
पोखरामा ५ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये २ महिला हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो ।
संक्रमितमध्ये वर्ष १९ का दुई जना पुरुष र वर्ष ४१ का एक जना पुरुष छन् । दुई महिला वर्ष ३० र ५६ का हुन् ।
यस्तै, कास्कीको रुपा गाउँपालिकामा ४५ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्लामा योसहित १३ जनामा कोरोना संक्रमण देखिएकोमा १ जना निको भइ घर फर्केका छन् ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २४ नयाँ संक्रमित फेला परेका छन् । योसहित प्रदेशमा कुल संक्रमित संख्या ३ सय ४८ पुगेको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका सबैजना भारतबाट आई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दैआएका थिए ।
प्रदेशमा हालसम्मकै उच्च संक्रमण देखिएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा शुक्रबार वर्ष २० र २८ का पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै, बागलुङमा १४ नयाँ संक्रमित भेटिएका छन् । जिल्लाको गल्कोट नगरपालिकाका २ महिलासहित ८ र काठेखोला गाउँपालिकाका ६ जना पुरुष छन् ।
गल्कोटका वर्ष १९, २२, ३०, ३५, ३८ र ४५ वर्षका पुरुष र वर्ष २० र ४२ महिलालाई कोरोना देखिएको हो भने काठेखोलाका वर्ष २९ का २ जना पुरुषसहित २०, २२, २३ र २४ का पुरुष छन् ।
स्याङ्जामा समेत शुक्रबार नै २ जना पुरुषमा संक्रमण देखिएको छ । कालिगण्डकी गाउँपालिकाका वर्ष ३६ सहित ठेगाना नखुलेको ६३ वर्षीय अर्का पुरुषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक सबै जिल्लामा कोरोना फैलिएको छ । हिमालपारीको जिल्ला मनाङमा समेत बिहीबार कोरोना पुष्टि भएको थियो ।
नेपालमा कोरोना संक्रमण देखिएको ४ महिनासम्म मनाङ र मुस्ताङमा संक्रमित देखा नपरेकोमा मनाङ भने अब चोखो रहेन । गण्डकीमा ११ मध्ये यसरी १० जिल्लामा संक्रमण फैलिन पुगेको छ । बिहीबारमात्रै सबैभन्दा उच्च ७७ जनामा कोरोना देखिएपछि उच्च सतर्कता अपनाइएको छ । गण्डकीमा कुल संक्रमितमध्ये हालसम्म २१ जना निको भएका छन् भने १ जनाको ज्यान गएको छ ।
