१२ असार २०८३, शुक्रबार
नेकपा विवाद

डिफेन्सविनाको अट्याक !

साउन ७, २०७७
डिफेन्सविनाको अट्याक !
हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा खेलिएको च्यारिटी फूटबलको फाइल तस्वीर (संयोजन) : सौजन्य– प्रदीपराज वन्त

पछिल्लो केही महिनायता सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दुई गुटको फूटबल खेल चलिरहेको छ । खेल विधि, विधान र नियम संगत चलेको त छैन त्यही पनि बाहिरबाट हेर्दा समाधानको सूत्र (बल) कहिले यता कहिले उता गुडिरहेको छ ।

सञ्चारमाध्यमहरूमा आएका पछिल्ला राजनीतिक टिप्पणी र विश्लेषणमा 'बल फलानाको कोर्ट'मा भन्ने उक्ति सुन्न/पढ्न पाइन्छ । तर वास्तविक बल चाहिँ प्रधानमन्त्रीको रूपमा सत्ताको चाबी र पार्टी अध्यक्षका रूपमा पार्टीको चाबी बोकेर हिँडेका केपी शर्मा ओलीले आफ्नै खुट्टामा लिएर हिँडेका छन् र बेलाबेलामा विपक्षीको पोस्टमा गोल गरिरहन्छन् ।

पछिल्ला केही राजनीतिक घटनाक्रमलाई खेलसँग जोड्ने हो भने- ओलीले कहिले दल विभाजन खुकुलो हुने अध्यादेश ल्याएर विपक्षीलाई मर्माहत पार्छन्, कहिले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याउँछन्, कहिले संसद्को अधिवेशन अन्त्य गरेर विपक्षी तर्साउँछन् भने कहिले अर्ली महाधिवेशनको प्रसंग ल्याएर विपक्षी टीमलाई तहस-नहस पार्छन् ।

८ लाख पार्टी कार्यकर्ताले टिकट काटेरै (लेबी बुझाएर) यी दुई टीमको 'अनफेयर प्ले' हेरिरहेका छन् ।

नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा अर्को पक्षले मागिरहेको छ, जसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल जस्ता नेताहरू छन् । यी तीनै पूर्व प्रधानमन्त्री पनि हुन् । फूटबलको भाषामा भन्ने हो भने तीन धुरन्धर स्ट्राइकर ।

फूटबल यस्तो खेल हो जहाँ शारीरिक मेहनतले मात्र जित्न सकिन्न, रणनीति पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । एउटा कम्प्लिट टीम बन्नका लागि गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकरको राम्रो संयोजन चाहिन्छ ।

टीमका पछाडि एउटा मास्टर माइन्ड हुन्छ, जसलाई हामी कोच (प्रशिक्षक) भनेर चिन्छौँ । कोचले नै फूटबलमा परिस्थिति र प्रतिस्पर्धी हेरेर रणनीति तय गर्छ, जसलाई सिंगो टीमले मैदानमा उतार्छ ।

फूटबलमा सबैभन्दा महत्त्वपूर्ण स्थान रणनीतिको हुन्छ । कहिलेकाहीँ मेस्सी, रोनाल्डोको टीम पनि अन्य सामान्य टीमसँग हार्छ, कारण त्यो दिन रणनीतिमा ऊ कमजोर ठहरिन्छ ।

एक सय एक स्ट्राइकर भएपनि डिफेन्सिभ रणनीतिमा चुक्यो भयो भने कमजोर टीमले समेत 'काउन्टर अट्याक' गरी गोल हान्दिन्छ । स्ट्राइकरहरू हेरेको हेर्‍यै हुन्छन् र मनोवैज्ञानिक रूपमा कमजोर पनि ।

नेकपामा अहिले भएको छ ठ्याक्कै त्यस्तै, कोच नै भनेर कोही व्यक्ति त छैन, तर अनुभवी स्ट्राइकरहरू आफ्नो रणनीति आफैं तय गर्छन् ।

प्रचण्ड, झलनाथ, माधवरूपी तीन स्ट्राइकरले बल पोस्टतिरै पुर्‍याउँछन्, गोल हानिहाल्छन् कि जस्तो पनि लाग्छ, तर त्यहीँबाट बल खोसिन्छ र अर्को टीमका स्ट्राइकर (केपी ओली)ले काउन्टर अट्याकमा जाली चुमाउँछन्, कहिले अध्यादेश, कहिले वामदेव कार्ड, कहिले अर्ली महाधिवेशन त कहिले जबजका रूपमा ।

