पुस ३, २०८०
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
पुस २०, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि केन्द्र मात्र होइन प्रदेश, जिल्ला र स्थानीय तहसम्म कित्ताकाट भइरहेको छ ।
केन्द्रबाट गाउँ–गाउँमा पुगेका नेताहरूले कार्यकर्तालाई आफ्नो पक्षमा तान्न रातदिन नभनी पहल गरिरहेका छन् ।
प्रदेश नम्बर २ मा पनि नेकपा विभाजनको पूरै प्रभाव छ । प्रचण्ड–माधवकुमार पक्षले प्रदेशमा आफ्नो पक्षमा दुईतिहाइ बहुमत रहेको दाबी गरेपनि प्रदेश इञ्चार्ज सत्यनारायण मण्डल, प्रदेश अध्यक्ष प्रभु साह, स्थायी कमिटी सदस्य रघुवीर महासेठ लगायत ओली पक्षमा छन् ।
नेकपा विभाजन र त्यसपछिको परिस्थितिबारे लोकान्तरकर्मी अजय अनुरागीले नेकपा स्थायी कमिटी सदस्य एवं केपी शर्मा ओली समूहका नेता महासेठसँग कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद् विघटनको घटनालाई कसरी लिनुभएको छ ?
विभिन्न विचारधारा बोकेर आएका साथीहरूका बीचमा २०७५ साल जेठ ३ गते हामीहरूले पार्टी एकता गरेर नेकपा गठन गरेका थियौं ।
एकता भएको केही दिनसम्म त हामीले सहज रूपमा नै काम गर्न पाएका थियौं तर केही महिनापछि नै हामीलाई के लाग्न थाल्यो भने पार्टी एकता गर्नु गल्ती थियो । एकतापछि सरकारको राम्रो कामको प्रचार गर्ने, कमी कमजोरीका विषयमा पार्टीभित्र कुरा राख्नुपर्ने ठाउँमा शुरूदेखि नै सरकारलाई असहयोग गर्ने, सरकारलाई काम गर्न अवरोध सिर्जना गर्ने काम कुनै प्रतिपक्षी पार्टीबाट नभएर आफ्नै पार्टीका साथीहरूले गर्न थाल्नु भयो ।
जब लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित समेटेर नेपालको संविधान संशोधन गरेर संसद्मा सर्वसम्मत रूपले नयाँ नक्सा जारी गरियो, तब एकपछि अर्को असहयोग हुन थाल्यो ।
विभिन्न आरोपसहित अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव भन्दै अभियोग पत्रसहितको प्रस्ताव दर्ता गर्नुभयो । संसद्को विशेष अधिवेशनका लागि पार्टीभित्रका प्रतिपक्षी साथीहरू ८३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुग्नुभयो ।
प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने काम भयो । त्यस्तो अवस्थामा प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद् विघटन गर्न बाध्य हुनुभयो ।
प्रधानमन्त्रीले असंवैधानिक कदम चाल्नुभयो भनेर नेकपाको अर्को पक्षसहित विभिन्न राजनीतिक दलहरूले विरोध गर्दै सडक आन्दोलन गरिरहेका छन् नि ?
संसारमा नै जहाँ प्रधानमन्त्री कार्यकारी हुन्छ, त्यहाँ संसद् भंग गर्ने अधिकार प्रधानमन्त्रीसँग हुन्छ । हाम्रो संविधानले पनि धारा ७६ अन्तर्गत केही विकल्पको साथ संसद् भंग गर्ने प्रावधान राखेकै छ ।
धारा ८५ (१) मा पनि लेखेको छ, संसद् भंग भएको अवस्थामा बाहेक, त्यसो भनेपछि केही न केही अर्थ त त्यहाँ पनि छ । खैर, जे भए पनि उक्त विषय अदालतमा पुगेको छ ।
अदालतले जे फैसला गर्छ, त्यो नै अन्तिम हुन्छ ।
तपाईं प्रचण्ड–नेपाल पक्षको बैठकमा जानुभयो र फेरि ओली पक्षमा फर्किनुभयो, कतिपयले श्रीमतीलाई मन्त्री बनाउन तपाईंले बार्गेनिङ गरेको भन्ने आरोप पनि लगाएका छन् नि !
