१८ असार २०८३, बिहीबार
विपद्अघिको सतर्कता

मनसुनजन्य विपदको पूर्व तयारी– हेलिकप्टरदेखि गोताखोरसम्म तम्तयार

असार १७, २०८३
काठमाडौं
मनसुनजन्य विपदको पूर्व तयारी– हेलिकप्टरदेखि गोताखोरसम्म तम्तयार

नेपालमा मनसुन सक्रिय भएर बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न थालेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा प्रतिकार्यका लागि छुट्टाछुट्टै तयारीलाई तीव्र बनाएका छन् ।

तीनै सुरक्षा निकायले जनशक्ति, उद्धार सामग्री, हेलिकप्टर, विशेष उद्धार टोली तथा उपकरण तयारी अवस्थामा राख्नुका साथै आपसी समन्वयमार्फत विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने बताएका छन् ।

नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तीन चरणको पूर्वतयारी योजना लागू गरेको जनाएको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथि राजाराम बस्नेतका अनुसार विगतका विपद्का घटनाबाट प्राप्त अनुभवका आधारमा कार्ययोजना परिमार्जन गर्नुका साथै जंगीअड्डादेखि तल्लो तहसम्म संयुक्त अभ्यास, हातेमालो तथा खोज उद्धार अभ्यास सञ्चालन गरिएको छ ।

बस्नेतका अनुसार गण र गुल्म तहमा तत्काल परिचालन हुनसक्ने फौज तयारी अवस्थामा राखिएको छ ।

पृतना तहमा ‘कम्पोजिट सर्च एन्ड रेस्क्यु टोली’ राहत सामग्रीसहित ‘स्ट्यान्डबाइ’ राखिएको छ । बाढी तथा पहिरोका कारण पुलमा क्षति पुगे तत्काल आवतजावत सुचारु गर्न धादिङको गजुरी, चितवनको भरतपुर र बारामा बेलिब्रिज तयारी अवस्थामा राखिएको जानकारी बस्नेतले दिए । उनका अनुसार यान्त्रिक पुल पनि आवश्यक पर्दा तत्काल परिचालन गर्न काठमाडौंमा तयारी गरिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार फिल्ड अस्पताल, आपत्कालीन स्वास्थ्य सामग्री, विमानस्थलमा हवाई उद्धार टोली तथा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

इटहरि र सुर्खेतमा दुई हेलिकप्टर पूर्वतैनाथ गरिएको छ भने मौसमको अवस्थाअनुसार काठमाडौंमा पनि थप दुई हेलिकप्टर तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता बस्नेतले बताए ।

उनका अनुसार समुदायस्तरमा स्वयंसेवक तयार पार्न तालिम सञ्चालन गरिएको छ । सेनाले मौसम पूर्वानुमानलाई ध्यान दिन र विपद्सम्बन्धी सूचना तत्काल उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यता, नेपाल प्रहरीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा स्वीकृत ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुरूप आफ्नै कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत पहिचान गरिएको तथा उद्धार सामग्री मर्मत गरी तयारी अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताए ।

काफ्लेका अनुसार नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा दुई प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा एक–एक प्लाटुन उद्धार टोली २४सै घण्टा उपकरणसहित तयारी अवस्थामा छन् ।

देशभरका प्रहरी चौकीसम्मका इकाइमा १० हजार ८५ जना प्रहरी कर्मचारी तयारी अवस्थामा राखिएको छ ।

मनसुनजन्य उद्धार अभ्यास, सामुदायिक सचेतना कार्यक्रम तथा प्रहरी कर्मचारीलाई विपद् उद्धारसम्बन्धी तालिमसमेत सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका बेला प्राधिकरणमा कमान्ड पोस्ट स्थापना गरी तीनै सुरक्षा निकायको समन्वयमा उद्धार परिचालन गरिने व्यवस्था गरिएको प्रवक्ता काफ्लेले बताए ।

सशस्त्र प्रहरी बलले पनि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’अन्तर्गत देशभर जनशक्ति र स्रोतसाधन परिचालन गरेको जनाएको छ ।

बलका २१ हजार ६ सय ९९ जनालाई विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिम दिइसकिएको र असार मसान्तसम्म सबै कर्मचारीलाई तालिम दिने लक्ष्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

हाल ८ हजार १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी २४सै घण्टा स्ट्यान्डबाइमा राखिएको छ ।

सशस्त्र प्रहरीले सातै प्रदेशका ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ भने १६ अति जोखिमयुक्त स्थानमा जनशक्ति र स्रोतसाधनसहित विशेष विपद् व्यवस्थापन बेस सञ्चालनमा राखेको जनाएको छ ।

उद्धारका लागि १ सय ३४ जना गोताखोर, ८२ वटा र्‍याफ्टिङ बोट, ५३ वटा मोटर बोट तथा ४ हजार ७ सय १० जना विशिष्टिकृत तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहेको जानकारी सशस्त्र प्रहरी बलका प्रवक्ता एवं नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले दिए ।

उनका अनुसार ८ वटा मास क्याजुअल्टी भेइकल, ८ वटा एम्बुलेन्स, १० वटा इमिडिएट रेस्पोन्स टीम र १३ वटा हेभी इक्विपमेन्ट पनि तयारी अवस्थामा राखिएको छ ।

प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यसमार्फत समुदायबाट प्राप्त सूचना तत्काल अपरेसन कक्षमा पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था गरिएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने रियल टाइम तथ्यांकका आधारमा प्रतिकार्य योजना सञ्चालन गरिने सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

सशस्त्र प्रहरीले हालसम्म १ हजार ७ सय ४१ जना विपद् स्वयंसेवक तयार पारेको छ भने १ लाख ६८ हजार ९ सय ५६ जना विपद् सूचकको सञ्जाल निर्माण गरेको जनाएको छ । विद्यालय र समुदायमा २ हजार ३ सयभन्दा बढी सचेतनामूलक कार्यक्रम तथा ३ सय ४३ वटा कृत्रिम अभ्यास सम्पन्न गरिएको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

तीनै सुरक्षा निकायले मनसुन अवधिभर आपसी समन्वय, सूचना आदानप्रदान र संयुक्त परिचालनमार्फत बाढी, पहिरो तथा डुबानबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्