०६ असार २०८३, शनिबार
आलेख

नेपालका बैंक तथा वित्तीय संस्थामा कोभिड– १९ को प्रभाव : के हुनुपर्छ भावी रणनीति ?

भदौ ५, २०७७
नेपालका बैंक तथा वित्तीय संस्थामा कोभिड– १९ को प्रभाव : के हुनुपर्छ भावी रणनीति ?
  • सूर्यप्रकाश भट्ट

विगत ८ महिनादेखि विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा नै हलचल पैदा गरिदिएको छ । यस महामारीको नकारात्मक प्रभावबाट विश्व अर्थतन्त्रको कुनैपनि क्षेत्र अछुतो रहन सकेको छैन । यसै सन्दर्भमा यस महामारीले नेपालको अर्थतन्त्रको मुख्य स्तम्भ रहेको वित्तीय क्षेत्र (बैंक तथा वित्तीय संस्थाहरू) मा पारेको असरहरूको बारेमा संक्षिप्तमा यस आलेखमा प्रस्ट पार्ने प्रयास गरिएको छ ।

सरकारद्वारा पुर्णरूपमालगाइएको लकडाउन हालआशिंक रूपमाखुलेपनि बढदै गएको संक्रमणले गर्दा आर्थिक कृयाकलापहरू प्रायः ठप्प जस्तै भएको छ । आर्थिक कारोवार, व्यावसायिक क्रियाकलाप र लेनदेनको संकुचनले बैंकहरूमा कर्जा लगानी गर्ने अवसरमा सीमितता आएको छ । यसका अतिरिक्त बैंकहरूमा भएको निक्षेप वृद्धिका कारण बैंकको कोष सञ्चालन लागतमा अभिवृद्धि भएर मुनाफामा ह्रास आउने र तरलता व्यवस्थापनमा निकट भविष्यमा नै टड्कारो समस्या आउने निश्चित देखिन्छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले, बैंकबाट ऋण लिएर आफ्नो व्यापार, व्यवसाय र पेशा सञ्चालन गरिरहेका विभिन्न क्षेत्रका ऋणीहरूलाई दुई चरणमा ब्याज छुट प्रदान गरेर केही राहत प्रदान गरेको छ । केही बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम भन्दा बढी ब्याज छुट दिएर ऋणीहरूलाई थप राहत दिने सह्रानीयकाम गरेका छन् । अल्पकालका लागि यो राहतले बैंक तथा ऋणी दुवैलाई केही सहयोग गरेको देखिए पनि दीर्घकालमा बैंकको कर्जा गुणस्तरमा नकारात्मक असर पर्ने र बैंकको खराब कर्जाको मात्रा बढ्ने सुनिश्चित प्रायः छ । त्यसको प्रारम्भिक संकेत सबै बैंक तथा वित्तीय संस्थाहरूको आ.व. २०७६/०७७ को चौथो त्रयमासको वित्तीय विवरणमा देखिसकिएको छ ।

नेपालको बैकिङ व्यवसायमा महत्त्वपूर्ण भूमिका खेल्ने एउटा अवयव भनेको विप्रेषण (रेमिट्यान्स) हो । विप्रेषणले निक्षेप परिचालन, कर्जा लगानी, विदेशी मुद्रा व्यवस्थापन तथा कमिसन आम्दानीमा ठूलो टेवा पुर्‍याएको हुन्छ तर हाल व्याप्त यस महामारीले विश्वभरी गरेको रोजगारी कटौतीले गर्दा नेपाल भित्रिने रेमिट्यान्स रकममा स्वतः कटौती भएका कारण बैंकको रेमिटान्ससँग सम्बन्धित व्यवसायमा प्रतिकूल असर पर्ने कुरामा दुईमत हुन सक्दैन ।

बैंकको व्यवसायसँग सम्बधित हरेक कुरामा जोखिम पनि सँगै जोडिएर आएको हुन्छ । यसै सन्र्दभमा बैंक तथा वित्तीय संस्थाहरूले कोभिड– १९ का कारण भएको लकडाउनको फलस्वरूप सम्पूर्ण जनशक्ति परिचालन गर्न नसकिरहेको अवस्थामा विभिन्न सञ्चालन जोखिमको सामना गर्नुपर्ने देखिन्छ भने महामारीबाट बच्न बैंकले स्यानिटाइजेसनसँग सम्बन्धित खर्चहरूमा वृद्धि गर्नुपर्ने भएकाले कार्य सञ्चालन लागत बढेर मुनाफादायकतामा समेत नकारात्मक असर पर्नेछ । कर्जाको भुक्तानी समयमै नहुदाँ सो बापत बैंकले कायम गर्नुपर्ने व्यवस्थाका कारण बैंकको अस्तित्वमाथि नै सकंट पर्नेछ अर्थात् बैंकको कर्जा जोखिममा अनअपेक्षित बढोत्तरी हुनेछ ।