पुस ७ गते नेकपाले स्थायी कमिटीको बैठक कार्की ब्याङ्क्वेटमा डाकेको छ भनेर मलाई सूचना आएको थियो । त्यसअनुसार म प्रचण्ड–नेपाल समूहले बोलाएको स्थायी समितिको बैठकमा गएको थिएँ । अहिले पनि पार्टी फुटिसकेको छैन । अहिले पनि ओली र प्रचण्ड नै दुईजना अध्यक्ष हुनु हुन्छ । तेस्रो अध्यक्ष बनेको छैन ।
अन्तिम हालतसम्म पनि पार्टी नफुटोस्, बसेर छलफल गरौं, जुन दिन कानूनअनुसार पार्टी फुटे भने देखिएला भनेर पार्टी मिलाउनका लागि त्यहाँ गएको थिएँ । त्यहाँ प्रधानमन्त्रीजीलाई अध्यक्षबाट हटाउने जे निर्णय गरेको थियो, त्यो पनि स्थायी समितिबाट त्यसलाई रोक्नका लागि गएको थिएँ । स्थायी समितिको बैठकले अध्यक्ष ओलीलाई हटाउने अधिकार नै छैन । त्यो नगर्नुस् भनेर भन्न गएको थिएँ ।
तर, मैले त्यसो नगर्नुस् भनेर भन्दा पनि उहाँहरूले मान्नुभएन । त्यस पछि म उक्त बैठकबाट बाहिरिएँ । वामदेव गौतमजस्तो तटस्थ बस्ने भन्दा पनि ओली अध्यक्ष रहेको पुरानो नेकपामा लागेको हो । बहुमतले दुई पार्टीको एकता गरेको होइन । दुई अध्यक्षको सहमति अनुसार पार्टी सञ्चालन गर्ने कुरा पार्टीको विधानमा छ । निर्णय पो अल्पमत र बहुमतबाट गर्ने भन्ने कुरा छ ।
प्रधानमन्त्रीज्यू सडकदेखि सदनसम्म, टुँडिखेलदेखि विदेशसम्म जहाँजहाँ जानुभयो सबै ठाउँमा मेरै मन्त्रालयको प्रशंसा गर्नुभएको थियो । यति किलोमिटर सडक बनायौं, यति पुल बनायौं, प्रदेश २ मा मात्र १२ सय किलोमिटर सडक बनेको छ, अन्य थुप्रै ठाउँमा रेल मार्गहरू विस्तार भएको छ, प्रधानमन्त्रीसँग चीन भ्रमणमा गएका बेला चीन सरकारसँग सम्झौतामा म आफैंले हस्ताक्षर गरेको छु । यातायातको सिन्डिकेट हटाउन मैले पहल गरेको थिएँ ।
त्यो बेला भौतिक पूर्वाधार मन्त्रालयबाट मन्त्री स्तरीय निर्णय गरेर जुन गलत निर्देशिका जारी भएको थियो, त्यसलाई खारेज गरेको थिएँ । त्यसैले मेरो कामबाट प्रधानमन्त्रीज्यू खुशी नै हुनुहुन्थ्यो । मलाई कारवाही गरेर बर्खास्त गर्नुभएको होइन ।
सल्लाहले नै मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । सरकारको कामबाट चित्त नबुझेको खण्डमा मैले राजीनामा दिनुपथ्र्यो वा प्रधानमन्त्रीलाई मेरो कामबाट चित्त नबुझेको भए उहाँले राजीनामा माग गर्नुहुन्थ्यो । तर, त्यो दुवैमध्ये कुनै कारण नभएकाले मन्त्रीबाट राजीनामा दिने कुरा आएन ।
पुनर्गठन गर्नुभन्दा एकदिन पहिले प्रधानमन्त्रीज्यूले क्याबिनेट बैठकमा नै भोलि मन्त्रिपरिषद्को पुनर्गठन गर्दैछु, को पर्नुहुन्छ, को पर्नुहुन्न भन्ने कुरालाई लिएर तपाईंहरू आ–आफ्नो मन्त्रालय भने नछाड्नुस् भनेर भनेका कारण राजीनामा नदिएको हो ।
अब जहाँसम्म मेरो श्रीमती जुली महतोलाई मन्त्री बनाउनका लागि मैले प्रधानमन्त्रीज्यूसँग बार्गेनिङ गर्नका लागि प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएको भन्ने कुरा छ, त्यो गलत हो । २७५ मध्ये हाम्रो पार्टीबाट जितेर जानुभएका १७४ सांसदमध्ये सबैको इच्छा हुन्छ कि एकचोटी मन्त्री बनूँ ।
जुली महतोको आफ्नै एउटा राजनीतिक क्यारियर छ । २०७० सालको चुनावमा जुली महतोजी धनुषाबाट सामान्य मतले पराजित हुनुभएको थियो । अहिले पनि समानुपातिक सांसद हुनुहुन्थ्यो । त्यसैले उहाँ मन्त्री बन्न आफैं योग्य नेता भएका कारण उहाँलाई प्रधानमन्त्रीज्यूले मन्त्री बनाउनु भएको हो ।
नेकपा अब फुटिसकेकै हो त ?
