०९ असार २०८३, मंगलबार
नेकपा विभाजन

सुदूरपश्चिममा माहोल बनाउन ओली आउँदै, प्रचण्ड–नेपाललाई असन्तुष्टहरूको व्यवस्थापनमा चुनौती !

पुस २२, २०७७
सुदूरपश्चिममा माहोल बनाउन ओली आउँदै, प्रचण्ड–नेपाललाई असन्तुष्टहरूको व्यवस्थापनमा चुनौती !

सुदूरपश्चिम प्रदेश नेकपा केपी ओली पक्ष कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ल्याएर माहोल बनाउने तयारीमा ओली पक्ष जुटेको छ ।

पूर्व माओवादी खेमाका प्रभावशाली नेता एवं उद्योग मन्त्री लेखराज भट्ट र नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई आफ्नो पक्षमा भित्र्याए पनि ओली पक्ष रक्षात्मक नै देखिएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो विस्तारमा ओलीले प्रेम आलेलाई समेत मन्त्री बनाएका छन् । वन मन्त्री बनेका आले ओली पक्षकै हुन् ।

३ जना मन्त्री रहेको सुदूरपश्चिम प्रदेशमा ओली पक्षमा माहोल बनाउन मन्त्रीत्रय भट्ट, चौधरी र आले जिल्ला–जिल्लामा पुगिसकेका छन् भने पार्टीका प्रदेश अध्यक्ष कर्ण थापा पनि कम्मर कसेर लागेका छन् ।

यतिले नपुगेर प्रधानमन्त्री ओलीलाई नै धनगढी ल्याउने तयारी भएको हो ।

ओली समूहको अबको रणनीति 

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसद छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद रहेका छन् । 

यस्तै ओलीको पक्षमा हालसम्म ६ जना सांसद मात्र खुलेका छन्, अन्य ३ जनाको कित्ता स्पष्ट भएको छैन । यद्यपि ओली पक्षले भने आफ्नो समूहमा १४ सांसद रहेको दाबी गर्दै आएको छ ।

‘भीम रावलको दबाब र निर्देशनका कारण संसदीय दलको बैठकमा प्रचण्ड माधव समूहको बहुमत देखिएको थियो,’ एक प्रदेश सभा सदस्यले भने, ‘अब त्यस्तो हुँदैन, पूर्व माओवादी पार्टीका प्रभावशाली नेता तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट धनगढी फर्किसक्नुभएको । उहाँको प्रभावले पनि केही प्रदेश सभा सदस्य हाम्रो समूहमा आउनुहुन्छ ।’

उनले थपे, ‘प्रदेशका पार्टी अध्यक्ष कर्ण थापा, संघीय सरकारका अर्का मन्त्री गौरीशंकर चौधरी र प्रधानमन्त्री केपी शर्मा ओली नै सुदूरपश्चिम प्रदेश आएपछि अवश्य नै प्रभाव पर्छ, सके हामी आफँै वर्तमान सरकार ढालेर नेतृत्व लिन्छौं, नभए कांग्रेस र जसपासँग सहकार्य गरेर भए पनि सरकार ढाल्छौं ।’

ओली समूहमा खुलेका प्रदेश सभा सदस्य महेशदत्त जोशीले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार असफल भइसकेको बताए । 

‘सरकार पूर्णरूपमा असफल भइसक्यो,’ उनले भने, ‘यसको विकल्प खोज्न आवश्यक छ । प्रचण्ड–माधव निकट सांसदहरूसँग पनि सरकार परिवर्तनका विषयमा छलफल थालिसकेका छौं । सरकार ढाल्न मोर्चाबन्दी गर्नुपरे पनि त्यो गर्न हामी तयार छौं ।’

स्रोतका अनुसार प्रदेश सरकार ढाल्ने र पार्टी संगठनमा ओली समूहलाई बलियो बनाउने रणनीति उक्त पक्षको छ । यसैलाई पूरा गर्न प्रधानमन्त्री ओली धनगढी आउन लागेका हुन् ।

