
छविरमण सिलवाल
चलिरहेको घण्टाघरको सुई
एकाएक रोकियो भने के हुन्छ ?
बगीरहेको समुन्द्र
अचानक रोकियो भने
त्यो पानी कता जान्छ ?
चलिरहेको हावा
केही क्षण रोकियो भने के हुन्छ ?
ताप दिएर उज्यालो बाढेको सूर्य
एक्कासी पृथ्वीमा
झर्यो भने के हुन्छ ?
तीन भाग पानीमा अडेको
यो पृथ्वी,
पानीमा चुर्लुम्म डुब्यो भने के हुन्छ ?
यो हामीले कल्पना मात्र गर्ने हो
तर,
प्रकृतिले भने आफ्नो धर्म छोडेको छैन्
मान्छे भने,
सधैँ प्रकृतिसँग जोरी खेलीरहेका हुन्छन्
यतिबेला मान्छेको अहम् र घमण्डको नापन गर्ने
मिटरले पनि धान्न सक्त्तैन होला ?
तर, पनि यहाँ,
घडि चलिरहेकै छ
हावा चलिरहेकै छ
सूर्यको गति कम भएको छैन्
पानी प्यास मेटाउँदैँ बगिरहेको छ
तर, मान्छेको अहम् भने
अझैँ बढ्दो छ
आत्मा र परमात्मा नचिन्ने भएको छ
ऊ, यति व्यस्त छ कि
पेटको लागि काम गर्छ
र, कैयौं पेटलाई भोकै राख्छ ?
समयले उसलाई यसरी पछारी रहेको छ कि
उसले लाखौं लगाएर बनाएको सुन्दर महल
कैदखानामा परिवर्तन भएको
उसले थाहै पाउँदैन् ।
आफ्ना व्यस्तता रोकिएको थाहै पाउँदैन
ऊ, जस्ता कैयौं मान्छेका
काख रित्तिएको उसले मजाक ठान्छ
मान्छेका गाँस, बाँस,
जीवन र बाँच्ने अधिकारको खिल्ली उडाउँछ
तैपनि, ऊ,
अहम्को पहाड चढिरहेको छ
मान्छेको अहम्को अगाडि
कोरोना कहर पनि
फिक्का फिक्का जस्तो लाग्छ ।