०९ असार २०८३, मंगलबार

थन्किए कोभिड १९ परीक्षण गर्ने २ पीसीआर मेसिन, कतै अभाव कतै प्रयोगविहीन

बैशाख ७, २०७७
थन्किए कोभिड १९ परीक्षण गर्ने २ पीसीआर मेसिन, कतै अभाव कतै प्रयोगविहीन

प्रदेश ५ को भैरहवामा गएको चैत २० गतेदेखि कोभिड—१९ (कोरोना भाइरस) का जाँच शुरू गरियो । कोरोना जाँचलाई अझै तीव्र बनाउँदै धेरैको जाँच गर्नका लागि निजी क्षेत्रले चैत २८ र २९ गते पीसीआर जाँच गर्ने मिल्ने मेसिन प्रदेश सरकारलाई हस्तान्तरण गरे ।

तर, कोरोना परीक्षण गर्ने मेसिन प्रयोगमा आउन सकेका छैनन् । दैनिक २ सय जनाको स्वाब (र्‍याल र खकार) जाँच गर्ने गर्ने लक्ष्यका साथ प्रयोगशालामा पुर्‍याइएका मेसिनलाई आवश्यक पर्ने सहायक उपकरण उपलब्ध छैनन् । 

कृषि अनुसन्धान परिषद्अन्तर्गत बीऊविजन प्रविधि महाशाखा खुमलटारमा रहेको रियल टाइम पीसीआर मेसिन कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको पहलमा प्रदेशलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै बुटवलको नेशनल प्याथ ल्याबले पनि कोरोना जाँच गर्न सहज होस् भनेर प्रयोगशालाका लागि मेसिन हस्तान्तरण गरेको थियो ।

प्रदेश जनस्वास्थ प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले मेसिनका लागि आवश्यक सामग्री आउन ढिलाइ हुँदा प्रयोगमा ल्याउन नसकिएको बताए ।

‘हामीलाई हस्तान्तरण गरिएका दुई मेसिनले अहिलेसम्म कोभिड जाँच गरेका होइनन,’ डा. गिरीले भने, ‘मेसिनलाई रन गर्ने सहायक उपकरणहरूको अभाव हुँदा प्रयोगमा ल्याउन ढिलाइ भएको हो । हामीले मगाएका छौं । एक दुई दिनभित्र आउँछन । त्यसपछि उपलब्ध गराइएका मेसिनबाट जाँच गछौं ।’

उनले थपे, ‘मेसिन जडानका लागि सहायक सामाग्री संकलन गर्नेदेखि लिएर प्राविधिक कर्मचारी व्यवस्थापनको काम भैरहेकोको छ ।’

प्रदेश सरकारलाई मेसिन हस्तान्तरणका क्रममा नेशनल प्याथ ल्याबका सञ्चालक सरद भसालले आवश्यक परे मेसिन सञ्चालनका लागि जनशक्ति समेत उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका थिए ।

भैरहवाको कोरोना जाँच गर्ने मेसिनले पनि सुस्त काम गरिरहेको छ । मुख्यमन्त्री शंकर पोखरेलले जाँचको दायरा बढाउन आग्रह गरेका छन् । आरटी पीसीआर मेसिन आत्याधुनिक मेसिन हो । मेसिनले एक पटकमा ९६ वटा परीक्षण गर्न सक्ने ल्याब टेक्निसियनहरू बताउँछन ।

सो उपकरणमा ९६ स्वाब परीक्षण गर्न पाँच घण्टासम्म लाग्ने गर्छ । प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशलाई उपलब्ध गराइएका मेसिनमा उपकरणहरूको कमी रहेकाले सञ्चालनमा ढिलाइ भएको बताए ।

‘काठमाडौं आएको पीसीआर मेसिनमा सेन्ट्रिफयुज भन्ने उपकरण रहेनछ । बुटवलबाट दिइएको मेसिन ठीक छ । दुई मेसिन छिटै सञ्चालन गछौं,’ मन्त्री बरालले लोकान्तरसँग भने ।

पीसीआर जाँचमा बढाउनुपर्ने प्रयोगशालामा त्योभन्दा कम विश्वसनीय आरडीटीबाट जाँच गरी क्वारेन्टाइनमा रहेकालाई धमाधम घर पठाइँदै छ । पीसीआर जाँच ढिलाई र सुस्त छ भने, धमाधम आरडीटीबाट जाँच गरेर क्वारेन्टाइनमा रहेकालाई घर पठाउँदा जोखिम बढेको छ ।

प्रदेश पाँचमा तीन ठाउँमा कोरोना जाँच गर्ने प्रदेश सरकारले तयारी छ । भैरहवासँगै नेपालगञ्ज र दाङमा कोरोना गर्ने प्रदेश सरकारको तयारी छ । नेपालगञ्जमा आइतबारदेखि जाँच शुरू गर्ने बताइको छ । तर, दाङमा अझै सुरसार छैन । जसले गर्दा प्रदेशभरिको स्वाब रुपन्देही ल्याउनुपर्ने बाध्यता छ ।

भैरहवामा हालसम्म पीसीआरबाट १ सय १४ जनाको जाँच गरिएको छ । सबैको रिर्पोट 'नेगेटिभ' आएको छ । त्यस्तै प्रदेशका १२ वटै जिल्लामा आरडीटीबाट २ हजार १ सय ९६ जनाको जाँच गरिएको छ । प्रदेश पाँचका सबै जिल्लामा गरी २५ सय ९ जना क्वारेन्टाइनमा बसेका थिए । जाँच आरडीटीबाट जाँच गरेकालाई एक हप्ता घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ । 

भैरहवाको प्रयोगशालमा ५ जना ल्याब टेक्निसियनहरू छन । दुई जना गुल्मी र पश्चिम नवलपरासीबाट बिएमएलटीलाई मगाइएको छ ।  जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. गिरीका अनुसार शुक्रवारसम्म १ सय २६ स्वाब संकलन भएकोमा १ सय ८ को रिर्पोट नेगेटिभ आएको र अन्य स्वाव परीक्षण कार्य भैरहेको छ ।

यो मेसिनले दैनिक सरदर १२ वटा परीक्षण गर्दै आएको छ । सरकारले जति सुकै छिटो छरितो काम गर्ने भनेपनि काम गर्ने निकायबाट हुने ढिलासुस्तीले सरकारको आलोचना बढ्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्