१० असार २०८३, बुधबार

थारू समुदायमा माघीको चहलपहल शुरू

पुस २९, २०७७
थारू समुदायमा माघीको चहलपहल शुरू
फाइल फोटो

थारू समुदायको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरू भएको छ ।

थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ ।

माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला संकराइत नामले मनाउँदै आएको पाइन्छ ।

केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरू कमलरी थिए । उनीहरू माघका दिन मात्रै छुट्टी पाउँथे, त्यसैले यसलाई मुक्ति दिवसका रूपमा पनि मनाइन्छ ।

माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम शुरू भएको घोराही–७ वेसाहीका अनुपमा चौधरी बताउँछन् । ‘ढिक्री, रोटी, माछा र घोङीको परिकार बनाउँदैछौं, माघीको सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भने ।

यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन तर खानाको परिकार बनाउन भ्याइँ–नभ्याइँ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको संख्या बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ ।

वेसाही गाउँ थारू समुदायको बाक्लो वस्ती भएको ठाउँ हो, घरको काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनी जुटेका छन् ।

थारू समुदायले माघमै आफ्नो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको थारू अगुवा पूर्ण चौधरी बताउँछन् । ‘वर्षभरिका लागि योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्त्वपूर्ण छ, माघमा प्रत्येक वर्ष नाचगान हुने घोराही–१७ कर्जाही गाउँमा यो वर्ष नाचगानको तयारी भने छैन,’ उनी भन्छन्, ‘पुसको २५ देखि माघको ५ गतेसम्म मघौटा नाच हुने गर्दथ्यो ।’

सधैं काममा व्यस्त रहने थारू समुदाय माघको समयमा फुुसर्दिला हुने र खानपिन गरेर आफ्ना साथीसंगीसँग रमाइलो गर्ने गर्दछन् । अन्नपात भित्र्याएर भकारीभरि धान राखेर आनन्दसँग माघ मनाउने गरेको चौधरी बताउँछन् । 

थारू कल्याणकारी सभा दाङका सभापति भुवन चौधरीले थारूहरूको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व (माघ) भएको बताए । विषेश पर्व भएका कारण यसको थारू समुदायमा धेरै महत्त्व छ । यस वर्ष कोरोनाका कारण भेला, नाचगान, सभा गर्ने कार्यक्रम नभएको उनले बताए । ‘अघिल्ला वर्षमा नाचको प्रतियोगिता हुने विभिन्न जिल्लाबाट थारू समुदायका मानिसलाई भेला गराउने गथ्र्याैं यसपालि ठूलो कार्यक्रम छैन,’ उनले भने । परम्परा जोगाउन गाउँघरमा भेला हुने, संस्कार र संस्कृतिबारे छलफल गर्ने कार्यक्रम रहेको सभापति चौधरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्