नेकपाको फूटबल मैदानमा ओली आजसम्म हारेकै छैनन्, बरु अर्को पक्ष बल अगाडि बढाउनुअघि काउन्टरमा गोल खाइएला कि भनेर त्यसविरुद्ध रणनीति बनाउन चुकेको देखिन्छ ।

'राजीनामा' भनेर चिच्याउँदै प्रचण्ड-नेपालले ओलीको गोल पोस्टनजिक पुर्‍याएको बललाई धेरैपटक ओलीले खोसेका छन्, खोसेका मात्र छैनन् फर्काएर गोल नै ठोकेका छन् ।

ओली पक्षको डिफेन्स राम्रो देखियो - विश्लेषक श्रेष्ठ

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले ओली पक्षको डिफेन्स दमदार भएको टिप्पणी गरेका छन् । हामीले उनलाई प्रचण्ड-नेपाल टीमले गोल किन गर्न नसकेको भनी उनलाई प्रश्न सोधेका थियौं ।

जवाफमा श्रेष्ठले भने - 'ओली पक्षले आफ्नो डिफेन्स राम्रो गरिरहेको छ । प्रचण्ड-नेपाल टीममा तीन नेता मिलेको देखिएपनि टीमका अन्य संरचना राम्रो छैन । जतिबेला पनि राजीनामा मागिरहने तर राजीनामा नआउनुको एउटै कारण हो विधि र पद्धतिमार्फत् खेल नाखेलिनु ।'

उनले प्रचण्ड-नेपाल समूहले पनि विधि र पद्धतिबाहिर रहेर खेल खेलिरहेको आरोप लगाए । 'वान टू वान वार्ता गरेर पनि समस्या समाधान हुन्छ र ?' श्रेष्ठको प्रश्न थियो, 'स्थायी कमिटीबाट समाधान खोज्नुपर्‍यो । त्यहाँबाट भएन भने केन्द्रीय कमिटीमा जानुपर्‍यो । पद्धति भनेको त्यही हो नि !'

एउटाले अर्काको अस्तित्व स्वीकार नै गर्न नसक्नेहरूले वान टू वान गरेर समस्याको समाधान हुन नसक्ने उनले ठोकुवा गरे ।

श्रेष्ठले भने, 'राजीनामा किन मागिएको छ ? माग्नासाथ दिन आवश्यक छ कि छैन, त्यो पनि हेर्नुपर्‍यो । यो कुरा स्थायी र केन्द्रीय कमिटीमा लैजाने हो भने धेरैको बुद्धिले एकैसाथ काम गर्न सक्थ्यो, र खेलको नियम मिचेर स्वेच्छाचारी ढंगले बल लिएर हिँडिरहेका ओलीलाई रोक्न सकिन्थ्यो । खेलमा न नियम छ, न पद्धति छ यत्तिकै गोल किन भएन भनेर प्रचण्ड-नेपाल समूहले रोइकराई गर्नुको कुनै औचित्य छैन ।'

रामचन्द्र पौडेलको झल्को !

कुन टीम कस्तो भनेर हामीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई सोधेका थियौं । उनले आफूले फूटबलको भाषा त्यत्ति नजान्ने तर नेकपाको खेलले जग चाहिँ हँसाएको प्रतिक्रिया दिए । 'यतापट्टिको टीम (प्रचण्ड-नेपाल)ले हप्तौंसम्म त्यही एउटा राजीनामाबाहेक केही देखेका छैनन् । त्यो देख्दा यतिबेला मैले रामचन्द्र पौडेल १७ पटक प्रधानमन्त्रीमा हारेको घटना सम्झिरहेको छु,' उनले भने ।

उनले पछिल्लो विवादमा ओली बढी जिम्मेवार रहेको आफूले महसूस गरेको बताए । 'पछिल्लो विवादको जिम्मेवार ओली नै देख्छु म त,' केसीले भने, 'ओलीलाई आफ्नै साथीहरूले प्रधानमन्त्री बनाए, पार्टी अध्यक्ष बनाए र सहयोग गरे । अहिले उनले पार्टीभित्र राय सुझाव मान्न छाडेका छन् ।'

खेल नियमसंगत छ त भन्ने प्रश्नमा केसीले थपे - 'राजनीतिमा खेलको नियम भनेको विचार र सिद्धान्त नै हो । नियम नै नमानेपछि गोल जसले जता हाने पनि भयो । रेफ्री छैनन्, हुनुपर्ने रेफ्रीहरू पनि आफैं बल लिएर पोस्ट तिर हिँड्छन् ।'

उनले नेकपाको विवाद अन्त्यमा 'कहाँ जाउली सेखुली, त्यहीँ देखुली' हुने अनुमान पेश गरे। 'यिनीहरूले बेग्लाबेग्लै खिचडी पकाए पनि आफ्नो स्वार्थ पूरा गर्ने हुन्, देशको स्वार्थ पूरा गर्दैनन्,' केसीले थपे, 'यिनीहरूको पार्टी खासमा एक भएकै छैन, फुट्ने कुरा कहाँबाट आयो ?'