बैंकिङ व्यवसायको अर्को प्रमुख तत्व गैह्र कोषीय कारोबारबाट हुने आम्दानी हो । अहिलेको महामारीका कारण व्यापारिक कृयाकलापहरू जस्तै आयात तथा निर्यातमा आएको मन्दीका कारण एकातिर प्रतित पत्र (एलसी)को कारोबार ठप्प प्रायः छ भने सरकारले गर्ने खर्चको प्रमुख हिस्सा रहने ठेक्कापट्टा तथा निर्माणसँग सम्बन्धित काम समेतमा आएको न्यूनताका कारण बैंक ग्यारेन्टीको कारोवार पनि विस्तार हुन सकेको छैन, जसले प्रत्यक्ष रूपमा बैंकको कमिसन आम्दानीलाई प्रतिकूल ढंगले असर गरिरहेको छ ।

हाल नेपाल सरकारका तर्फबाट प्रायःजसो सबै ‘क’ बर्गका बैंकहरूले राजस्व संकलन तथा स्थानीय सरकारको तर्फबाट सरकारी कारोवार गरिरहेका गरिरहेका छन्, जसले थोरै भएपनि बैंकको तरलता ब्यवस्थापन तथा निक्षेप अभिवृद्घिमा सहयोग पुर्‍याएको छ तर हालको महामारीका कारण सरकारी कारोवारमा आएको शिथिलताले यो कारोवारमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।

बैंकहरूमा थुप्रिएर बसेको निक्षेपका कारण र नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम हाल सबै बैंकहरूले घट्दो आधार दरका कारण निक्षेप तथा कर्जाको ब्याजदर घट्दै गइरहेको छ । यसले ऋणीहरूलाई थोरै भएपनि महामारीको समयमा वित्तीय सहायता पुर्‍याएको छ यद्यपि निक्षेपकर्ताहरूले भने आफ्नो बचत रकमको न्यून प्रतिफल प्राप्त गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बैंकहरूको व्यवसाय विस्तार गर्ने कार्यमा सुस्तता आएपनि बैंकलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक पर्ने स्रोत साधन, संरचनाको व्यवस्थापनका लागि हुने नियमित खर्चमा कटौती हुन नसक्दा र नेपाल सरकारलाई बुझाउनुपर्ने कर तथा शुल्कहरूको भुक्तानीमा कुनै छुटको व्यवस्था नभएकाले, बैंकहरूको मुनाफामा यसको नकारात्मक असर पर्न गएको छ । कोभिड –१९ को समयमा बैंकिङ व्यवसाय आशिंक रूपमा सञ्चालन भइरहेको तर सोसँग सम्बन्धित लागतमा नियन्त्रण हुन नसक्नु बैंकहरूका लागि ठूलो चूनौती हो ।

यसबाहेक बैंकिङ क्षेत्रमा थोरै भएपनि कोभिड –१९ को सकारात्मक प्रभाव परेको मान्न सकिन्छ त्यो के भने कोभिडको यो महामारीको समयमा बैंकिङ कारोवार धेरै हदसम्म डिजिटल प्रविधिउन्मुख भएको छ । सानोसानो कामका लागि बैंकमा भौतिक रूपमा उपस्थित भइराख्नुपर्ने झण्झटबाट मुक्तहुने सम्भावना बढेर गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कोभिड–१९ को महामारीका बीच नयाँ डिजिटल प्रोडक्टहरूको शुरूआत गरेर अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवाको प्रार्दुभाव गरिसकेका छन् । डिजिटल बैंकिङतर्फ उन्मुख हुनु नै अबको बैंक तथा वित्तीय संस्थाहरूको कार्यदिशा हुनुपर्छ भनेर कोभिड– १९ को अहिलेसम्मको असरले सिकाएको छ ।

यस महामारीले कतिसम्म आर्थिक क्षति पुर्‍याउने हो सो को आंकलन अहिले नै यकिन गरी भन्न सकिने अवस्था छैन । महामारी नियन्त्रणका लागि हालसम्म पनि प्रमाणिक रूपमा खोपको आविष्कार भइनसकेकाले कोभिड– १९ ले अर्थतन्त्रका प्रत्येक अवयवलाई थप क्षति पुर्‍याउने आकलन गर्न सकिन्छ । यसो भन्दैमा मानिसको दैनिक जीवनयापनसँग प्रत्यक्ष सरोकार राख्ने, सरकारले निर्धारण गरेको अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ सेवाका लागि नेपाल सरकार तथा नियामक निकायहरूको थप नीतिगत निर्देशन र आर्थिक प्याकेजको घोषणामार्फत मजबुत र स्थिर बनाउनु नै अहिलेको आवश्यकता हो ।

(भट्ट नेपाल बैंक लिमिटेड केन्द्रीय लेखा विभागका विभागीय प्रमुख हुन् ।)

salt training

कमेन्ट गर्नुहोस्