१२ असार २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा महाशिवरात्रिको संकल्प, पशुपतिनाथ मन्दिरमा साधुसन्तको चहलपहल

फागुन २६, २०७७
राष्ट्रपतिद्वारा महाशिवरात्रिको संकल्प, पशुपतिनाथ मन्दिरमा साधुसन्तको चहलपहल

फागुन कृष्ण एकादशीका दिन मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री संकल्प गरेकी छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री राष्ट्राध्यक्षले संकल्प गर्ने प्राचीनकालदेखिको विधि छ । संकल्पपछि नै देशभरका शिवालयमा महाशिवरात्रिको चहलपहल शुरू हुन्छ ।

राष्ट्रपतिले महाशिवरात्रिको संकल्प गरेसँगै मंगलवार साँझदेखि नै पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तलाई भोजनसहित धुनीको व्यवस्था गरिएको छ । पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भने बुधवार बिहानदेखि भोजन र साँझदेखि धुनीको व्यवस्था गरिने गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

थापाथली क्षेत्रका बैरागी, सन्न्यासी, उदासी र नाथ सम्प्रदायका अखडामा पनि बुधवार बिहानदेखि नै साधुसन्तलाई भोजनसहित बस्ने एवं बेलुकी धुनी जगाउने व्यवस्था गरिने छ । मंगलवार राष्ट्रपति भण्डारीले गुठी गोश्वारा कार्यालयबाट खर्पनमा लगिएको नरिवलको जटा, पीताम्बर, फूल, प्रसाद, अक्षता, धूपदीप, कपूरलगायत सामग्रीको संकल्प गरेकी थिइन् ।

साधुसन्तलाई संस्थानका तर्फबाट प्रदान गरिने शंख, घण्ट, चमर, राडपाखी, त्रिशूल, कमण्डलु र पहेंलो वस्त्र समेत संकल्प गरेको कार्यालय प्रमुख आचार्यले बताए । संकल्पपछि गुठी गोश्वारा कार्यालय र पशुपतिनाथ अमालकोट कचहरीका कर्मचारीलाई राष्ट्रपति भण्डारीले टीका एवं प्रसाद लगाइदिएकी थिएन् ।

कोरोना महामारीको जोखिम कायमै भए पनि पशुपति क्षेत्र र थापाथलीमा विगत वर्षमा जत्तिकै साधुसन्त महाशिवरात्रि मनाउन आएको कार्यालयले जनाएको छ । विशिष्ट साधुसन्त भने कम देखिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्