२४ असार २०८३, बुधबार

महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम : संस्कृति र पहिचान सिकाउने लक्ष्य

महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम : संस्कृति र पहिचान सिकाउने लक्ष्य

काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।

सबै (संस्थागत र सामुदायिक) विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ । 

काठमाडौँ महानगरपालिकाले पहिलो पटक स्थानीय पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले कक्षा १ देखि ८ सम्म अध्यापन गराउन स्थानीय विषयको पाठ्यक्रम तयार पारेको छ ।  महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरूका लागि रहेका छन् ।  संस्थागत विद्यालयको संख्या ६ सय ४० छ ।

पाठ्यक्रममा महानगर क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौसल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय समावेश गरिएको छ । 

‘पाठ्यक्रम स्थानीय नेपालभाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ्यक्रम तयार गर्न महानगरपालिकाले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा. चुन्दा वज्राचार्यले भन्नुभयो, ‘ नेपालभाषामा तयार गरिएको पाठ््यक्रम महानगरपालिकाको शिक्षा समितिबाट पारित हुने चरणमा छ । पाठ्यक्रम पारित हुने बित्तिकै त्यसैको आधारमा पाठ्यपुस्तक तयार हुनेछ ।’ 

बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यास गत पठन–पाठन हुने जानकारी दिए। ‘कक्षा ४ र ५ मा ७५ अभ्यास गत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ उनले भने, ‘कक्षा ६, ७ र ८ मा भने ५० अभ्यास गत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’ 

काठमाडौं महानगरपालिकाको सातौं नगर सभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयबारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो ।

वज्राचार्यका अनुसार काठमाडौंको रहनसहन र जनजीवन यहीँको स्थानीय भाषामा जीवन्त रहने भएकोले यसको पाठ्यक्रम पनि स्थानीय नेपालभाषामै तयार गरिएको हो । 

‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात गर्न सकुन् भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने निर्णय भएको हो,’ डा. वज्राचार्यले बताए।

पाठ्यक्रम समितिका सदस्य वरुण प्रसाद वैद्यले पाठ्यक्रम नेपालभाषामा तयार गरिएको भए पनि यसको सिकाई अत्यन्त सरल हुने भएकोले यो जुनसुकै शिक्षकले पनि पढाउन सक्ने बताए । यसमा विद्यार्थीहरूलाई अवलोकन र अभ्यासको माध्यमबाट पढाउने विषय धेरै भएकोले पठनपाठनमा कुनै समस्या नआउने उनको भनाइ छ । 

‘यो विषय पढाउन हामी शिक्षकहरूलाई एउटा तालिम पनि दिन्छौं । तालिम पाए पछि जुनसुकै शिक्षकले पनि सजिलै पढाउन सक्नुहुन्छ,’ वैद्यले बताउनुभयो ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले यो विषय भाषा भन्दा पनि काठमाडौंको परिचयमा केन्द्रीत रहेको बताए ।

‘काठमाडौंमा बसोवास गर्ने मानिसहरूलाई काठमाडौंको संस्कृति, सम्पदा, रहनसहन, जनजीवन बारे परिचित गर्ने यसको मूल उद्देश्य हो । यी विषयहरू पढ्दा पढ्दै भाषा सिक्दै जाने भएकोले यसमा कुनै समस्या आउँदैन,’ उनले भने, ‘ पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि शिक्षकले आवश्यकताअनुसार नेपाली र अंग्रेजीमा पनि बुझाउन सक्नुहुन्छ ।’

उनले पाठ्यपुस्तकलाई सहयोग पुर्‍याउने अरु बहुभाषी पाठ्य सामग्रीहरू महानगरपालिकाले प्रकाशन गर्न लागेको जानकारी दिए। 

काठमाडौं महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले, स्थानीय भाषामा पाठ्यक्रम तयार पार्नुलाई ठूलो उपलब्धीका रुपमा चर्चा गरे।

यसको कार्यान्वयनका लागि अब हामी सामुदायिक र संस्थागत विद्यालयहरुलाई छलफल चलाउँछौं । ‘काठमाडौंको संस्कृति र सभ्यतालाई जस्ताको तस्तै बुझाउन यहींकै भाषा प्रयोग गरे सजिलो हुन्छ,’ पाठ्यक्रमको विशेषतामा कुरा गर्दै उनले भने, ‘यसले काठमाडौंमा बस्ने जोकोहीलाई पनि अपनत्व बढाउँछ ।’ 

स्थानीय विषय नेपालभाषामा पढाउने महानगरपालिकाको यो निर्णयप्रति काठमाडौंका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उपत्यकामा सबैभन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालय ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनले काठमाडौंको कला, संस्कृति, सम्पदा, भाषा, लिपि बारे जानकारी दिने यो विषय काठमाडौं बाहिरबाट आएर यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि राम्रो अवसर हुने बताए ।

नोवेल एकेडमीका को–अर्डिनेटर शोभाकर भण्डारी भन्छन्,'विद्यालयमा अहिले पनि काठमाडौंको जात्रा, पर्वहरू बारे पढाइ नै रहेको छौं । यी बिषयलाई स्थानीय भाषामा पढाउनु अझ बढी प्रयोगात्मक हुन्छ । यसप्रति हामी उत्साहित छौं ।’ 


 

salt training

कमेन्ट गर्नुहोस्