प्रदेश पाँचमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र भएर प्रयोगशालामा स्वाब (थुक र खकार) थुप्रिएपछि तीन वटा पीसीआर मेसिन ल्याउन लागिएको छ । कोरोना संक्रमण थाहा पाउने सबैभन्दा भरपर्दो विधि पीसीआर जाँचलाई मानिएको छ । प्रयोगशालाले स्वाबको लोड धान्न नसकेपछि प्रदेश सरकारले नयाँ मेसिन थप्न लागेको हो ।
प्रदेशले भैरहवा, बुटवल र दाङमा तीन वटा पीसीआरर मेसिन थपेर जाँच बढाउने तयारीमा जुटेको हो । अहिले रुपन्देहीको भैरहवा गहुँबालीस्थित प्रदेशजनस्वास्थ्य, प्रयोगशाला, भेरी अस्पताल बाँकेमा र दाङस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा गरी तीन स्थानबाट पीसीआर जाँच भइरहेको छ ।
प्रदेश पाँच सामाजिक विकास मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले कोरोना आंशकित व्यक्तिको स्वास्थ्य जाँचको अनुपात बढाउन तीन वटा थप मेसिन ल्याउने प्रक्रिया अगाडि बढेको बताए ।
डा. चौधरीले भने, ‘तीन वटा मेसिनमध्ये लुम्बिनी प्रादेशिक अस्पतालमा राखिने मेसिन आइसकेको छ । अन्य दुई वटा आउने प्रक्रियामा छन् । तिमध्ये एउटा भैरहवाका जनस्वास्थ्य प्रयोगशालामा राखिने छ । भने, अर्को प्रादेशिक अस्पताल दाङमा राखिने छ ।’
अहिले प्रदेश सरकारले प्रयोगशालाका लागि आवश्यक पूर्वाधार, प्राविधिक जनशक्ति र मेसिन एसेसरिज जुटाउन लागेको छ । प्रादेशिक अस्पतालका राखिने पीसीआर मेसिनले एकहप्ताभित्रै सञ्चालनमा आउनेछ ।
अहिले प्रदेश पाँचमा दैनिक औषतमा तीन सय स्याम्पल जाँच मात्र हुने गरेको छ । मेसिन थप भएपछि स्वाब टेष्ट दैनिक ६ सय पुग्नेछ । स्वाब धेरै मेसिन कम हुँदा अहिले प्रदेश पाँचमा स्वाब संकलनको रिर्पोट एकसातादेखि १० दिनमा मात्र आउँछ । प्रयोगशालामा अहिले स्वाब थुप्रिदा संक्रमणबाट मृत्यु भएकाको रिर्पोट पनि ढिलाई हुँदा शव व्यवस्थापनमा समेत समस्या हुँदै आइरहेको छ । प्रयोगशालाबाट स्वाबको रिर्पोट ढिलो आउँदा क्वारेन्टाइनमा बसेका संक्रमित व्यक्तिहरुबाट अन्यमा संक्रमण फैलिन थालेको छ ।
भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले प्रयोगशालामा एक हजार स्वाब थुप्रिएको जानकारी दिए । ‘हामीकहाँ अहिलेसम्म ५ हजार ८ सय २७ स्वाब आएकामध्ये ४ हजार २ सय ५० को नेगेटिभ ४ सय ८८ पोजेटिभ र अझै एक हजार स्वाब जाँचको प्रक्रियामा छन् ।’

उनले नयाँ मेसिन एक हप्ताभित्र आउने आफूहरुलाई जानकारीमा आएको बताए । ‘नयाँ मेसिन आएपछि हामीले चारदेखि पाँच दिनभित्र रिजल्ट दिन सक्छौ,’ डा. गिरीले भने ।
शनिवारसम्म प्रदेशका ७ हजार ७ सय स्वाब परिक्षण गर्न बाँकी छ । दाङको प्रयोगशालामा ३ हजार ९ सय, भैरहवामा एक हजार, बाँकेमा एक हजार स्वाबले परिक्षणको पर्खाइमा छन् । बाँकी स्वाबलाई प्रदेश बाहिर काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पोखरा र हेटौंडामा परीक्षणको लागि पठाइएको छ ।
प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २१ जना रहेका छन् । त्यसमध्ये सबैभन्दा धेरै कपिलवस्तुमा ६ सय ८ पुगेको छ । प्रदेश पाँचमा क्वारेन्टाइनमा ९ हजार ६ सय ८५ जना छन् । आइसोलेसनमा ९ सय ६७ जना छन् । प्रदेशका १२ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रदेशमा पहिलो संक्रमण बैशाख १९ गते रुपन्देही र बाँकेमा एकसाथ देखिएको थियो ।

प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरिएको अस्पतालका अध्यक्ष सुर्यबहादुर भटटराईले जानकारी दिए । तर, परीक्षण सुरु हुन भने अझै एकसाता लाग्ने छ । प्रदेश सरकारको ६० लाख रुपैयाँ आर्थिक सहयोग र अस्पताल विकास समितीले बाँकी रकम लगानी गरेर एक करोड ३० लाख रुपैयाँमा उपकरण ल्याइएको हो ।
अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको परीक्षण नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु जोखिममा परेपछि अस्पताल विकास समितिको पहलमा पीसीआरर जाँच मेसिन ल्याएको हो । मेसिनले अस्पतालको ओपिडीको ज्वरो क्लिनिकमा आउने विरामीको समेत पीसीआरर जाँच गरिने छ ।