
किशोर पहाडी
हतार हतार पवन एम्बेसीतिर कुदयो । कुदयो मतलब आफ्नो कार लिएर कुदयो । अमेरिकामा मानिस त्यति हिंडदैनन् ।
एम्बेसी पुगेपछि त्यहाँ रहेका अधिकृतसँग पवनले भन्यो – "सर मलाई भिसा चाहियो नेपाल जान । "
अधिकृतले उसलाई भर्न एउटा फाराम दियो । पवनले त्यो भरेर अधिकृतलाई बुझाएपछि अधिकृतले पवनलाई भोलि छाडी पर्सि सम्पर्क राख्नका लागि भन्यो ।
फर्कंदा कार हाँक्दै पवनले हिसाब गर्यो – ऊ नेपाल नगएको त साढे ६ वर्ष भइसकेछ । आमालाई फोन नगरेकै ६ महिना भएछ । ६ महिनाअघि दशैँमा फोन गरेर दशैं खर्च पठाएथ्यो त्यसपछि फोन गरेको छैन । फूर्सदै हुँदैन ।
काम, काम र काम – जति घण्टा काम गर्यो त्यति धेरै डलर आउँछ । त्यही काम र डलरले गर्दा नै दुई वर्षअघि आफूलाई अत्यधिक माया गर्ने काकाको निधन हुँदा पनि नेपाल गएन ऊ । अमेरिकामै कपाल खौरेर काकाको शोक मनायो उसले । फूर्सदै हुँदैन ।
अमेरिकामै रमेर उसले नेपाल र नेपालका सबै आफन्तलाई नजाँनिदो किसिमसँग बिर्सेको थियो । आमाको स्वास्थ्य सम्बन्धि सोधपुछ त नियमित गर्नु पर्ने हो – तर फूर्सदै छैन । आमाको रेखदेख नेपालमै कलेज पढ्दै गरेको भाइ मनोहरले गर्ने गर्थ्यो उसैलाई महिनाको सय दुई सय डलर पठाइदिएपछि पवनले आमालाई फोन गर्न पनि बिर्सने गर्दछ । फूर्सदै छैन ।
अहिले त उसलाई जसरी हुन्छ नेपाल जानु नै छ । अमेरिकालाई कोरोना भाइरसले खर्लप्पै निलेको छ । डिपार्टमेन्ट स्टोर वालमार्ट रित्तो भइसक्यो । चकलेट बाहेक केही पाइंदैन । चामल, दाल ट्वाइलेट पेपर जम्मै सिद्धिएर बेहाल छ । सिसीको पानी पनि किन्न पाइंदैन । किचनको पाईपमा आउने पानी तताएर पिउनु परिरहेछ । डलर त छ नि टन्न कमाएको तर के गर्नु कागजको डलर खाएर पेट भर्न मिल्दैन ।
उता नेपालमा कोरोना भाइरसको संक्रमण कम छ । जनजीवन यति धेरै बिग्रेको छैन भन्छन् । त्यसैले पवनलाई जसरी हुन्छ नेपाल जानु नै छ ।
पवनले एटलान्टिक स्ट्रीटस्थित आफ्नो निवासस्थान पुगेर कारलाई ग्यारेजभित्र टक्क अडायो । कारबाट निस्केर सिधै कोठामा पुग्यो र थचक्क सोफामा बस्यो । अनि खल्तीबाट फोन झिकेर आमालाई फोन गर्यो ।
आमाले फोन उठाइन् ।
आमाको परिचित आवाज सुन्नासाथ पवन बेसहारा मान्छेले सहारा पाएझैँ चिच्यायो – "आमा ! म आउँदैछु । "
"कहाँ ?" आमाको उदास आँखा धपक्क बल्यो ।
"नेपाल, आमा ! म केही महिना नेपाल बस्न आउँदैछु । "
आमाको आँखा खुशीले झन् उज्यालो भयो । छोरोले मलाई कति सम्झिरहेको रहेछ भनेर आमा खुशी भइन् । आँखा भित्तामा रहेको आफ्ना मृत पतिको तस्वीरतिर गयो । पवनको अनुहार उसको बावुसँग ठ्याक्कै मिल्छ ।
"ल जाउँ जाउँ । " भन्दै स्ट्रेचरमा सुतेकी बिरामी आमालाई घरको ढोकामा अड्याइएको एम्बुलेन्सभित्र राखेर कान्छो छोरो मनोहरले एम्बुलेन्सको ढोका ढ्याक्क बन्द गर्यो । अमेरिकासंगको फोन त अघि नै सम्पर्क विच्छेद भइसकेको रहेछ ।
** ** **
अफलडोल, ललितपुर