मलाई अहिले पनि के विश्वास छ भने कम्युनिष्ट पार्टी विभाजनतर्फ अग्रसर भएपनि अन्तिमसम्म पुग्दाको अवस्थामा पार्टी एक हुन्छ, किनभने म आफैं पनि २०५४ सालको इतिहासको भुक्तभोगी हो । त्यो बेला वामदेव कमरेडको नेतृत्वमा पार्टी विभाजन हुँदा म आफैं पनि वामदेव कमरेडसँगै लागेको थिएँ । त्यो बेला टुँडिखेलमा माधव कमरेडको निर्देशनमा प्रदीप कमरेडले देशको नम्बर १ भ्रष्टाचारी भनेर वामदेव कमरेडलाई घोषणा गर्नुभएको थियो ।
तर, त्यही वामदेव कमरेड अहिले सबैलाई चाहिने । प्रचण्डजी, माधवजी होस् वा ओलीजी सबैलाई वामदेव कमरेडको नै सहयोग चाहिने भएको छ । त्यसैले अहिले कार्यकर्ताहरू गालीगलौजमा नलाग्नुस् भनेर भन्छु । अहिले पनि केही भएको छैन, प्रचण्ड र माधव कमरेडले आफूलाई सुधारेएर, कमी–कमजोरी भयो भन्दै आउनुभयो भने पार्टी एक हुन्छ, विभाजनबाट रोकिन्छ ।
प्रदेश २ मा प्रचण्ड–नेपाल पक्षले आफूहरू दुईतिहाइ बहुमतमा रहेको दाबी गरेको छ, तपाईंहरूले कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?
प्रदेश सभामा पनि उहाँहरूको बहुमत छैन । कुल ३२ जना प्रदेश सभा सदस्य रहेकोमा हाम्रो पक्षको नै बहुमत हुन्छ । १६ जनाभन्दा बढी हाम्रो नै हुन्छ र छ भन्नेमा तपाईं ढुक्क हुनुस् ।
रह्यो केन्द्रीय कमिटीदेखि प्रतिनिधि सभासम्ममा पनि कसको बहुमत छ वा छैन भन्ने कुरा निर्वाचन आयोगले पुष्टि गर्ने हो । प्रदेश नम्बर २ मा केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपा नै बलियो छ ।
म, सत्यनारायण मण्डल, प्रभु साह, प्रदेश सचिव सुमन प्याकुरेल, प्रदेश सभा प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मासहितका नेताहरू छौं । र, अझै सम्भावना कहाँ–कहाँ छ भन्ने कुरातर्फ पनि हामीले विचार गरेका छौं ।
धनुषामा पार्टीका जिल्ला र प्रदेश दुवै कार्यालय प्रचण्ड–नेपाल पक्षले दाबी गरेको छ, तपाईंहरूले अन्तै कार्यालय खोल्नुपर्ने अवस्था आएको हो ?
