कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
दिनले बिस्तारै गोधुली पार गर्दैछ । छिप्पिँदै गरेको अँध्यारो रातभित्र लुकेको सानो चाँदीको घेराले सजिएको जुनसँगै फिल्मको पर्दा उघ्रिन्छ ।
हावाहुरीले बितन्डा मच्चाएपछिको शान्त वातावरण, लोलाएका नयन, मलिन अनुहार र झुर्तिएको कपाल भएको अन्दाजी ७–८ वर्षको बालक एक्लै कोठामा देखिन्छ । हातमा खरायोको गुडिया समातेर पलङको किनारै–किनारा हिँडाइरहेको हुन्छ ।
खरायोले बच्चा जन्माएपछि आफ्नै बच्चालाई मार्ने प्रयास गर्दछ रे ! बाआमाले आफ्ना सन्तानलाई निमोठ्न खोजिएको कुरालाई गुडियाद्वारा प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको प्रतित हुन्छ ।
गर्लम्म ढोका खुल्छ । हँसिलो मुद्रामा एक जोडीभित्र पस्छन् । भय, आश्चर्य र जिज्ञासा भरिएका बालकका आँखा त्यो जोडीमाथि दगुर्न पुग्छन् । यस्तो लाग्छ उसको मनमा धेरै प्रश्न छन् तर सोध्न असमर्थ छ ।
लक्का पुरुषले अबोध बालकको मौन ईशारा बुझ्यो सायद अनि प्रस्ट्याउन शुरू गर्छ, ‘छोरा आजदेखि तेरो लागि नयाँ आमा ल्याइदिएको छु । के गर्छस् तेरी आमा पोइल गइहाली ।’
बालक आफ्नै धुनमा घोत्लिएर चुपचाप रहन्छ । उसको बुवाले अगाडि बोल्दै जान्छ, ५ वर्ष साउदीको तातो घाममा रहेर कमाइ गर्दा पनि चन्डाल्नी पत्नीले छाडेर गएको कुरा आफूसँगै ल्याएकी नयाँ पत्नीको अनुहारतिर पुलुक्क हेरेर बिलौनाको भावमा पोख्छ ।
‘अबदेखि उ नै तेरो आमा हो ।’ बुवाले नयाँ आमाको परिचय टक्र्याउँछ छोरोलाई । यति सुन्ने बित्तिकै बालक केही नबोली कोठाबाट बाहिर निस्किन्छ ।
र नयाँ जोडीको अन्तरङ्ग शुरू हुन्छ ।
फिल्मको यो भागमा सबैभन्दा बढी वेदना भरिएको पाइन्छ । आमासँगको बिछोडले यता छोराको मन उजाडिएको थियो, उता बाउको घरजम बस्दै थियो । आमा गुमाएर बाहिर छोरो मौन विक्षिप्त थियो र मनमा थामिनसक्नु आँधी, तुफान चल्दै थियो, उताभित्र कोठामा बाउको उल्लास थपिँदै थियो ।
बच्चाको दूरावस्था देखेर भिडियो हेर्नेलाई यहाँनेर आँसु थाम्न मुस्किल हुन्छ । फिल्मको यो भागमा निर्देशकीय कलात्मकता देखिन्छ । एकदमै छोटो पलमा २ वटा त्यो पनि विपरीत भावलाई अत्यन्तै सुक्ष्म र मौलिक ढंगले पस्किइएको छ ।
मनमा आमा गुमाउनुको पीडाका धक्काहरू बोकेको छोराले ढोका ढक्ढकाउँदै भौतिक आवाज दिन्छ तर स्वर्गीय आनन्दको पथमा लम्किएको नवजोडीले बच्चाको आवाजलाई बेवास्ता गर्छन् । बा र नयाँ आमाले गरेको सहनै नसकिने बेवास्ता सायद उसले बुझ्छ ।
अब बचेको थोरै संसार पनि रसातलमा भासिएको महसूस गरेको भान हुन्छ उसलाई । एकपटक भूइँमा हेर्छ र उजाडिन बाँकी केही नरहेको भाव उसका आँखामा पढ्न सकिन्छ । बडेमानको पहाड जत्तिकै पीडा मनमा झल्किन्छन् । ज्वालामुखी जस्तै रापहरू आँखामा प्रस्ट देखिन्छन् । यो पल उसका लागि अझै पीडादायी बनेको देखिन्छ । किनकि अब उसलाई सधैका लागि घर छोड्न बाध्य पारिँदै थियो ।
घरको आँगनलाई नमन गर्दै उसका पाइलाहरू बिस्तारै सडकपट्टी मोडिन्छन् । कहाँ जाने ? के गर्ने ? कसरी बाँच्ने ? के खाने ? यतिबेला यी प्रश्न उसका लागि त्यति ठूला छैनन्, जति ठूलो पीडा उसले आफ्ना अभिभावकबाट पायो ।
