०७ असार २०८३, आइतबार

भजनीमा भोकमरीको त्रास, उजाड खेत हेरेर रुन्छन् किसान

भदौ १९, २०७७
भजनीमा भोकमरीको त्रास, उजाड खेत हेरेर रुन्छन् किसान

कैलालीको भजनी नगरपालिका–९ खुरह्रिया टोलका स्थानीय सीताराम चौधरीको गत साउन १४ गतेको बाढीले घर र खेत पूरै डुबानमा पर्‍यो । भत्किन लागेको २ कोठे कच्ची घर थामथुम पारेर परिवारसहित ओट लागेका छन् ।

घरसँगै रहेको १५ कठ्ठा धान खेत फुटबल मैदान जस्तै सफा र उजाड भएको छ । लहलहाउँदो भई बाला पोसाउने बेलामा उनको धान खेत बाढीले पूरै रित्तिएको हो ।

बाढीले पूरै सखाप भएको धान खेती देखाउँदै उनले भने, ‘मेरो त सबथोक यही खेत थियो हजुर । केही बाँकी रहेन । अब के गर्ने ? के खाने ? समझमै आउँदैन ।’

गत वर्षको उत्पादनले हालसम्म उनको परिवारको खानाको जोहो हुँदै आएको छ । अब केही दिनलाई पुग्ने अन्न मात्रै बाँकी छ । उता खेत रित्तिएपछि उनको परिवारमा भोकमरीको त्रास अहिलेदेखि नै शुरू भएको छ ।

‘असारमा साहु महाजनसँग ऋण सापटी गरेर खेती लगायौं । अब त्यही खेती सकिएपछि कुन मुख लिएर साहु महाजन कहाँ जानु ? उनीहरू पनि फसल हेरेर ऋण लगानी गर्ने हुन् । अब त उनीहरूले दिने सम्भावना नै देख्दैन । बाहिर काम गर्न जाउ भनेको त सबैतिर कोरोनाको महामारी छ,’ अँध्यारो मुख पार्दै सीतारामले भने, ‘खेतमा पाइला टेक्ने बित्तिकै चक्कर आउँछ । टाउको दुखेर आउँछ । रुन मन लाग्छ ।’
 
खुरह्रिया टोलका अर्का स्थानीय रामबहादुर चौधरीले बाढीले ज्यान जोगिए पनि खेतमा भएको धान सखाप भएको र घरमा भएको अन्न केही दिनलाई मात्रै पुग्ने बताए । अहिलेदेखि नै खाद्यान्न अभाव शुरू भएको बताउँदै उनले आफूहरूको सुरक्षित बास र गाँसको सबैभन्दा ठूलो समस्या रहेको दुःखेसो सुनाए ।

यो पीडा सीताराम र रामबहादुरको मात्रै होइन, गत साउन १४ गते आएको बाढीले जिल्लाको दक्षिणी क्षेत्रका आमजनताको पीडा बनाएको छ । स्थानीय मोहना, कान्द्रा, पथरैया, काँढा, कर्णालीलगायत नदीमा बाढी आउँदा भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिकालगायत स्थानीय तहका साढे ६ हजार बढी घरपरिवार प्रभावित भएका छन् । ३ जनाले ज्यान समेत गुमाउनुपरेको थियो । हजारौं बाढी पीडितहरू विस्थापित हुन पुगेका थिए । उनीहरू अझै डुबानको त्रासले घर फर्किन सकेका छैनन् । कोही हुलाकी राजमार्ग छेउछाउमा पाल टाँगेर बसेका छन् भने कोही सामुदायिक वनमा हप्तौंदेखि पाल टाँगेर बसिररहेका छन् ।

भजनी नगरपालिका–८ का खेमराज काफ्लेले घरको भौतिक संरचना भुताभुंग भएको र अझै बस्न नसकिने अवस्था भएर उँचो स्थानमा बस्न आएको बताए । जोखिम मोलेर भए पनि पालमुनि बसिरहेको बताउँदै उनले सुरक्षित बासको व्यवस्था सरकारबाट हुनुपर्ने माग गरे ।

भजनी नगरपालिका क्षेत्रमा मात्रै ४ हजार बिघा बढी क्षेत्रफलमा रोपिएको धान बाली पूर्ण रूपमा नष्ट भएको जनाइएको छ । हप्तौंसम्म डुबान कायमै रहँदा धानबालीमा ठूलो क्षति भएको भजनी नगरपालिकाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकार अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने तयारीमा रहेको बताइन् । भजनीका स्थानीय समेत रहेकी मन्त्री चौधरीले अल्पकालीन कार्यक्रम अन्तर्गत राहत, त्रिपाललगायत सामग्री वितरणको कार्य जारी रहेको र दीर्घकालीन कार्यक्रमको रूपमा एकीकृत कृषि प्रणालीको व्यवस्था गर्ने बताइन् ।

‘हामी बर्खामा जानीजानी बर्खे खेती किन गर्ने ? बर्खामा खाली छोडेर अरु सिजनमा खेती प्रणालीको व्यवस्थापनमा छौं । सहुलित दरमा कृषियन्त्र उपकरण, बिउबिजन, सिँचाइको व्यवस्था गरी हिउँदे खेतीसँगै चैते धान, मकै खेती, उखु खेतीमा प्रोत्साहनका कार्यक्रम ल्याउने तयारीमा छौं,’ उनले भनिन् ।

तर वन क्षेत्रमै बासको व्यवस्थापन गर्ने उत्तम विकल्प नरहेको बताउँदै मन्त्री चौधरीले सरकारको जनता आवास कार्यक्रम बाढी प्रभावित क्षेत्रमा विस्तार गर्न सकिने एउटा विकल्प रहेको औंल्याइन् । जसअन्तर्गत डुबानको समयमा गाउँगाउँमा सामूहिक बस्न सकिने उच्च घर अथवा सरकारबाट केही अनुदान प्रदान गरेर बाढी प्रभावित क्षेत्रका जनतालाई उच्च घर निर्माणको लागि प्रोत्साहनका कार्यक्रम ल्याउने तयारीमा रहेको मन्त्री चौधरीले बताइन् ।


 

कमेन्ट गर्नुहोस्