
पोखराको औद्योगिक क्षेत्रमा कार्यरत २९ जना कामदारमा कोरोना पुष्टि भएको छ ।
‘कन्ट्याक्ट ट्रेसिङ’का क्रममा कामदारमा कोरोना पुष्टि भएको हो ।
कामदारमध्ये अधिकांश औद्योगिक क्षेत्रभित्र रहेका उद्योगका कामदार भएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए ।
औद्योगिक क्षेत्रमा बुथ राखेर स्वाब संकलन गरिएकोमा नमूना परीक्षण गरी हेर्दा तीमध्ये २९ जनामा कोरोना देखिएको उनले बताए । तर औद्योगिक क्षेत्र भित्रका कुन–कुन उद्योगका कामदार रहेको भने खुलाइएको छैन ।
कामदारको उमेर समूह २१–५८ वर्षसम्म छ । पोखराको क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा नमूना परीक्षणमा वडा १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० का व्यक्ति संक्रमित देखिएका हुन् ।
पोखरा–१२ मा ५ महिलासहित ८ जना, वडा १० मा २ महिलासहित ७ जना, वडा ८ मा २ पुरुष, वडा २७ मा २ महिलासहित ३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।
नवलपुरको गैंडाकोटका ३ जना पुरुषमा पनि कोरोना देखापरेको छ । योसहित बिहीवारसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।