उहाँहरूले के दाबी गर्नुभयो भन्ने कुरा मलाई थाहा छैन । भोलि उहाँहरूले भन्नुहोला पार्टीको भए भरका सबै कार्यकर्ताहरू पनि हाम्रो गोठालो हो, भनेर हुन्छ त ? बहुमत भनेर मात्र हुन्छ त ? बहुमत सावित गर्नुपर्यो नि ! ठीक छ जनकपुरको प्रदेश कार्यालय रहेको मिथिला भवन नेकपाको हो । त्यो कार्यालय हाम्रो कार्यालय हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको प्रदेश कार्यालय हो । उक्त कार्यालयमा म आफैं पनि गएको छु । २१ गते त्यहाँ हामीले भेला गर्दैछौं ।
हामी भिडन्त गर्न चाहदैनौं । केन्द्रमा उहाँहरूको पार्टी कार्यालय सविकको माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालय रहेजस्तै जिल्लामा उहाँहरूको पार्टी कार्यालय भनेको साविकको माओवादीको जिल्ला कार्यालय हो । यदि उहाँहरूले बलमिच्याइँ गर्नुहुन्छ भने दुवै कार्यालयमा हामीले कब्जा जमाएर पार्टी कार्यालय सञ्चालन गर्छौं । दाबी गरेर पाउने भए त उहाँहरूले प्रधानमन्त्री र राष्ट्रपति नै बनाई सक्नुहुन्थ्यो । त्यसैले उहाँहरूको दाबीमा कुनै दम छैन ।
प्रदेशमा ओली पक्षबाट अबको नेता को ? तपाईं आफैं, सत्यनारायण मण्डल कि प्रभु साह ?
प्रभु साह पूर्व माओवादीबाट हाम्रो पार्टीमा आउनुभएको छ । उहाँको पनि आफ्नै हैसियत र योगदान छ । प्रधानमन्त्रीज्यूलाई विश्वास गरेर उहाँ आउनुभएको छ । उहाँ अहिले केन्द्रीय कमिटी सदस्य मात्र हो । यो प्रदेशबाट म र सत्यनारायणजी मात्र हो स्थायी कमिटीमा । त्यसबाहेक सबै केन्द्रीय सदस्य नै हो । अब हाम्रो पार्टीमा एउटा नेता भनेर भन्दैनौँ, मिलेर काम गर्छौं । तै पनि पार्टी त विधि र पद्धतिले चल्ने हो ।
सत्यनारायणजी प्रदेश २ को इञ्चार्ज हुनुहुन्छ । पार्टीको महाधिवेशनसम्म हामी इञ्चार्ज हटाउँदैनौं । र, उहाँलाई हामीले सम्मान पनि गर्नुपर्छ । केन्द्रीय कमिटीमा रहेका प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल हामीसँग हुनुहुन्छ । हामी सबै जनाले मिलेर नै यो प्रदेशमा पार्टी सञ्चालन गर्ने हो ।
प्रदेश सरकार ढाल्ने खेल भए थप कदम चाल्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । के संघीयता धरापमा छ ?
प्रदेश सभामा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भयो भने बहुमतको प्रदेश सरकारले प्रदेश सभा भंग गर्नका लागि सिफारिश गर्न सक्छ भन्ने आशय मात्र हो । संघीयता खारेज गर्छु भन्ने उहाँको आशय होइन । न संघीयता, न लोकतन्त्र, न गणतन्त्र केही पनि धरापमा पर्दैन ।
संघीयता खारेज गर्नुको अर्थ यो संविधानलाई नमान्नु हो । प्रधानमन्त्रीले संविधानलाई नै मानेर आफ्नो विशेषाधिकार प्रयोग गरेर संसद् विघटन गर्नु भएको हो, त्यसैले अन्य आशंका गर्नु निराधार हो । यदि कुनै विदेशी शक्तिले लोकतन्त्र समाप्त गर्ने आफ्नो चाहना लाद्न खोजे भने पनि नेपाली जनताले त्यो मान्दैन ।
कम्युनिस्ट विभाजित भएपछि २ नम्बर प्रदेशमा नेपाली कांग्रेस र जसपाले जित्ने सम्भावना बढ्यो नि ?
केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपाले नै आगामी चुनावमा बहुमत ल्याउँछ । हामीले गरेको कामका आधारमा जनताले हामीलाई बहुमत दिन्छन् । त्यो चुनावको नतिजाले सबै प्रस्ट पार्छ ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...