
कार्यालय प्रमुख घुसकाण्डमा रङ्गेहात पक्राउ परेपछि रूपन्देहीको मालपोत कार्यालय नायब सुब्बाको भरमा चलेको छ ।
मालपोत अधिकृतद्वय कार्यालय आउन छाडेपछि मालपोत कार्यालय भैरहवामा नायब सुब्बा निमित्त कार्यालय प्रमुख तोकिएका हुन् ।
कार्यालय प्रमुख कुमार आचार्य यहीँ फागुन २१ गते काज सरुवा भएर साखु मालपोत कार्यालय गएपछि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी मालपोत अधिकृत भूमिश्वर ढकालले सम्हालेका थिए ।
गत शुक्रवार मालपोत कार्यलयका नायब सुब्बा धर्मराज पन्थी, नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठ लगायतका कर्मचारी घुसकाण्डमा अख्तियारको फन्दामा परेपछि निमित्त प्रमुखको जिम्मेवारी पाएका मालपोत अधिकृत ढकाल र अर्का मालपोत अधिकृत ईश्वरप्रसाद अर्याल कार्यालय आउन छाडेका छन् । अख्तियारको फन्दामा परिने डरले अधिकृतद्वय नै कार्यालय आउन छाडेपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले नायब सुब्बा दण्डपाणि न्यौपानेलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकेको हो ।
अधिकृत स्तरका कर्मचारी कोही नभएपछि गत आइतवार र सोमवार दिउँसोसम्म कार्यालयको सम्पूर्ण काम ठप्प थियो । सोमवार दिउँसो साढे १ बजेतिर विभागबाट निर्देशन सहितको पत्र आएसँगै न्यौपानेले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएर सेवा प्रारम्भ भएको हो तर सेवाग्राहीले पूर्ववत सेवा भने प्राप्त गरेका छैनन् ।
मंगलवार पर्याप्त कर्मचारी नहुँदा सेवा लिन आएकामध्ये झण्डै आधा सेवाग्राही फर्किएका थिए । विभागको पत्रमा उल्लेख छ, ‘मालपोत कार्यालय भैरहवामा कार्यालय प्रमुख र निमित्त कार्यालय प्रमुखसमेत अनुपस्थित भएको कारण सेवा प्रवाहमा समस्या हुनुको साथै सेवाग्राहीको काम नभएको भन्ने जानकारी आएकाले अर्को व्यवस्था नभएसम्मको लागि वरिष्ठ नायब सुब्बा दण्डपाणि न्यौपानेलाई निमित्त प्रमुख भई दैनिक तथा कामकाज गर्न आदेशअनुसार अनुरोध छ ।’
केही वर्षयता अस्वस्थ रहेका न्यौपानेलाई हरि घिमिरेले कम्प्युटरमा सघाएका छन् । कम्प्युटरबाट सबै काम भएपछि दस्तखत मात्र न्यौपानेले गरेर कार्यालयको गर्जो टारिएको छ । अधिकृत स्तरका कर्मचारी नहुँदा फाइलको काम हुन नसकेको लेखापढी व्यवसायीले जानकारी दिए । सिद्धार्थ नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैडहवा गाउँपालिका र देवदह तथा तिलोत्तमा नगरको केही वडा समेत कार्य क्षेत्र भएको मालपोतमा दैनिक ३ सय जनाभन्दा बढी सेवाग्राही आउने गर्छन् ।
कार्यालयमा १ जना कार्यालय प्रमुख, २ जना अधिकृत, १९ जना नायब सुब्बा, ५ जना खरिदार, ६ जना सहायक, ३ जना कम्प्युटर अधिकृत र १ जना सवारी चालकको दरबन्दी छ तर शुक्रवार मालपोत कार्यालयका नायब सुब्बा धुर्मराज पन्थी, नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसँगै घुसकाण्डमा अख्तियारद्वारा पक्राउ परेपछि कार्यालयका अधिकृत र कतिपय सुब्बा कार्यालय नै आएका छैनन् ।
शुक्रवारदेखि अधिकृतद्वय ढकाल र अर्याल सरुवाका लागि भन्दै काठमाडौंतिर गएको बताइएको छ तर न्यौपानेले यो विषयमा आफूलाई दुवै अधिकृतले जानकारी नगराएको बताए ।

अस्वस्थताको बाबजुत न्यौपानेले जिम्मेवारी सम्हालेर कार्यालयको काम फुकाएपनि सेवाग्राहीले सबै सुविधा पाएका छैनन् । ‘मुद्दाबाहेक अन्य काम गर्न मिल्छ । मैले जनतालाई दुःख दिन हुन्न भनेर जिम्मेवारी लिएको हुँ । हाम्रा समस्या देखाएर जनतालाई दुःख दिने काम ठीक होइन भनेको छु । विभागले लिखित रुपमा काम गर्ने जिम्मेवारी दिएको छ । साथीहरूले सहयोग गरेमा कुनै समस्या हुँदैन,’ निमित्त प्रमुख न्यौपानेले भने ।
घुसकाण्डमा आफ्नो पनि नाम मुछिने डरले अधिकृत र अधिकांश सुब्बा, खरिदार बिदा लिएर हिँडेको बुझिएको छ । सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक–पटक घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले १७ लाख नगदसहित ६ जनालाई भैरहवा बसपार्क नजिकैबाट पक्राउ गरेको थियो ।