१२ साउन २०८३, मंगलबार

सेतीमा ५ जनामध्ये ४ जनाको कोरोना संक्रमण निको, ‘स्थानीय’ संक्रमित महिला उपचाररत

बैशाख ११, २०७७
सेतीमा ५ जनामध्ये ४ जनाको कोरोना संक्रमण निको, ‘स्थानीय’ संक्रमित महिला उपचाररत

सेती प्रादेशिक अस्पताल धनगढीमा अब १ जना मात्रै कोरोना भाइरस संक्रमित बिरामी निको हुन बाँकी रहेका छन् ।

बिहीवार १ जना थप गरी ४ जना संक्रमित उपचारपछि घर फर्किएपछि अब १ जना मात्रै उपचारको क्रममा रहेका छन् ।

उपचारको क्रममा रहेकी धनगढी उपमहानगरपालिका–५ की ३४ महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उपचाररत महिलामा कोरोनाको ‘स्थानीय’ संक्रमण रहेको छ । देवरबाट उनमा कोरोना संक्रमण भएको थियो ।

बिहीवार लम्कीचुहा नगरपालिका–१ की ६५ वर्षीया महिलाको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २ पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनी वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी थिइन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो । उनीसँगै निको हुनेको संख्या ४ जना पुगेको छ ।

बुधवार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–९ का ४० वर्षीय पुरुष घर फर्किएका छन् । कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत उनी डिस्चार्ज भएपछि घर फर्किएका थिए ।

११ जनाको समूहमा भारतको उत्तराखण्डबाट कञ्चनपुरको ब्रह्मदेव नाका हुँदै नेपाल प्रवेश गरेका उनलाई चैत १४ गतेदेखि बेदकोट नगरपालिका–९ स्थित कृषि पाइलट फर्मको क्वारेन्टाइनमा राखिएको थियो । कोरोना पुष्टि भएपछि चैत्र २२ गते उपचारको लागि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

वैशाख ९ गते धनगढी उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनी २९ दिनपछि घर फर्केका हुन् ।

उनी चैत ७ गते दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौंबाट नेपालगञ्ज जहाजमा र त्यसपछि बस, अटोरिक्सा हुँदै चैत ८ गते घर पुगेका थिए ।

दुबईमा पनि बिरामी परेका उनलाई कोरोनाको जस्तै लक्षण देखिएपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको थ्रोट स्वाबको रिपोर्ट चैत १४ गते पोजेटिभ आएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

कैलालीकै लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय पुरुष १६ दिनपछि घर फर्किसकेका थिए । भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई वैशाख ७ गते डिस्चार्ज गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्