०४ असार २०८३, बिहीबार

कर्णालीका विभिन्न जिल्लामा निषेधाज्ञा

भदौ ५, २०७७
कर्णालीका विभिन्न जिल्लामा निषेधाज्ञा

कर्णाली प्रदेशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको छ । सुर्खेत, मुगु, रुकुम पश्चिम, जुम्ला लगायतका जिल्लामा कोरोना संक्रमण समुदायमा नै फैलिन लागेको भन्दै सम्बन्धित जिल्लाका जिल्ला सुरक्षा समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा नगरपालिका, मुगुको गमगढी र जुम्लाको चन्दननाथ, जुम्लाको पातारासी गाउँपालिकामा निषेधाज्ञा जारी रहेको हो । यस्तै रुकुम–पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिकामा पनि गत साताको

बुधवारदेखि निषेधाज्ञा जारी छ । दैनिकजसो बजारमा हुने भीडभाडले कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । 

निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध फेहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारी जस्ता अत्यावश्यक सेवा तथा व्यवसायहरू सञ्चालन गर्न पाइने छ । 

कार्यालयमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैंक, वित्तीय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन् ।

निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइने छ भने धार्मिक, सामाजिक लगायतका जमघट गर्न नपाइने सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

एम्बुलेन्स, शवबाहन, दमकल, भीआईपीका झण्डासहितका सवारी साधन, सुरक्षा, स्वास्थ्य, कूटनीतिक नियोगका सवारी साधन तथा प्रेस तथा सञ्चारकर्मीका सवारी साधनहरू मात्र निषेधाज्ञा अवधिमा चलाउन पाइनेछ । 

‘पछिल्लो समयमा बजार क्षेत्रमा अस्वाभाविक भीड बढेको र त्यसले कोरोना संक्रमणको जोखिमलाई बढाएका कारण हामीले निषेधाज्ञा जारी गरेका हौं,’ उनले भने, ‘भदौ १ गते जारी भएको निषेधाज्ञालाई जनताले पूर्ण रूपमा पालना गरेका छन् । निषेधाज्ञा सरकारका लागि नभई नागरिकको भलाइका लागि भएकाले सबैबाट पालना हुने अपेक्षा छ ।’

वीरेन्द्रनगरमा जारी भएको निषेधाज्ञा आगामी भदौ ९ गते राति १२ बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्