नियम बाहिरको खेलमा भएको गोल कसले मान्छ र ?

नेकपा केन्द्रीय कमिटीका सदस्य ठाकुर गैरेले नियमसंगत खेल नभएको अवस्थामा गरिएको गोल मान्य नहुने बताए । गैरेले लोकान्तरसँग भने, 'प्रधानमन्त्री ओलीले नियमभन्दा बाहिर रहेर खेल खेल्नुभएको छ, उहाँले गरेका गोलहरू आधिकारिक होइनन् ।'

अर्को पक्षले गोल गर्न सकेको खै भन्ने प्रश्नमा गैरे भन्छन्- 'गोल गर्न नसकेको देखिएको छ । के कारणले गोल भइरहेको छैन भनेर टीममा छलफल आवश्यक छ । यदि विचारलाई प्रधान मानेर खेल नखेल्ने हो भने गोल आत्मघाती पनि हुन सक्छ । पार्टी एकीकरण गर्दा स्थापित गरेको विधि र पद्धति मानेर खेल खेल्नुपर्छ ।'

उनले पार्टीभित्रको समस्यालाई मार्क्सवादी विधिबाट हल गर्नुपर्ने बताए ।

'अहिले पुष्पलाललाई नेता मान्ने सबै नेताहरू एकठाउँमा छन् । भन्नलाई पुष्पलालले भन्ने गरेको विधि र पद्धति मान्छौं भन्ने तर गर्नलाई एकलौटी गर्न खोज्ने हो भने समस्या निम्तिन्छ । समस्याको मार्क्सवादी हल खोज्नुपर्छ । मार्क्सवादले हरेक समस्याको समाधान बताएको छ,' गैरेले भने ।

उनले हिजो वरिष्ठ नेता माधवकुमार नेपाल अल्पमतमा परेर नोट अफ डिसेन्ट लेख्न हुने तर आज अल्पमतमा परेको अर्को पक्षले त्यो गर्न किन नहुने भन्दै प्रतिप्रश्न गरे । 'हिजो के आधारमा नेता नेपालको वरीयता माथि ल्याइयो र के आधारमा घटुवा गरियो ? के त्यो खेल नियमसंगत थियो त ? यी प्रश्नको उत्तरसँगै नेकपाको विवाद समाधान हुन्छ,' गैरेले भने ।

महाधिवेशन गोलपोस्ट हो, उहाँहरू त्यहीँ गोल गर्न आउनुपर्छ - नेम्वाङ

हामीले प्रधानमन्त्री ओलीनिकट मानिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग पनि सोधेका थियौं- 'प्रचण्ड-नेपाल समूहविरुद्धको फूटबलमा तपाईंहरू हावी हुनुको कारण के हो ? भनेर ।'

जवाफमा नेम्वाङले भने, 'गोलपोस्ट खडा नगरिकन गोल हान्न हिँडेपछि टीमले जित्ला त ? हामीले महाधिवेशनलाई गोल पोस्ट बनाउँ भनेका छौं । त्यहीं आउनुस् र गोल गरौं भनिरहेका छौं । पोस्ट नै नभएको ठाउँमा गोल हान्न खोजेर हुन्छ त ?'

उनले केन्द्रीय कमिटीकै बैठकले आगामी चैतमा महाधिवेशन गर्ने निर्णय गरेको स्मरण गरे ।

'हामी सबैको मान्यता भनेकै महाधिवेशनले सबै कुरा टुंगो लगाउँछ भन्ने हो,' उनले भने, 'गत केन्द्रीय कमिटी बैठकले पनि महाधिवेशन गरौं भनेर निर्णय गरेको छ । केन्द्रीय कमिटीको निर्णय केपी ओली र प्रचण्ड सबैको हो । खेलको नियम नै केन्द्रीय कमिटीले गरेको निर्णय हो । त्यसपछि हानेको गोल देश, जनता र पार्टीको पक्षमा हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्