
वाग्मती प्रदेशसभाको अपराह्न बसेको दोस्रो बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिबाट पारित गरिएको छ।
आइतबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टलले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
सोही बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रहरी विधेयक पारित गरिएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनका साथै सरुवा र बढुवालगायत अधिकार प्रत्यायोजित गर्ने सन्दर्भमा मार्ग सहज भएकामा खुशी व्यक्त गरे।
प्रदेशसभाका सभामुख सानुकमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक भोलि साउन ६ गते दिनको २ः०० बजे बस्ने जानकारी दिए।