अन्ततः अभिभावकको लापरबाही र मनोरञ्जनको बीचमा पिल्सिएर एक बालक घर छोडेर सडकमा आइपुग्छ ।
फिल्मको अर्को पाटोमा पर बाटोमा केही बच्चाहरूले मागेर खाएको देख्छ र सायद उसले सोच्छ अब सडक नै मेरो बाँच्ने आधार हो । उसका पाइलाहरू उतै मोडिन्छन् ।
दयाले भरिएको अनुहार, एक हातमा पाउरोटीको डल्लो, अर्को हातमा ठूलो तस्वीर छापिएको पत्रिका र तल लेखिएको हुन्छ, ‘दुर्घटनामा श्रीमान् बित्दा २४ वर्षमै विधुवा ।’ यो समाचार उसैको आमाको हुन्छ, जसले यो पत्रिका हेरिरहेकी हुन्छे । आफ्नै पिताको मृत्युको खबर एक बालिकाले पत्रिकामा हेरिरहँदा उसभित्र कुण्ठित पीडालाई औंल्याउन सकिन्छ कि उ कति पीडित छ भनेर । बुवा बितेपछि आमाले अर्कैसँग बिहे गर्दा उ सडक बालिका बनेको कुरा फिल्मले सजिलै बुझाइदिएको छ ।
मागेर पेट पाल्नु परेको कारुणिक दृश्यलाई फिल्मले अझ शसक्त रुपमा पस्केको छ । न खाना, न सुत्ने ठेगान खुला आकाशमुनि सडक बालबालिकाले कति दुःख भोग्नुपर्दो हो भन्ने कुरालाई फिल्मले प्रस्तुत गरेको छ ।
त्यो बालकको आँखा पत्रिकामा भएको तस्वीरमा जान्छन् र उ अवाकझै बन्छ । सायद उसले बुझ्यो आफ्नो लागि भित्र्याइएकी ‘नयाँ आमा’ यिनै बालिकाको आमा रहेछन्, जसले उसलाई सडक बालिका बनाउन बाध्य पार्यो ।
तर उ निर्धो छ, आँखा भएर पनि दृष्टिविहीनझै छ, सडकमा आइपुग्दा उससँग मानौं केही छैन । उसको मौनताले स्वीकार गरिसक्यो कि ‘म आजबाट सडक बालक बनिसकें’ ।
एक नवजोडीले महलमा आफ्नो नयाँ जीवन शुरूआत गर्दैगर्दा यता उसैका सन्तानले सडक जीवनको शुरूआत गर्छन् ।
अन्ततः पर क्षितिजमा एक हुल बच्चाको पछिपछि उसका पाइलाहरू पनि अनवरत अगाडि बढ्छन्, सडक बालकको भर्ती केन्द्रतिर । अनि पार्श्वमा मुटु चिरिने गरी बाध्यता सहितको स्वर बोल्छ । ‘घरको छानोभन्दा प्यारो सडक हुँदैन’ ।
करीब साढे ७ मिनेटको यो फिल्म हेर्दा शरीरमा काँडा फुलेर आउँछन् मन शिथिल हुन्छ । यदि हामीमध्ये कोहीसँग यो घट्ना घट्दो हो त ? उभिएर निर्देशक रामजी ज्ञवालीको टीमलाई सलाम दिन मन लाग्यो ।
३ घन्टाका फिल्मले दिन नसकेको भाव, यति छोटो फिल्मले दिमागमा हलचल पारिदिन्छ । करोडौं खर्चिएका ठूला पर्दाका फिल्मले गर्न नसकेको काम यो सानो फिल्मले सफलतापूर्वक गरेको छ । ७ मिनेटमै समाजभित्र जकडिएको कुरूप अनुहारलाई फिल्म ‘डार्क मून’ले झलमल्ल पारिदिएको छ । एकदमै चोटिला र साना संवाद, वास्तविक कथा, मार्मिकता, सन्देश, पार्श्व संगीत, शब्द चयन, दृश्य साँच्चिकै वास्तविक, तथ्यपरक र मौलिक छन् ।
समाजको यथार्थ घटनालाई जग बनाएर निर्माण गरिएको छोटो फिल्म ‘डार्क मून’मा धोका, चाहना, वासना, स्वार्थ, डर, बिचल्ली, दया, करुणा, लोभ, बाध्यता र बाँच्ने आशालाई सिलसिलेवार मालाको रूपमा उनिएको छ । फिल्मको सम्पूर्ण पाटोलाई नियाल्दा ‘डार्क मून’ एक अब्बल दर्जाको छोटो फिल्म हो । जसले ठूला फिल्मलाई बिर्साइदिने हैसियत बोकेको छ ।
आलोचनाका लागि मात्रै आलोचना गर्ने हो भने जुनमा पनि दाग भेटिन्छ । अन्यथा समग्रमा छोटो फिल्म ‘डार्क मून’ समाज रुपान्तरणको खबरदारी गर्ने चौकीदार हो । समाजलाई बोकेर हिँडेका यस प्रकारका फिल्मको कुनै श्रेणी हुँदैन । यी आफैंमा श्रेणीभन्दा उपल्लो दर्जाका लायक रहन्छन् ।
