१४ असार २०८३, आइतबार

कोरोना ‘लकडाउन’ले काजकिरियामै समस्या, भाइको किरिया बसेका दाइ सुर्खेतमा अलपत्र

चैत १७, २०७६
कोरोना ‘लकडाउन’ले काजकिरियामै समस्या, भाइको किरिया बसेका दाइ सुर्खेतमा अलपत्र

दैलेखको आठबीस नगरपालिका–१ सात्तालाका देउमले कामीका भाइ पहरे कामीको भारतको महाराष्ट्रमा गत २३ मार्चमा निधन भयो ।

मृतक पहरेका ३ दाइभाइ देउमले, हर्क र प्रेम कामी उत्तराखण्डको हल्द्वानीमा काम गर्थे । भाइको मृत्युपछि कामी परिवारले हल्द्वानीमा नै काजकिरिया गर्न खोजे तर भारतीयले स्वदेश नै जान दबाब दिए ।

‘भारत सरकारले लक–डाउन गरिसकेको थियो । त्यहाँ हाम्रा धेरै आफन्त भएका कारण राति कुर्न आउने चलन भएका कारण भीड बढ्न थाल्यो,’ मृतकका दाइ देउमलले भने, ‘भारतमा कोरोनाको त्रास अत्यन्तै बढी भएको र काजकिरिया समेत गर्न नपाउने अवस्था आएपछि भारत सरकारसँग हारगुहार गरेका थियौं । एम्बुलेन्स रिजर्ब गरेर हामी कञ्चनपुरको गड्डाचौकीसम्म आयौं ।’

गड्डाचौकी पुगेपछि प्रदेश सरकारको पहलमा सुर्खेतको वीरेन्द्रनगरसम्म ल्याइयो । ‘अन्य समयमा ७५० रुपैयाँ प्रतिव्यक्ति भाडा लाग्नेमा १ हजार ५०० रुपैयाँ प्रतिव्यक्ति तिरेर वीरेन्द्रनगर आयौं,’ उनले भने, ‘अहिले हामीलाई वीरेन्द्रनगरको अशोका होटलमा राखिएको छ, खान–बस्न राम्रै छ तर काजकिरिया गर्ने समय बित्दै गएको छ । आज हामीलाई घर फर्कन दिइएन भने घर जानुको कुनै अर्थ छैन । सुमेरु पर्वत बनाएर बासी पिण्ड दिने दिन आजै हो । भाइ बितेको ७ दिन भएको छ । कसैले हामीलाई गाउँ जाने वातावरण मिलाइदिएको भए अत्यन्तै आभारी हुने थियौं ।’

उनका भतिजा पदमसिंह विश्वकर्माले गाउँमा वडाले बनाएको क्वारेन्टाइनमै बसेर भएपनि अंकलको काजकिरिया गर्न चाहेको बताए । ‘हामीलाई थाहा छ कोरोना कति डरलाग्दो रोग हो भन्ने कुरा । हामीले अहिलेसम्म जाँच गराइरहेका छौं । कुनै लक्षण देखिएको पनि छैन,’ उनले भने, ‘मात्र सदगद गर्न पाएको भए हुन्थ्यो । बरु त्यसका लागि गाउँमा रहेको क्वारेन्टाइनमै हामी बस्छौं । कसैलाई छुदैनौं ।’

काजकिरिया गर्न भारतबाट गाउँ फर्किएको टोली सुर्खेतमै अलपत्र परेको छ । कोरोना ‘लकडाउन’का कारण उनीहरू घर जान पाएका छैनन् ।

आठबीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले कामी परिवारलाई सात्ताला फर्काउन पहल भइरहेको बताए । ‘जिल्ला प्रशासन कार्यालय दैलेखसँग हामीले कुराकानी गरिसकेका छौं । सकेसम्म आजै उहाँलाई यहाँ ल्याउँछौं,’ उनले भने ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले पनि समस्यामा परेका ती चारै जनालाई आठबीसतर्फ पठाउने बताए । ‘यसका लागि आवश्यक पहल भइरहेको छ,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्