वसाधारण र कम्पनीहरूलाई १०,००० पाउन्ड (करिब १२.५ लाख रुपैयाँ) सम्मको सानो ऋण तथा दाबीहरू असुल गर्न मद्दत गर्दछ ।
च्याटबोटको सफलताले एउटा नयाँ भविष्यको बलियो जग बसालेको छ, जहाँ आगामी दिनमा एआई च्याटबोटहरू अदालतको कार्यविधिमा अझ मजबुतीका साथ सहभागी हुनेछन् । समग्रमा, गारफिल्ड एआईले यो प्रमाणित गरिदिएको छ कि यदि प्रविधिलाई सही दिशा र उद्देश्यमा प्रयोग गर्ने हो भने यसले आम मानिसको पैसा र समय दुवै जोगाएर न्याय दिलाउन सक्छ ।