अनाथ भएका बच्चालाई माया दिनुहोस्, स्नेह दिनुहोस् नयाँ आमा र बा दिनुभन्दा पहिले । भविष्यका संवाहकलाई पीडा दिएर जवाफमा राज्यले होनहार युग कसरी जन्माउन सक्छ ? समाज र देशलाई गतिशील र समृद्धिशाली बनाउन पहिले बच्चाहरूको प्रवद्र्धन गर्न आवश्यक रहन्छ भन्ने कुरालाई ‘डार्क मून’ले जोडदार रूपले उठान गरेको छ ।
एक थान जोडीले नयाँ जीवन शुरूआत गर्ने चिल्लो स्वार्थमा परी अबोध बालबालिकाको सपनालाई हत्या गरिनु किमार्थ ठीक रहन्न । यति ठूलो पापको सजाय कसले व्यहोर्छ ? भोलिका दिनमा समाज र सिंगो राष्ट्रले नै यसको मूल्य चुकाउनुपर्छ भन्ने कुरालाई फिल्ममार्फत विश्लेषण गरिएको छ ।
अभिभावकले लिने गलत निर्णयको शिकार बालबालिका कुनै हालतमा हुनु हुँदैन । हाम्रा साना कार्यले बच्चाको मानसपटलमा पर्न सक्ने मनोवैज्ञानिक असरले गलत निर्णय लिन सक्ने र अन्ततः यस प्रकारका हर्कतले समाजलाई खोक्रो बनाउन सक्छ भन्ने कुराप्रति सचेत हुनुपर्ने भनि ‘डार्क मून’ले सुझाएको छ ।
जब एक बच्चामाथि सहानुभूती र सप्रेम दर्शाउन सकिएन भने बच्चाको मानसपटलमा तिरस्कारका गाँठाहरू झन् कसिँदै जान्छन् । अनेक गलत भावनाले डेरा जमाउन सक्छ । एक बालकले सही वातावरण पाए सही युवा बन्छ, तब मात्र समुन्नत समाजको कल्पना गर्न सकिन्छ । बाल मस्तिष्कमा बलजफ्ती खाँदिने गलत व्यवहारले उसको विचारलाई कदापी सग्लो रूप दिन सक्दैन । बाआमा सौतेनी भए पनि व्यवहार बच्चा अनुकूल निर्माण गर्न सक्नुपर्छ भन्ने कुरालाई फिल्ममा उतारिएको छ ।
जब समाजमा अनेक हिंसा र अत्याचार हुन्छन्, तिनले समाजमा बहसको विषय पाउछन् । तर एक बच्चाको जीवन नै सकिन लाग्दा उ सडकमा पुग्दासम्म पनि यस्ता विषयमा कसैको नजर नपुग्नु दुःखद कुरा हो ।
आमाबाको डिभोर्स होस्, चाहे देहान्त । यसको सबैभन्दा बढी मारमा अबोध बालबालिका पर्ने गर्छन् । छोराछोरीको भविष्य अन्धकारमा पारेर कुनै पनि बाआमाले बिहेको स्वनिर्णय लिनु अपराध हो । बच्चाको भविष्य सुनिश्चित गरेर मात्र जीवनका वैवाहिक निर्णय गर्नु भन्ने सल्लाह फिल्मले दिएको छ । आफ्नो जवानीको जोसमा तातो मेटाउन छोराछोरीको जीवन बर्बाद बनाउने कुरूप बाआमाप्रति फिल्मले कसिलो झापड प्रहार गरेको छ ।
आजभोलि समाज रुपान्तरण गर्छु भनेर हिँड्ने मान्छे बिरलै भेटिन्छन् । त्यसमाथि सकारात्मक सन्देश फैलाउन र समाजलाई खबरदारी गर्न क्यामेरा काँधमा राखेर ठूलो टीम लिएर हिँड्नु कम जोखिम होइन । नभए ज्यादातर मान्छे यौन, छाडा, अतिरञ्जित र भड्काउ दृश्यहरू बनाउनमै मस्त देखिन्छन् । दिउँसो भिडियो बनाएर बेलुका ‘भाइरल’ हुने मेकरहरूको बीचमा ‘डार्क मून’ पृथक र उच्च कोटीको छोटो फिल्म बनेको छ ।
समाजका यस्ता गलत प्रवृत्तिलाई उजागर गरी समतामूलक समाज निर्माणमा ‘डार्क मून’को योगदान तारिफयोग्य छ । आगामी दिनमा निर्देशक रामजी ज्ञवालीको टीमले यसलाई पनि ओझेल पार्ने खालका प्रोजेक्टहरू समाजलाई दिन सकून् । हाम्रो तर्फबाट ‘डार्क मून’ टीमलाई लाखलाख शुभकामना !
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...