महाभारतको आदि पर्वमा एउटा यस्तो घटना उल्लेख भएको पाइन्छ, जसले पढ्ने र सुन्ने जो कोहीको आङ सिरिङ्ग गराउँछ ।
हस्तिनापुरका तत्कालीन चक्रवर्ती सम्राट् पाण्डु आफ्नी रूपवती नवयौवना कान्छी रानी माद्रीको सौन्दर्य र वसन्तऋतुको मादकतामा यसरी हराउँछन् कि ऋषि किन्दमले दिएका भयानक श्रापलाई पनि बिर्सन्छन् र माद्रीसित आकर्षित हुन पुग्दछन् तर ऋषिको श्राप थियो किन खेर जान्थ्यो र माद्रीलाई स्पर्शमात्र के गरेका थिए उनी सदाका लागि संसारबाट विदा लिन पुग्दछन् ।
पाण्डुको मृत्युपछि त्यसको दोष आफ्नै काँधमा लिँदै माद्रीले पनि आत्महत्या गर्दछिन् । वनबासी ऋषिहरूको त्यो दृष्य हेर्न सक्दैनन् र उनीहरूको सद्गद गरी अस्तुका साथमा पाण्डुका विधवा महारानी कुन्ती र टुहुरा बालकहरू लिएर हस्तिनापुर प्रवेश गर्दछन् तर यति बेला उनीहरूमात्र हस्तिनापुर प्रवेश गरेका हुँदैनन्, अपितु हस्तिनापुरको एउटा भयानक भविष्य पनि सँगै प्रवेश गरेको हुन्छ ।
एकछिन् गम्भीर भएर सोच्नुस् त के साँच्चै ऋषिको श्रापकै कारण पाण्डुको मृत्यु भएको थियो होला ? कि यसभित्र कुनै दार्शनिक सत्य वा कुनै वैज्ञानिक रहस्य पनि लुकेको होला ? आज हामी महाभारतको त्यो रहस्यमय पानालाई इतिहास, दर्शन र विज्ञानको दृष्टिले यसरी खोतल्ने प्रयास गर्दैछौँ, जुन कुरा तपाईँहरूले यस अघि कहिल्यै सुन्नुभएको छैन होला ।
पहिले कुरा गरौँ इतिहासको । महाभारतको आदि पर्वमा उल्लेख भएअनुसार राजा पाण्डु हस्तिनापुरको शक्तिशाली सम्राट थिए तर अनजानमा ऋषि किन्दमलाई बाँड हान्न पुगेपछि उनलाई ऋषिले श्राप दिँदै भनेका थिए– ‘आज उप्रान्त यदि तिमीले कामवासनाले प्रेरित भएर कुनै स्त्रीलाई स्पर्श गर्यौ भने तत्कालै मृत्यु हुनेछ ।’
त्यसपछि राजा पाण्डु राज्य त्यागेर तपस्य गर्न शतश्रृङग पर्वतिर लागेका थिए, जुन स्थान हालको राजनीतिक भूगोलअनुसार भारतको उत्तराखण्डतिर पर्ने कुनै पहाडी भेगतिर पर्दछ । यस घटनालाई ऐतिहासिक दृष्टिले हेर्दा दुईवटा कुराको सङ्केत मिल्दछ, जसमा सत्ताको सन्तुलन र ऋषिहरूको भूमिका पर्दछन् ।
राजा पाण्डुलाई कुनै स्त्रीमाथिको वासनाजन्य स्पर्शले मृत्यु निम्त्याउँछ भन्ने आफ्नो कमजोरी थाहा नभएको होइन तर वसन्त ऋतुको मनमोहक वातावरणमा माद्रीलाई देखेपछि उनले आफ्नो कामोद्वेगलाई नियन्त्रण गर्न सकेन् । यसबारेमा दर्शनशास्त्रको अभिमत के पाइन्छ भने जतिसुकै ज्ञानी र तपस्वी भए पनि मानवमन कतिबेला कतातिर फर्किन्छ भन्ने थाहा हुँदैन र क्षणभरमै विवेक नष्ट हुन पुगिरहेको हुन्छ ।
जब ऋषिहरूले पाण्डुको अन्तिम संस्कार गरी उनको अस्तु र कुन्ती तथा पाँच बालकलाई हस्तिनापुरका भीष्म र धृतराष्ट्रलाई जिम्मा लगाए तब त्यहाँ एउटा नयाँ इतिहास शुरू भयो । महाभारतको यस कथाले हामीलाई के सिकाउँछ भने हाम्रा पौराणिक कथाहरू केवल काल्पनिक कथामात्र होइनन्, अपितु यसभित्र एउटा गहिरो ऐतिहासिक सत्य लुकेको छ । साथै यसमा मानव मनोविज्ञानको गम्भीर दर्शन र आधुनिक विज्ञानले प्रमाणित गर्न सक्ने जैविक सत्यता पनि भेटिन्छ ।
मित्रहरू ! त्यसदिन हस्तिनापुर दरबारमा केवल राजा पाण्डुको अस्तुमात्र भित्रिएको थिएन, अपितु महाभारत युद्धको त्यो बिऊ पनि भित्रिएको थियो, जसले पछि गएर लाखौँ योद्धाहरूको रगत बगाउनेवाला थियो ।
यदि पाण्डुको मृत्यु नभएको भए पाण्डवहरू जङ्गलमै हुर्कने थिए र धृतराष्ट्रका छोराहरूले निर्विरोध राज्य गर्ने अवसर पाउने थिए तर नियतिलाई केही अर्कै मञ्जुरी थियो । ऋषिको त्यो श्राप त केवल एउटा माध्यममात्र थियो । वास्तवममा पाण्डुको मृत्यु उनको आफ्नै अनियन्त्रित कामवासना र दिमागमा गढेको मृत्युको डरको एउटा दर्दनाक जैविक परिणाम थियो । बाँकी भिडियोमा...