१० असार २०८३, बुधबार

किन निरन्तर बढिरहेको छ इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य ? यसो भन्छन् विश्लेषक

फागुन ६, २०७७
किन निरन्तर बढिरहेको छ इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य ? यसो भन्छन् विश्लेषक

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को शेयर दोस्रो बजारमा कारोवार शुरू भएयता साताभरि नै सकारात्मक सर्किट लाग्यो ।

हालै आईपीओ जारी गरेको निफ्राको शेयर आइतवारदेखि दोस्रो बजारमा कारोवार शुरू भएको थियो । 

आइतवार ३४० रूपैयाँमा शुरू भएको कारोवार बजार खुल्ने साताको अन्तिम दिन बिहीवार आइपुग्दा ५ सय ४६ मा पुगेको छ ।

यसबीचमा पाँचै दिन निफ्राको शेयर कारोवारमा सकारात्मक सर्किट लागेको हो । एउटा कम्पनीको शेयर एकै दिन १० प्रतिशतभन्दा बढी बढ्न वा घट्न पाउँदैन । १० प्रतिशत पुगेपछि सर्किट लाग्ने गर्छ ।

सर्वसाधारणको ८ अर्बसहित कुल २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकको बजार पूँजीकरण १ खर्ब ९ अर्ब पुगेको छ । 

साताभर नै सर्किट लेभलमा पुगेपछि बैंकको शेयरबारे सर्वत्र चासो छ, आखिर किन बढिरहेको छ मूल्य ? लगानीकर्ताहरूमा केही शंका पनि उब्जिन थालेको छ, कतै चलखेल भएको त हैन ? 

शेयर बजार विश्लेषकहरू भने अहिले निफ्राको शेयर मूल्य बढ्नुलाई चलखेल नै हो भन्न नमिल्ने बताउँछन् । शंका स्वाभाविक भएपनि त्यस्ता संकेत नदेखिएको बजार विश्लेषकहरूको भनाइ छ ।

बजार विश्लेषकहरूका अनुसार बजारमा अहिले बैंकको शेयर बिक्रीका लागि राख्नेबित्तिकै किनिहाल्ने अवस्था छ, अर्थात् खरिदकर्ताको माग उच्च छ ।

यो नै शेयरमूल्य बढ्नुको मुख्य कारण हो । 

साताभर नै इन्फ्रास्टक्चर बैंकको शेयरले किन कब्जा जमायो ? 

शेयर बजारका प्राविधिक विश्लेषक सन्दिल श्रेष्ठले अहिले बुलिश मार्केट भएकाले नयाँ कम्पनीमा सप्लाइ आउँदैन भनेर शेयर किन्ने बढेको बताउँछन् ।

उनले अहिले इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य बढाउनका लागि मूख्य कारण नै यही भएको बताए । 

श्रेष्ठले भने, ‘सानो सानो शेयर भएपछि ठूलो–ठूलो मात्रामा त शेयर आउँदैन, त्यसकारण कम्पनीको मूल्य बढ्छ भनेर बढेको हो ।’

उनले बैंकको शेयर मूल्य बढ्नुमा लगानीकर्ता पनि कारक भएको बताए । ‘नयाँ कम्पनी आइसकेपछि केही पनि नबुझिकन किनिदिन्छन्,’ उनले भने ।

श्रेष्ठका अनुसार स–साना शेयर भविष्यका लागि भनेर राखिँदा पनि इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य बढ्न पुगेको हो । 

‘१०–१० कित्ता वा ५० कित्ता त बजारमा आउँदै आउँदैन, सानो सानो कित्ता के बेच्नु, भोलिपर्सि हेरौं भन्ने हुन्छ, यसले पनि मूल्य बढ्छ ।’

उनले नयाँ कम्पनीमा बेच्ने भन्दा किन्नेको जमात बढी भएपछि शेयर मूल्य बढेको तर्क गरे ।

यस्तै, पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले शेयर बजारमा लगानीकर्ताहरू थपिँदै जाँदा इन्फ्रास्टक्चर बैंकको शेयर किन्नेहरूको ताँती लागेको बताइन् ।

अहिले किन्नेहरूको चाप रहेकाले बढेको भन्दै उनले केही     दिनमा घट्न पनि सक्ने अनुमान गरिन् । ‘सधैँ बढिरहने भन्ने कुरा त नहोला, केही दिनमा घट्न सक्ने देखिन्छ ।’

नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले अहिले आईपीओ खुलेपछि शुरूमा जुनसुकै कम्पनीको शेयर मूल्य पनि सर्किट लेभलमा पुग्ने गरेको बताए ।

उनले भने, ‘अहिले त यो ट्रेन्ड नै भइसकेको छ ।’

रौनियारले अहिले बजारमा कुनै शंका गर्नु नपर्ने बताए । उनले भने, ‘बैंकले आफ्नो काम गरिरहेकै छ, राम्रै समूहले सञ्चालन गरेको बैंक हो । शंका गर्नु पर्दैन ।’ 

कहिले बेच्दा उपयुक्त हुन्छ ?  

शेयर बजार विश्लेषक सन्दिल श्रेष्ठ बजारलाई बुझेर मात्रै कम्पनीको शेयर किनबेच गर्न सुझाव दिन्छन् । 

उनले भने, ‘लगानीकर्ताले कतिसम्म जोखिम मोल्ने भन्ने कुरा मुख्य हो, हैन आजकै मूल्यमा चित्त बुझाउँछु भन्ने हो भने बेचे भयो ।’

salt training

कमेन्ट गर्नुहोस्