२४ गते प्रधानमन्त्रीले धनगढीमा आयोजित सभालाई सम्बोधन गर्ने र आफ्नो पक्षमा तान्न सकिने खालका नेताहरूसँग छलफल पनि गर्ने स्रोतको दाबी छ ।

प्रधानमन्त्री फर्किएपछि पनि मन्त्रीहरू र प्रदेश अध्यक्ष केही दिन सुदूरपश्चिममै रहने सम्भावना छ ।

प्रचण्ड–माधव पक्षलाई असन्तुष्टि व्यवस्थापनको चुनौती

ओली खेमाका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहोरालाई बर्खास्त गरेपछि प्रदेश सरकार परिवर्तनको हल्ला निकै चर्कियो ।

त्यसअघि नै सत्तापक्षकै सांसदहरूले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलनको अभियान थालेको खबर बाहिरिएको थियो ।

प्रदेश सरकार परिवर्तनको विषय पेचिलो बन्दै गएपछि नेकपा नेता डा. भीम रावल प्रदेश सरकार जोगाउन धनगढी आए ।

दिनहुँ आन्तरिक छलफलमा जुटेका रावलले अन्ततः शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार परिवर्तनको ‘च्याप्टर क्लोज’ भएको बताएका थिए । तर उनी निकट सांसदहरूले भने सरकार परिवर्तनको विषय नसकिएको बताएका छन् ।

नाम नलेख्ने शर्तमा एक प्रदेश सभा सदस्यले लोकान्तरसँग भने, ‘मुख्यमन्त्रीसँग धेरै सांसद रुष्ट छन् । यतिखेर धेरैले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने इच्छा देखाएका छन् । सांसदहरूको इच्छाअनुसार मन्त्रीमण्डल विस्तार नगरिए सरकार परिवर्तन हुन सक्छ ।’

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले रिक्त मन्त्रालयको जिम्मेवारी कसलाई दिने र मन्त्री मण्डल बढाउने विषयमा छलफल भइनसकेको बताए ।

‘सांसदहरूले मन्त्री बन्ने इच्छा राख्नु स्वाभाविक हो, आवश्यकताका आधारमा मन्त्रिमण्डलको आकार बढ्न सक्छ, तर सरकार परिवर्तन हुँदैन,’ उनले भने ।

धनगढी आइपुगेर के भने उद्योग मन्त्री भट्टले ?

नेकपा ओली समूहका सुदूरपश्चिम संयोजक तथा उद्योग मन्त्री लेखराज भट्टले सार्वजनिक कार्यक्रममा भने तत्कालै प्रदेश सरकार फेरबदलको कसरत नहुने बताएका छन् । सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टले यस्तो बताएका हुन् । 

‘हामीसँग संस्थापन पक्ष छ, यसले कसैलाई बदलिहाल्ने र कसैसँग गठबन्धन गरिहाल्नेबारे सोचेको छैन,’ उनले भने, ‘उहाँहरूले के गर्नुहुन्छ र कस्ता क्रियाकलाप गर्नुहुन्छ, त्यसलाई संघीय सरकार र पार्टी नेतृत्वले गम्भीरतापूर्वक हेरिरहेको छ । छिट्टै स्थायी समितीको बैठक बस्छ । त्यसले कस्तो कदम चाल्ने भन्नेबारे निर्णय गर्छ ।’

उनले मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेर राजनीतिक संस्कारविपरीत काम गरेको आरोप लगाए । मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीप्रति निकै आक्रोश व्यक्त गरेका छन् ।

पार्टी विभाजन पूर्व लेखराजका विशेष पात्र मानिने मुख्यमन्त्री भट्ट पार्टी विभाजनपछि प्रचण्ड–माधव समूहमा देखिएपछि मन्त्री भट्टले भने, ‘उहाँको भूमिका आन्दोलनमा महत्त्वपूर्ण छ, त्यो आधारमा मुख्यमन्त्री बनाएका हौं । तर उहाँलाई राजनीतिक आचरण सिकाउन सकिएन । राजनीतिक आचरण र संस्कार नभएकाले उहाँ अर्काे समूहमा लाग्नु भएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्