
प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई पूर्खाद्वारा आर्जित ज्ञान, सीप र स्रोत नयाँ उचाइमा लैजाने गरी काम गर्न अभिप्रेरित गरेका छन् ।
बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्याहरू र आफ्ना सुझावहरू दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा र आइपुगेका बालबालिकालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालबालिकालाई पूर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताए । ‘तपाईंहरूले सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमान्दार रहन सम्झाउँदै पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमान्दार ढंगले सहभागी हुन सुझाव दिए । उनले नेपालका बालबालिकाहरू ज्ञानमा निपूर्ण तथा आविष्कारक पूर्वजको सन्तती भएको उल्लेख गर्दै मेहनत गरेमा जुनुसुकै काम गर्न पनि बालबालिकाहरू सक्षम हुने पनि बताए ।
पूर्वजहरूले ज्ञान विज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको पनि उनले बताए । ‘त्यस्ता ज्ञानी पूर्खाको सन्तान हामीले मेहनत गरेर प्रगति गर्नुपर्छ,’ प्रधानमन्त्रीले बालबालिकालाई भने ।
बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको समूह कन्र्सोटियम नेपालद्वारा आयोजित कार्यक्रममा बालबालिकाले परिवार र समाजमा बालमैत्री वातावरण बन्नुपर्ने, विद्यालय व्यवस्थापन समितिसहित स्थानीय तहका बालबालिकासम्बन्धी संरचनामा बाल क्लबका बालबालिकाको अनिवार्य र अर्थपूर्ण प्रतिनिधित्व गराउनुपर्ने र बालमैत्री स्थानीय शासनलाई सबै स्थानीय सरकारले लागू गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन् ।
स्थानीय निकायहरू बालमैत्री घोषणा हुनु सुझाव बालबालिकाको छ । यसका लागि बालमैत्री स्थानीय शासन सम्बन्धी परिमार्जित राष्ट्रिय रणनीति मन्त्रिपरिषद्बाट पारित हुनुपर्ने माग पनि बालबालिकाले गरेका छन् ।
स्थानीय तहले बाल सहभागिता प्रवद्र्धन, बालबालिकाको समान विकासका लागि समावेशी सहभागिता सुनिश्चित गर्न बजेट छुट्याउनुपर्ने सुझाव पनि बालबालिकाले प्रधानमन्त्रीलाई दिए । विद्यालयमा कम बोल्ने बालबालिकाको सहभागितालाई प्राथमिकता दिनुपर्ने र स्थानीय तहमा बाल भेला नियमित र प्रभावकारी रूपमा कार्यान्वनय गराउनुपर्ने माग पनि बालबालिकाको छ ।
सबै बालबालिकालाई सन्तुलित र पौष्टिक आहारको सुनिश्चिता हुनुपर्ने, परिवार र विद्यालयमा जंकफूडको प्रयोगलाई पूर्णनिषेध गर्नुपर्ने सुझाव समेत बालबालिकाले दिएका छन् ।

